साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाक र नेतृत्व

कसको नाकमा कस्तो गहना वा शृङ्गार छ भनेको उसको असली व्यवहार हो र प्रवृत्तिगत झुकाव हो । कुर्सीतिर सोझिने नाक र नोटका बिटातिर सोझिने वा रङ फेर्ने भन्ने कुरा नेतृत्वको नाकको सुँघ्ने शक्तिमा भर पर्छ ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

हामी सबैसँग नाक हुने भएकाले यसको थप परिचय दिइरहनु नपर्ला । हरेक मान्छेसँग हुने र अरू मानिसको अनुहारमा बाहिरै देखिने अङ्ग भएकाले यसको परिचय गराउन आवश्यक परोइन । फलानो कस्तो छ भनेर सोध्यो भने यस्तो नाक भएको भनेर नाकबाटै परिचय दिन सुरु गरिन्छ । यस्तो परिचित नाकको प्रवृत्ति र व्यहोरा देख्दा त आजकल मलाई हाम्रो नाक र हाम्रो नेतृत्व उस्तै उस्तै लाग्छन् । “न” अक्षरबाट बनेका शब्दमात्र नभई यी शब्दका प्रवृत्तिगत समानता देखिएकाले तिनै पाटाहरू खोस्रिने जमर्को गरिएको छ ।

मानव शरीरका पाँच ज्ञानेन्द्रियहरू मध्ये गन्ध सुँघ्ने इन्द्रियका रूपमा परिचित नाक अनुहारको मध्य भागमा अड्डा जमाएर बसेको हुन्छ । माथिबाट तलतिर फुक्दै र उचाइ बढाउँदै दुई प्वालमा बिभाजित भएर सबैतिर देखिने गरी म यहाँ छु भनेर नाकले आफ्नो परिचय दिइरहेको हुन्छ । बनावटका हिसाबले त्रिभुजाकार र अवस्थितिका आधारमा नाक अनुहारको पहरामा लिपिस्सै टाँसिएको हुन्छ ।

हाम्रो नेतृत्व पनि कहाँ के खिचडी पाकेको छ भनेर सुँघ्दै बसेका हुन्छन् । कतै दातृ निकायले दुईचार हड्डी फाल्छन् कि भनेर धाउनु यिनीहरूको दैनिकी हो । घुस खानका लागि ठेक्कापट्टा हुने ठाउँमा गन्ध सुँघ्दै हिड्नु हाम्रा नेताहरूको घ्राण शक्ति निकै शक्तिशाली छ भन्ने प्रमाण हो । राजदूताबास लगायतका निकायमा छात्रवृत्तिमा आफ्ना छोराछोरी पढाउन पाइन्छ कि भनेर सुँघ्नु नेताहरूको असली धर्म हो । बेच्ने र कमिसन खान मिल्ने कुराको गन्घ नेतृत्वलाई टाढैबाट सुगन्ध बनेर आउँछ रे ।

हाम्रो नाकले म नै सबैभन्दा अग्लो र राम्रो छु भनेर मख्ख परेझैँ हाम्रो नेतृत्व पनि केन्द्रमा सुविधा भोग गरेर मख्ख परेर बस्छन् । हाम्रो नाक अनुहारको हड्डीमा टाँसिनु र हाम्रा नेतृत्व पङ्ति पदमा टाँसिनु उस्तै उस्तै होइन र ? कामका समयमा चोटपटक लाग्नबाट अनुहार जोगाउनु अनिवार्य हो तर मेरा मित्र अँध्यारोमा हिँड्दा “नाक जोगाएर है” भन्नुहुन्थ्यो । सायद यही भएर हो कि हाम्रो नेतृत्वले पनि आन्दोलन हुँदा हेलिकप्टर चढेर नाक जोगाएर भाग्छन् ।

अझ नाकको बनावट र प्रवृत्ति पनि नेतासँग मिल्दोजुल्दो देखिन्छ । बाहिरी बनावट अनुसार एउटा देखिने नाकमा प्वाल भने दुईवटा हुनु नेताहरूको दोधारे चरित्रसँग मेल खानु हो । बाहिर एउटा देखिने नेतृत्वभित्र अर्को पनि प्वाल र आयाम हुँदोरहेछ भन्ने कुरा नाक हेरेर नेता र नेता हेरर नाकमा भएको समरूपताको पुष्टि हुन्छ । देखिने नेतृत्व एक र कमाउने प्रवृत्ति अनेक ।

होइन नाकले अनुहारको बिचमा किन हुनुपरेको होला ? यसो कानझैँ छेउछाउमा हुनु नि । दुईवटा नाक किन नभएको होला ? प्रश्न गम्भीर छ । उत्तर पनि यहीँ नै छ – प्रकृतिले धेरै कुरा सोच विचार गरेर मानव शरीरको निर्माण गरेको हुनुपर्छ । पातलो कुर्कुरे हड्डीले बनेको नाक छेड्न र सिँगान आएपिच्छे पुछ्न सकिने ठाउँमा बनाइएको छ । यो लचकदार छ र पातलो पत्रले बनेको छ सतही नेताको चरित्र जस्तै । यिनै गुण भएको नाकबाट सिकेर होला नेतृत्व पनि केन्द्रमा नै बसेको हुन्छ । जिभ्राले स्वाद लिने, बोल्न मद्दत गर्ने र खाना चपाउने काम गरेको हुन्छ तर नाकले सुँघ्ने एउटामात्र मुख्य काम गर्छ तर यसको अपवाद होला नेताहरूले जिभ्रोले जस्तो बहुमुखी काम गरिरहेका छन् ।

