साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तेलभिसा त्याग !

समुद्रको जहाजमा चोर डोकाजस्तो भएर पनि अमेरिका पस्न हाम्रा मान्छे हुरुक्क हुन्छन् । क्यानाडा भन्ने मुलुकबाट पनि हाम्रा केही मान्छेहरू गएर चोरजसरी अमेरिका घुस्छन् । अरू अरू गौँडाबाट पनि चोरी बाटो गरेर अमेरिका छिर्न मरिहत्ते गर्छन् ।

Nepal Telecom ad

होम सुवेदी :

नेपालीहरूका छोराछोरी उहिलेदेखि नै विदेशतिर जान मन गर्दै आएका हुन् र गएका पनि हुन् । कुनै वेला पहिलो विश्वयुद्ध र कुनै बेला दोस्रो विश्वयुद्धका लागि गए । युद्ध भनेपछि यसै पनि लडाईं हुने थलो हो । त्यहाँ गएपछि मर्नु मार्नु साधारण कुरा हुन्थ्यो । उस वेलाको कुरा बेग्लै थियो । जति मरे ती सबै युद्धमैदानका सहिद हुन्थे । आजभोलि भएको भए सायद दश लाखका भागिदार मानिन्थे होला । तर उति वेलाको कता मर्‍यो कता को पर्‍यो कसैलाई वास्ता नै भएन । केही जोधाहा र मुढे बलशालीहरूले खुकुरीले केही विरोधीहरूलाई गिँडेका कारण भिक्टोरिया क्रस पनि पाएका हुन् । उनीहरू आफ्ना लागि गएका थिएनन् । अर्काको लागि गएका थिए । आफ्नै देशका लागि जो युद्ध थियो त्यो उहिल्यै सकियो । अब त कि पार्टीका लागि गरिन्छ कि भत्ता कम भयो भनेर युद्ध गरिन्छ, कि देशको यो भाग र यतातिर हाम्रो मात्र हुनुपर्छ, यस प्रदेशको नाम हामीले भनेकै हुनुपर्छ, यतातिर हामीबाहेक अरूले बस्ने हैन भनेर वा आरक्षणका लागि गरिन्छ । नत्र युद्धको कामै छैन । सीमा मिचिएकोमा कसैले सोच्दैन । बेलुका नेपालमा भएको भाग बिहान अर्कै मुलुकमा परिसकेकोमा कसैलाई वास्ता छैन । कुनै बेला यस्तै काममा विरोध गरेकाहरूले केही राम्रै र अघाउन्जेल नै पाए, कति सिलिङबिलिङ भएर कता हराए कता ! देशभक्तिको साँचो युद्धमा ता अमरसिंह थापा, भक्ति थापाहरू मात्र लडेका थिए। नत्र उति बेला पनि अर्कैको युद्धमा जाने र उतै सकिने चलन थियो ।

