घनश्याम रेग्मीखुसीनगर !
गोजीबाट तिर्नुपर्ने होइन । कमाउनेले कसरी कमाउँछ कसलाई के खाँचो जति भन्यो उति दाम पाइन्छ । अझ उसमाथि पाँच सय हजार त टिप्स नै पाइन्छ ।

घनश्याम रेग्मी :
गजबको सहर । जस्तो सहर उस्तै मानिसहरूको रहर । जस्तो नाम उस्तै काम । सहरका बासिन्दाहरू सबै मस्त , सबै व्यस्त । सबै हाँसीखुसी यही यसको खुबी । मिश्रित जातजातिका बस्ती फूलले सजिएको किस्ती । उत्तरतिर गजधम्मको चित्रे पहाड र दक्षिणतिर लमतन्न उर्वर खण्डनपुरको बिचमा अवस्थित तर अव्यवस्थित एक अर्वाचीन सहर । यो सहरको पुरानो नाम पनि हुँदो हो तर पुरानो नामको कसलाई चासो ? कसलाई चिन्ता ? जसरी तसरी मानिस बसेकै छन् र खुसी देखिने प्रयासमा मुस्कुराउने कोसिस गरिरहेका छन्।
खुसीनगरमा मान्छेहरू बिहान आफ्नो घरमा ताजा खाना खान्थे र दिनभर सहर बजारमा काम गरेर साँझ आफ्नै घरमा खाना खान फर्किन्थे । बिस्तारै मानिसहरू एकल परिवार हुन र सहरतर्फ तानिन थाले । पश्चिमाहरूको देखासिकी र फेसन भित्रिँदै गयो । मानिसहरू सहरतिर हानिँदै गए र पसलको चिया खाजातर्फ तानिँदै गए । अनि त सहरमा जगमानको खाजा घर नामको पसल खुल्यो । दैनिक उपभोगका अरू सामान पनि बेच्न राखेका थिए जगमानले । घरबाहिर खानपिनमा नखुलेको समाज बिस्तारै चियाबाट खुल्न सुरु भयो । कुर्सीमा बसेर पारदर्शी काँचको गिलासमा दूध चिया खानु बडप्पन मान्न थालियो । घरको ताजा, स्वस्थ्यकर खाजा खाने बानी छुटाएर सहर बजारको नास्ता-पानी खाने बानीमा रम्दै गयो ।
बिहान चिया र दिउसो आलु चिउराको अर्गानिक नास्ता जगमानको नास्ता पसलको विशेषता । सहरको मध्य भागमा खुलेको जगमानको नास्ता पसल आँखाको तारा र भव्यताको सितारा । साथीभाइ भेट्ने र गफ गर्ने केन्द्रबिन्दु, पानीले बगेर भेट्ने गन्तव्यको सिन्धु । धेरै थरी परिकार नपाइए पनि आलु चिउराको साथमा साँधेको गुन्द्रुकको अचार र सिलौटामा पिसेको गोलभेँडाको चटनी । पुराना दुईवटा काठका मेच र चारवटा कुर्सी जगमान खाजा पसलको बाहिरी आकर्षण । पछाडि पट्टि दाउराको चुलो बालिने साँझ नपर्दै बत्ती बाल्नुपर्ने ससानो भान्सा ।
बुढा जगमान धेरैजसो आफैँ गद्दीमा बस्थे । नगदमा खानेको केही समस्या भएन । उधारो खानेले पहिले खातामा लेखाएर खाजा खानुपर्थ्यो । उनले आफ्नो पसलमा आफ्नै घरका छोरा , भाइ र भतिजालाई काममा राखेका थिए । ब्यापार सामान्य थियो । महिना मर्ने बित्तिकै खाता चुकाउनु पर्ने नत्र त जगमान बुढा बम्किन्थे । कति त उनको गर्जनले चम्किन्थे । बिस्तारै सहर बढ्दै गयो । पढ्ने पढाउने र जागिर गर्नेहरू बढ्दै गए । घरदेखि टाढा बस्ने र घरमा खाजा बनाउन समय नमिल्ने हुन थाल्यो । किनेर भए पनि खानै पर्यो -पापी पेटका सवाल खाजा पसलको कमाल ।
