
पदमै झन् चटारिने ?
जुवाइँ भतिजा साला भदा बैनी, भिनाजुमा। पदकाे पगरी बाँड्दा गणतन्त्र चिहानमा ।। बनी कानुनका ज्ञाता, मै हूँ भन्दै मडारिने । भुँडीभक्त महाभ्रष्ट, पदमै झन् चटारिने ।।

बद्री दाहाल भष्मासुर :
घुमन्ते राेग क्या लाग्याे प्रमं मन्त्री प्रशासक ?
अरबाैँ ढुट्टियाे काेश , अर्थतन्त्र छ त्रासद ।।
तलातलतिरै देश हान्नियाे छैन याेजना ।
महँगी अग्लियाे चर्काे, ठूलाकै मन- माेजमा ।।
चाकरीबाज हुन् ‘बाज’, चुक्लीखोर त ‘काग’ हुन् ।
चिल्लो घसेर बोल्ने ता, ‘ब्वाँसा सर्प र स्याल’ हुन्।।
रूपाजीवा सुरा पैसा, मान्ने दलाल काल हुन् ।
शीर्ष तीर्थ भनी भुक्ने, साक्षात् कफ र र्-याल हुन् ।।
अशुध्दजीव भो भन्छन् बुद्धिजीवी जमात नै ।
गुटको खोरमा हाँस्छन्, दाना घाँस चबाँउँदै ।।
विवेक बन्दकी राखी, ‘भुँडी — पूजा’ सुलक्ष्य भो ।
लुर्के प्राविधिके —पण्डा, द्वारपाले कुलक्ष्यकाे ।।
कुलको पति छानिन्छन्, कुलङ्गार कयौ यहाँ ।
प्रज्ञाको पगरी गुत्छन्, जुलुङ्गार सयौँ जहाँ ।।
जुवाइँ भतिजा साला भदा बैनी, भिनाजुमा।
पदकाे पगरी बाँड्दा गणतन्त्र चिहानमा, ।।
बनी कानुनका ज्ञाता, मै हूँ भन्दै मडारिने ।
भुँडीभक्त महाभ्रष्ट, पदमै झन् चटारिने ।।
०००
धादिङ