यो विदेश जाने बानी उहिल्यैदेखि नेपालीमा परेको परेकै छ । अहिले ता झन् विदेश भनेपछि नेपालीहरू हुरुक्कै हुन्छन् । लड्न ता होइन, तर विदेश गएर घुमघाम गर्ने सोख ता मलाई पनि कम नचलेको होइन । तर किन हो किन एक मित्रको वचनअनुसार (उनको वचन के थियो कुनै बेला लेखूँला) विदेश जाने मन नै भएन । अवसर ता परेकै हो । बुहारीको थल्लिने योग पनि परेकै हो । विशेष गरी अमेरिका वा कुनै पनि मुलुकमा जानका लागि उति सजिलो छैन । छोरीबुहारीहरू उता गएर थल्लिने भए भने त्योभन्दा ठुलो अमेरिका छिर्ने योग अरू कुनै पर्दैन अरे । नेपालीहरूको ता विदेशमा छिरेपछि उतै कुल्ली कबाडी भएर बस्ने र त्यतै हराउने बानी परेको छ । राष्ट्रले आफ्नो इज्जत थामिदेलान् भनेर पठाएका केही खेलाडीहरू पनि कोरियातिरको खेलमा जाँदा उतै हराएको कुरा पनि सम्झन लायकका छन् । यो रेकर्ड देशका ठुलाठालुहरूले नै राखिदिएकाले विदेश छिर्न सजिलो छैन । यसै कारणले विदेशीहरू नेपालीलाई आफ्नो मुलुकमा सजिलैसँग छिर्न दिँदैनन् अरे । तर कुनै कुनै काममा भने निकै सजिलो गरी छिर्न पनि पाइन्छ भन्छन् । अमेरिका छिर्ने उपायमध्ये मन्त्रीलाई भाषण दन्काउन भन्दा पनि सजिलो एउटा उपाय छ । अरू अरू कुरामा विदेश जानुमा भन्दा सुत्केरी उतार्न जानुचाहिँ साह्रै सजिलो गरी पाइँदो रहेछ । नेपालबाट अरू मुलुकमा जानका लागि यो काममा जति सजिलो पर्छ अरू कुनै काममा पनि हुन्न । यस्तालाई तेलभिसा भनेर उडाउने पनि गरिएको छ । आफूले भने हातमा आएको तेलभिसालाई त्याग गरियो । कथम् छोरी बुहारी अमेरिकातिर गएर सुत्केरी हुने भए भने आमाबाबुका लागि त्यो तेलभिसा गोल्डेन चानस हो अरे । जानका लागि भिसासिसा के के कुरा चाहिने हो त्यो सुटुक्कै पाइन्छ अरे यस्तोमा । अरू महत्त्वपूणर् कुनै काममा विदेश जान चाहेमा नानाभाँतीका बखडा लगाएर भिसासिसा रोक्कासम्म पनि गरिन्छ । यो मैले भोगेर होइन देखेर पनि होइन मात्र सुनेर जानेको हो । भुक्तभोगीहरू यसै भन्छन् । होला नै भन्छु । तर आफूले त सहज र सुलभ भएको तेलभिसा पनि त्याग गरियो ।

मेरा छिमेकीकी ७५ वर्षकी आमालाई बेलायतमा जाने सबै विधि पुर्याउँदा लगभग ७५ हजारभन्दा पनि बढी पैसा खर्च भएको हो । तर बिचराको खर्चे मात्र भयो जान पाइनन् । हिस्स आमै हरिया दाँत भएकी छिन् ।

सजिलोसँग जान पाउने योग पनि मलाई परेकै हो । तर किन हो किन मलाई यस काममा जान मनै भएन । चेतावनी पनि आएको हो । पछि हामी फर्केपछि ता यता आउन सजिलो हुँदैन । अहिल्यै चानस छ, बुबा आइहाल्नुहोस् । हो, पछि के हो के हो, एक बेतपछि ता फेरि कतै चानसै हुन्न क्यारे । अनि कसरी जानु ।

हो, मैले पनि उता जानेबारेमा नसोचेको होइन, मेरी श्रीमतीले पनि करकर गरेर मलाई खुरुन्धार नै गरेकी हुन् । मेरा केही साथीभाइहरू पनि उता गएर सुत्केरी उतारेर फर्किएका उनले देखिसकेकी पनि छिन् । उनीहरूले उताको बढाइ गरेको सुनेर उनका मनभरि फुरौला पनि नपाकेका होइनन् । कति सुत्केरी उतार्न गएकाहरूले ता उत्ताको बखान गरेर किताबै दन्काइसकेका छन् । आ के जान बुहारीलाई तेल घस्न । यसो भनेर मै भइदिएँ अडियल घोडा । अनि उनको के लागोस् । मेरो अडियलपनले हाम्रो विदेश गमन भएन । छोराले नानी पायो । ठूलो खर्च परेको कुरा उसले मलाई बतायो । हामी गएको भए खर्च बच्ने कुरा पनि उताबाट बुहारीले सुनाई । हामी गइदिएको भए हाम्रो आतेजाते, बसाइ, खुवाइ, घुमाइ आदि सबैमा जेजति खर्च हुन्थ्यो त्योभन्दा बढी उहाँ सुत्केरी उतार्नमा खर्च भएकोमा बुहारीले सानो गुनासो गरिनन् । जा है, चानस गएछ । अब आउन पाइन्न क्यारे बुहारी, भइगो । हामी नै अभागी रहेछौँ, सुत्केरी उत्रिहाल्यौ क्यारे भनें र मैले तत्कालका लागि दिमाग लगाएर कुरा मत्थर पारेँ ।

