वासुदेव पाण्डेयमनोवृत्ति
पाए खोज्छ हडप्न मानिस सधैँ,जो गर्छ चिल्ला कुरा, औँला चाट्न दियो भने लहसिई निल्ने उही पाखुरा ।

भाँडो प्वाल परेर काम नदिँदा टालिन्छ केही दिन
त्यो गर्दा पनि काम कत्ति नदिए फालिन्छ अर्को दिन।
खस्के हालत मित्र पूर्व दिनका फर्केर हिँड्छन् उता
हात्ती खाडलमा परेपछि गई जिस्क्याउँछन् भ्यागुता ।।
जो सोझो र इमानदार छ बढी पाउन्न पक्कै सुख
बाङ्गो वृक्ष सधैँ रहन्छ,पहिले काटिन्छ सोझो रुख ।
पाए खोज्छ हडप्न मानिस सधैँ,जो गर्छ चिल्ला कुरा
औँला चाट्न दियो भने लहसिई निल्ने उही पाखुरा ।।
गल्ती गर्दछ अङ्ग एक उसको खप्छन् सबैले पिर
खुट्टामा जब लाग्छ ठेस जिउ नै हुत्तिन्छ एकातिर ।
जोखिन्छन् जब व्यक्ति हैसियतमा राम्रो नराम्रो हुने
काला काग र कोइली तर दुवै आवाजले छुट्टिने ।।
बोल्छन् व्यङ्ग्य गरेर मित्रजनले आफ्नो अवस्था गिरे
आओ लड्न म छैन कायर मुसा भन्छन् दुलामा छिरे।
मान्छे व्यस्त छ अर्थ सङ्कलनमा छाड्दैन पाए जति
आएसम्म निचोर्दछन् रस सबै पाए भने कागती ।।
मान्छेको मन बुझ्नुझैँ जटिलता लागेन अर्को तर
एकै व्यक्ति अनेक रूप कहिले नौनी,कतै पत्थर।
खाई आलु लुकेर भन्दछ उही,पेडा थियो त्यो भनी
मान्छेले जति ज्ञान आर्जन ग-यो निस्कन्छ टेढो बनी ।।
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest






