मानव शरीरमा दुईवटा नाक भएको भए पनि नेतृत्वलाई समस्या पर्ने रहेछ । त्यही सिकेर होला धेरैजसो नेतृत्व नाक जस्तै एकल हुन्छ । दुईवटा नाक भनिने नयाँ प्रयोग गर्न खोजिएको त्यो घटनामा एउटा जहाजमा दुईवटा चालक राख्न खोजियो तर नाकको मूल प्रवृत्ति र सिद्धान्त विपरीत भएकाले उडान असफल भएर हाम्रो नेतृत्वको जहाज गन्तव्यमा नपुग्दै अवतरण गरेको थियो । ए नेतृत्व वर्ग हो नाकमा हेरेर पनि केही त सिक न हो ।

बहुल जातीय हाम्रो समाजमा जनताका रूप कद र काँठी भिन्नभिन्न भएझैं उनीहरूका नाक पनि भिन्नभिन्न आकार र बनावटका छन् । बाहुन क्षेत्रीलगायत केही जात जातिका मान्छेका लामा र चुच्चे नाक देखिन्छन् भने अन्य केही जातिका मानिसहरूका नाक अलि थेप्चा वा फरक प्रकृतिका छन् । अहिले हाम्रा नेताहरू पनि हामी जनताका नाकजस्तै भिन्नभिन्न देखिएका छन् । कुनै चुच्चे नेता, कुनै थेप्चे नेता र कुनै विना नाकका नेता । कुनै नेताले गहनाका नाममा नथ्थी/ बुलाँकी लगाएका छन् भने कसैले झकाझक झम्के फुली । कसैका नथिया देखिन्छन् भने कसैका टुकी फुली । कुनै नेताहरू अझै नाक नछेडेका र कसैकसैले त दुवैतर्फ नाक छेडेका र गहनाले झकिझकाउ भएका भेटिन्छन् । कुनै नाकले सुनका गहना पाएका छन् र कुनै भर्खर छेँडेर काठ घुसारिएका छन् । कुनै नेता नाक नछेड्ने वर्गका पनि छन् ।

कसको नाकमा कस्तो गहना वा शृङ्गार छ भनेको उसको असली व्यवहार हो र प्रवृत्तिगत झुकाव हो । कुर्सीतिर सोझिने नाक र नोटका बिटातिर सोझिने वा रङ फेर्ने भन्ने कुरा नेतृत्वको नाकको सुँघ्ने शक्तिमा भर पर्छ । स्वाभिमानी देशभक्त हुने कि अरूले फालेको जुठो पुरोमा रमाएर देशलाई लात्ती हान्ने भन्ने कुरा नेतृत्वको नाकले पहिले नै तय गरेको हुन्छ तर त्यतिबेला पछुताउनका लागि समय बाँकी रहन्न ।

हिउँद लागेपछि सधैँ नाकको टुप्पो चिसो भएझैँ नेतृत्वले नाक सेक्न नपाएमा षड्यन्त्र भयो भन्न र मुर्दावाद भन्न थाल्छन् । नाक सेक्न त के हुन्थ्यो हात सेक्न अर्थात् लामो हात गर्न पाउनु उनीहरू आफ्नो नैसर्गिक अधिकार ठान्छन् । नाक जोत्न नमिल्ने भएमा पार्टी फोड्न र फेर्न सक्नेहरू नाके नेता न हुन् । अहिले कुनै नेता रुघाग्रस्त नाकबाट सिँगानको लर्को छोडिरहेका छन् भने कुनै नेता नाके गोजेर कोट्याएर जनतामाथि फाल्दै छन् । प्रदर्शन हुन लागेको र हाम्रो भौतिक संरचना जलाउन लागेको गन्ध थाहा नपाउने सुरक्षा निकाय हो तिम्रो नाक छ कि काटियो ? नाबालकमाथि गोली ठोक्नेहरू हो तिम्रो नाक खोइ ? आगोले हाम्रो वैभव जलाउने भिड नदेख्ने संकुचित नाकहरू हो के नाकले बोल्छौ र के नाकले भोट माग्छौ हँ ? ए नेताहरू ! तिमीले तिम्रो नाक मात्र जोगाएर के के न गरेँ भन्नु तिमीहरूको नाक काटिएको हो । तिमीहरू शुर्पणखा बनाइएका हौ । हेक्का राख अतिवादले हाम्रो नाक काटिन सक्छ र हाम्रो अस्तित्व मेटिन सक्छ। बेलैमा होस पुर्‍याउन नसके पछि, नाक काटिए पछि जोड्न खोज्नु र पछुताउनुको के अर्थ ?

तसर्थ बेलैमा आफ्नो र देशको नाक जोगाएर विकसित नेपालका सभ्य र सुसंस्कृत नेपाली बनौँ । जय नाक ! जय नेतृत्व !!
~अस्तु ~

०००
समी चोक, भरतपुर ५, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
पाइँनेछ मिठो फल

पाइँनेछ मिठो फल

घनश्याम रेग्मी
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

घनश्याम रेग्मी
भोट खसाल्ने कहिले ?

भोट खसाल्ने कहिले ?

घनश्याम रेग्मी
कारण

कारण

रामकृष्ण ढकाल
पुरेत र जजमान

पुरेत र जजमान

प्रा. कपिल अज्ञात
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x