घरमा ता जसोतसो कुरा मत्थर भो तर बाहिरफेरबाट कुरा मत्थर कहाँ हुनु । झन् चर्किएका छन् । अस्ति ता एक जनाले मलाई सातै खान खोजे- “हैन, के भाको तपाई ? अबका छोराछोरी एक बेतभन्दा बढी ब्याउने होइनन् क्यारे । बोलाएको वेलामा खुरुक्क जानुपथ्र्यो नि । क्या मान्छे रहेछौ तपाईं पनि । सुत्केरीको हेरचाह पनि हुने । अमेरिका पनि घुमिने । कस्तो चानस परेको रछ । चुक्क… म चुपै लागेर उनका कुरा सुनिरहेँ ।

अझै उनले थपे- ‘पर अस्पतालनेरका प्रधान दम्पती, अनि उतैका अधिकारीबाहरू, तल्लाघरे पोखरेलबा, उता याखा गाउँका याङ्दुवाकी आमा, खनालबाको परिवार, शर्माजीहरूको परिवार आदि सबै गएकै छन् त । तपाईंलाई चाहिँ केको देश र राजभक्तिको काउछो भिर्नुपरेको नि…। पैसा थिएन भने तत्काललाई म हालिदिन्थें । पछि ता छोराले उताबाट भरपाई गरिहाल्थ्यो । कस्ता राम्रा राम्रा मोबाइल पाइन्थ्यो । उताको ता चकलेट पनि अमृत हो । तपाईंले ठुलो चानस उम्कायौ । कस्तो चानस गुम्यो, मलाई यस्तो परेको भए ता थाप्लो ठटाएर जाने थिए ।’

लौ, म अमेरिका नछिरेको बारेमा तपाईं कति बम्कनुहुन्छ, बम्किरहनुहोस् भनेर म सुनिरहेँ । साथैका अर्काको कुरा अरु जौडे थियो । उनी म अमेरिका नजानुलाई मेरो लाछीपन सिद्ध गर्दै भन्दै थिए- ‘समुद्रको जहाजमा चोर डोकाजस्तो भएर पनि अमेरिका पस्न हाम्रा मान्छे हुरुक्क हुन्छन् । क्यानाडा भन्ने मुलुकबाट पनि हाम्रा केही मान्छेहरू गएर चोरजसरी अमेरिका घुस्छन् । अरू अरू गौँडाबाट पनि चोरी बाटो गरेर अमेरिका छिर्न मरिहत्ते गर्छन् । मेरै साढु भाइले पनि त्यहाँ घुरन सानो उद्योग गरेको होइन । यता माओवादीबाट पीडित भन्ने पत्र बनाएर शरणार्थीका रूपमा उनी उता घुसेका छन् । उता घुसेपछि छ महिनासम्म ता सरकारले नै पो पालिदिँदो रछ त । तपाईं भने नामर्द नै रछौ । यस्तो चानस पनि गुमाउने ।’ उनका कुरा सुनेर मलाई पनि अलिकति ता चित्त दुख्यो ।

ए, साँच्चै पो गलत काम पो गरेछ कि त भन्ने पनि पर्‍यो । तर फेरि मेरो उही पुरानो तर्क अघि सारेँ र चित्त बुझाएँ । छोराबुहारीले आमाबाबुलाई त्यत्रो माया नै गरेका हुन् भने सुत्केरी नै हुने वेलामा किन बोलाउने ? आज उता गएको दश वर्षपछि मात्र किन सम्झना आयो ? मायाकै लागि उनीहरूले चाहेको भए अघिपछि पनि ता बोलाउँदा हुन् । के अघिपछिचाहिँ हामीहरू उनीहरूका बाबुआमा थिएनौँ कि कसो ? परिवारमा समस्याहरू खनिँदा, मर्दापर्दा वा घटना दुर्घटना आदि पर्दा समस्याको समाधान परिवारभित्रबाट गरिनुपर्छ । यो मैले नकार्न मिल्ने कुरै भएन । अघिपछि वास्तै नगरेर जब सुत्केरी उतार्ने ठुलो खर्च वचत गर्नका लागि छोराले वा बुहारीले लोभलालच देखाएर बोलाउँछन् भने त्यसमा मेरो चित्त पटक्कै बुझेन । अहिले पनि बुझेको छैन । सम्भवतः भोलि पनि बुझ्ने छैन । यस्तै के के सोच्तै थिएँ साथीहरू भने मलाई मौका पर्दा पनि विदेश नजाने लाछीका रूपमा प्रमाणित गर्ने काममा शब्दहरूका वाण चलाइरहेका थिए । म सुनेको नसुनेझैं गरिरहेको थिएँ ।

०००
आसन ग्रहण (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x