
कमरेडकाे शपथ
सायद उनले कम्युनिस्ट मेनिफेस्टाे पढेकै छैनन्

कमरेड
भरखरै शपथ लिएर फर्केका छन्
उनलाई
केन्द्रीय महाधिवेशनकाे
प्रतिनिधि बन्ने चिट्ठा पर्याे
गौरवशाली पार्टीकाे
केन्द्रीय सदस्य बन्ने
अवसर पनि मिल्यो यसपालि ।
अब उनी
उहाँ कमरेड भएका छन्
पशुपतिनाथकाे पटकपटक दर्शन
देवीस्तुतिकाे साँझ बिहान वाचन
हनुमान चालीसाकाे साधना
अहिले सार्थक भएको छ उनको ।
यतिखेर
मलाई साेध्न मन छ
केही प्रश्न कमरेडसँग
सायद
उनले कम्युनिस्ट मेनिफेस्टाे
पढेकै छैनन्
पढेका छैनन् मात्रै कहाँ हाे र?
कस्तो छ मेनिफेस्टाे?
देखेकै छैनन्
के हो मेनिफेस्टाे ?
बुझेकै छैनन् ।
के हो लालसलामकाे रहस्य ?
मुट्ठी कसेर दाहिने हात
किन उठाइन्छ माथि?
उनलाई थाहा छैन
तर पनि उनी
उहाँ भएका छन्
अर्थात् गौरवशाली पार्टीको
केन्द्रीय सदस्य भएका छन् ।
उनीसँग
यी सरल र ज्वलन्त प्रश्नहरू पनि गर्नु छ मैले
मार्क्सकाे पूरा नाम के हो ?
स्टालिन किन तानाशाह मानिए ?
किन राखिएको छ
माओकाे शव सुरक्षित ?
किन ढालियाे
लेनिनको सालिक गर्ल्याम्म ?
किन साेभियत सङ्घकाे नक्सा
टुक्राटुक्रा भयाे ?
कसले भत्कायाे
बर्लिनकाे पर्खाल एकाएक?
गाेर्भाचाेभ
कसरी बिक्याे रातारात ?
काे हुन् –
हो चि मिन्ह, किम इल सुङ र फिडेल क्यास्ट्राे ?
किन थुनियाे
गाेन्जालाेलाई पिन्जरामा ?
पुष्पलाललाई
हिजो किन गद्दार भने ?
किन खसालियाे
मदन भण्डारीलाई दासढुङ्गाबाट ?
किन सुरु गरे
प्रचण्डले छापामार जनयुद्ध ?
के गर्दै छन् अहिले
माेहनविक्रम सिंह ?
किन भन्दै छन्
कार्यकर्ताहरू
के. पी. ओलीलाई बा ?
किन गलहत्याइए
माधव आफैंले बनाएको घरबाट ?
किन विपथनकाे बाटाे राेजे
बाबुराम भट्टराईले ?
अब अन्तिम प्रश्न
यसरी साेध्न मन लाग्यो –
कमरेड !
तपाईंले पार्टीको सदस्यता
कहिले काेसँग लिनुभएकाे थियोे ?