जगमानको नास्ता पसल चलेकै थियो । केही मानिसहरूलाई बिहानको खाना खान ठाउँको अभाव हुँदै गयो । कसैलाई दिउसोको तलतल मेट्ने थप नास्ता गर्न ठाउँ अलि साँघुरो लाग्न थाल्यो । पश्चिमी शैलीको जीवन बाँच्ने क्रम क्रमशः भित्रियो ।सिनेमाले रङ्गिन साँझमा सितनसँग केही चास्सचुस्स लिने चलन बढायो । घर बाहिर खाना खाने र डेराको कोठामा गएर सुत्नु उत्तम सभ्यता हो भन्ने मान्छेलाई लाग्न थाल्यो । जगमानको नास्ता पसलमा नयाँ नास्ता पनि नपाइने र ठाउँ पनि नपाइएको कारण अर्को नास्ता पसल चाहिएको गाँइगुँइ चल्न थाल्यो । उधारो खानेहरूले खातामा लेखाए र साहुजीलाई सेकाए । खाता ढाडिएर फसे, ग्राहक टाढिएर बसे । उधारो दिएपछि ग्राहक टाढा भए । जगमानको पसलमा खोजेको र रोजेको नास्ता नपाइन लाग्यो । उधारोले जगमान आजित । जगमानको व्यवहारले उपभोक्ता आजित । नभन्दै त्यही नगरको केन्द्र भागमा राजमानको नास्ता पसल खुल्यो – “राजमानको नयाँ नास्ता पसल !”
नौली बुहारीलाई नौँ पुल्का भनेझैं राजमानको नयाँ नास्ता पसल केही दिन खुब चल्यो । उनको नास्ता पसलमा बिहानदेखि लगातार दिउँसो र साँझसम्म खुब बिक्री हुन्थ्यो । राजमानले सिमा पारिबाट नास्ता बनाउने कालिगड झिकाएका थिए । उनको नास्ता पसलमा बिहानका चिया नास्ताका चिया , समोसा , पकौडी, जेरी, पाउरोटी र सेलरोटी आदि पाइन्थ्यो । ग्राहकहरू पनि मिठो मानिमानी चिया नास्ता खान्थे र पुरानो जगमानको पसललाई धिक्कार्थे । साँझमा अङ्ग्रेजी भोद्का र विदेशी रमका शरम नभएका पेगका साथमा लेग चल्न थाल्यो । अङ्ग्रेजी गीतका तालमा गिलास र डान्सबारका चालमा महफिल जम्न थाले । राजमानले पढेलेखेका युवाहरूलाई कम्ती तलबमा कर्मचारी राखे र राम्रो आम्दानी बढाए । बिस्तारै रिसेप्सनमा आकर्षक युवतीहरू राखेर ग्राहकलाई तानियो । व्यापारमा राम्रो प्रगति भयो ।
उनले नास्ता पसल चलाउँदा व्यापार गर्न राम्रैसँग सिके । कति नेताहरूलाई भेटी चढाए र ठेक्का पट्टामा हात बढाए । दलका बलमा हुने आन्दोलन र चुनावका समयमा कुस्त कमाए । नेपाल बन्द र कर्मचारी आन्दोलन ताका उनले बासी भातलाई साजी भनेर बेचे । त्यही कमाईले नास्ता पसलको तला थपे । यस्तो सुनौलो मौका सधैभरि आइरहोस् भनेर व्यवस्थाको फेर समाएर नेताहरूको नाम जपे ।
