डिल्लीराज अर्याललोकतन्त्र कि भोकतन्त्र !
विडम्बना ! सबै भन्छन्—देशमा लोकतन्त्र छ लाखौँका घरमा लाग्छ परन्तु भोकतन्त्र छ !

बिरामी, ओखती खोज्छु खती भोग्छु सधैं अति
नसप्रे मति मान्छेको सप्रला कसरी गति ?
उपती छैन, गर्दैन, पोयो प्रगतिको छिन्यो
हार खाएर मान्छे यो संहारक बनी हिँड्यो
सँभार गर्नुपर्ने हो संहार खोज्छ, रोज्दछ
विचार गर्नुपर्ने हो प्रचार मात्र खोज्दछ
वनस्पति सक्यो कैयौं, भन्छ- छुन्छु वृहस्पति
खेदो प्रकृतिको खन्दा आफ्नै बिग्रिसक्यो स्थिति
महासंग्राम निम्त्याई हाँस्न खोज्दछ, दङ्ग छ
धरतीमै बसी रूप धरतीको बिगार्दछ
नजानेको भनूँ गर्छ— ज्ञान- विज्ञानका कुरा
जानेको छ भनूँ—आफ्नै जान्दैन घरका कुरा
‘पानी जीवन हो’—भन्छ, पानीमै ढल हाल्दछ
घर, आँगनको थुप्रो मल हाल्छ, पखाल्दछ ।
वन जङ्गलले रोक्छ, बाढी, पैरो र भूक्षय
भन्छ, काटेर, मासेर- खोज्छ जीवनमा जय
जे जे नगर्नुपर्ने हो गर्छ खालि त्यही त्यही
गर्नुपर्ने कुरा छोडी बन्न खोज्दछ त्यो जयी
विडम्बना ! सबै भन्छन्—देशमा लोकतन्त्र छ
लाखौँका घरमा लाग्छ परन्तु भोकतन्त्र छ !
त्यै भोकतन्त्र बेचेर सजायौंँ लोकतन्त्र कि !
या लोकतन्त्रकै निम्ति बचायौंँ भोकतन्त्र कि !
भागमा जनतालाई परेछ भोकतन्त्र यो !
नेता, नजिककालाई परेछ लोकतन्त्र त्यो !
पाल्पा, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































