नन्दलाल आचार्यप्रतिप्रश्न
थरीथरीका नाम र शब्दावलीले जनता झुक्याएर पद, पावर र पैसाको लागि आमालाई च्याखे थाप्ने कुप्रथा बसिसक्यो ।

“तँसँग सबैथोक छ । सुखको सगरमाथा सामुन्नेमा खडा छ । आनन्दको महासागर उल्टेको छ । तथापि तेरो वाणीमा घनघोर असन्तुष्टिको कराल पहाड लमतन्न छ । यसको कारण बुझ्न सक्छु ?”
भूमिकासहितको वीरेन्द्र सरको प्रश्नको सटीक जवाफ दिन मन थियोे । मेरो मुखबाट उत्तर पनि बाहिरिन तँछाडमछाड गरिरहेको थियोे । तथापि गुरुसँग हत्तपत्त सवालजवाफ गर्नुहुन्न भनेर म चुपचाप थिएँ ।
“अरे यार, अब तँ हामी वरावर भइस् । अझ नयाँ ज्ञानगुणले उछिन्न लागिस् । अब त सोधेको प्रश्नको चाँडोभन्दा चाँडो उत्तर दे ।“ वीरेन्द्र सरले आफ्नो अडान दोहोर्याइरहे ।
मैले डिग्रीसम्म पढेको थिएँ । माध्यमिक तहको स्थायी शिक्षक कहलाएको थिएँ । घरपायक पर्ने आफू पढेकै विद्यालयमा सरुवा हुन पाएको थिएँ । पुर्खाको जायजेथा मनग्ये थियोे । जताततै जोसुकैले मानमर्यादा गर्थे । मेरो गुणगान गाउँथे । मलाई गाउँकै इज्जत ठान्थे । आफ्ना सन्तानलाई “तँइले उः त्यो विष्णुप्रसाद बाजेको छोराजस्तो हुनुपछ” भनेर मलाई देखाउँथे ।
“अबदेखि म जवाफ नपाउने सवाल नै गर्दिनँ तँसँग ।” यस पटक भने वीरेन्द्र सरको मलिन बोली सुनेर मैले मन खोल्नै पर्यो ।
म भन्न थालेँ; “मसँग भएका सुखसन्तोषका कुरा थोरै नेपालीसँग मात्रै छ । बहुसंख्यक नेपाली त दुःखपीडा तनतनी पिउन वाध्य छन् ।”
म थप्दै गएँ; “पुर्खाले जोगाएको र हामीले प्राणझैँ मानेको प्रतिष्ठा र स्वाभिमान लिलाममा छ यतिबेला । थरीथरीका नाम र शब्दावलीले जनता झुक्याएर पद, पावर र पैसाको लागि आमालाई च्याखे थाप्ने कुप्रथा बसिसक्यो । अनि भन्नुस् त सर, म कसरी सुखी र खुशी हुनसक्छु ?”
२०७८/१२/०३ उदयपुर ।
हाल- गोलबजार-४, सिरहा
Subscribe
Login
0 Comments
Oldest












