समय परिवर्तनशील हुन्छ । समयले कोल्टे फेर्छ । फेर्यो । देश दुनियाँले बाहिर हेर्यो । चियाको साथमा चुरोट चाहिन थाल्यो । चकलेट खानेले चुइगम माग्न थाल्यो । चिजबल र चाउमिनको चाहना बढ्दै गयो । चप र पप माग्न थालियो । लामा पइन्ट काटेर हापमा आयो । नयाँ कपडा च्यातेर बुट्टादार प्वाल गर्न थालियो । पालिका र मालिका बदलिए । विदेश गएर फर्केका सबैले जापानी, कोरियन र थाइ फुड माग्न थाले । बर्गर र पिँजाका माग आए । पानीपुरी र चटपटेको मागले राजमानको ध्यान भङ्ग गराए। कोही तन्दुरी चिकेन माग्न लागे । नपाउनेहरू खाता भरी गरेर भागे । चटपट र पानीपुरी बेच्नेहरू जागे । सहरमा ठेला र ठेलामा मेला देखिन लाग्यो । राजमान विचरा हेरेको हेर्यै । अब त नयाँ नयाँ ड्रिङ्क्सहरू नयाँ लुक्समा आए । चियरमा बसेर बियर खाने मानेहरू मानब्रो भए । राजमानको नास्ता पसलका दिन गए ।
आजकल सहरमा एन जी क्याफे नामक नयाँ खाजा नास्ताको पसल खुलेको छ । केही वर्ष विदेश बसेर नेपालमै केही गरौँ भन्दै बि एण्ड बि नामका दुई जनाले यो नयाँ क्याफे खोलेका हुन् । उनीहरूले आकर्षक होर्डिङ बोर्ड बनाएर लगाए । अनि ओपनिङमा वरपरका सबैलाई इनभाइट गरे । होम डेलिभरी सुविधा सहितको यो क्याफेमा ससाना कटेज बनाएर बाइफाइ फ्रि गरिदिएका छन् । नयाँ पुस्ताका न्यु जेनेरेसनहरू क्याफेमा जम्मा हुन्छन् र अल नाइट प्रोग्राम गर्छन् । त्यहाँका ग्राहकहरू सुशिक्षित र फरेन खानेकुरा अर्डर गर्छन्। आइसक्रिम खान्छन् र गिफ्ट लैजाने कुराको लिष्ट बनाउँछन् । क्याफेमा भित्र पस्नासाथ वेलकम गर्छन् अर्डर गर्न मेनु टक्र्याउँछन् । क्यास लेस पेमेन्ट प्लिज भनेर लेखेको बोर्डमा देख्न पाइन्छ । नयाँ नास्ता पसल भनेको क्याफे हो र खाने भनेकै डिनर हो । लेट्स डिनर विथ अल फेमेली इन एन जी क्याफे भनेर लेखेको वाक्यले खुसीनगरका धेरै घरमा आजकल खाना बन्दैन । गोजीबाट तिर्नुपर्ने होइन । कमाउनेले कसरी कमाउँछ कसलाई के खाँचो जति भन्यो उति दाम पाइन्छ । अझ उसमाथि पाँच सय हजार त टिप्स नै पाइन्छ । राम्रो छैन त नयाँ नास्ता पसल उर्फ एन जी क्याफे ? तपाईहरू पनि क्याफे जाने भए वा अनलाइन अर्डर गरेर मगाउन सक्नुहुन्छ यहाँ डेलिभरीको व्यवस्था छ ।
यो क्याफे चलाउन सोच बनाउने बि एण्ड बि लाई मान्नैपर्छ । राजमान जस्ता पुरानो पद्धतिका नास्ता पसल खारेज गर्नुपर्छ भन्ने आवाज उठिरहेको छ । तपाई यो नयाँ लुक्समा आएको नास्ता पसल उर्फ क्याफेलाई के सुझाव दिन चाहनुहुन्छ ? के यो क्याफे सधैंभरि चलोस् भन्ने चाहनुहुन्छ ?
०००
समी चोक भरतपुर, ५ चितवन
Subscribe
Login
0 Comments
Oldest







































