साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अतिथिकक्षमा प्रतीक्षाको घडी

उनी ठेक्का मिलेपछि तोकिएको भोट अवश्य खसाल्थे भलै सुरासुन्दरी र हतियारको सहारा नै किन लिनु नपरोस् ।

Nepal Telecom ad

अनुवाद : नीलकमल

(रवीन्द्रनाथ त्यागी हिन्दी साहित्यका नामूद व्यङ्ग्यकार हुन् । भारतीय स्वतन्त्रता पश्चात् त्यहाँको समाजमा हुर्किएको सांस्कृतिक विद्रूपताको उनले केस्राकेस्रा केलाएका छन् । घटना र चरित्रको मात्र होइन परिवेश र स्थितिहरूको समेत सामञ्जस्यता पस्कनु उनको खुवी हो भने यी माध्यमबाट समकालीन समाजका अनेक अन्तर्विरोधहरूको यथार्थता ग्रहण गर्नसक्नु उनका पाठकको प्राप्ति हो ।

इतिहास, साहित्य, संस्कृति, राजनीति, प्रशासन तथा धर्मशास्त्र जस्ता कुनै विधा पनि उनको व्यङ्ग्यको सीमाभन्दा बाहिर परेका छैनन् । आफ्नोे लेखकीय अनुभवमा समाजका सबै पक्षहरूलाई छिमल्ने त्यागीको जन्म ई. १९३१ को सेप्टेम्बर १ तारिकमा उत्तर प्रदेशमा भएको थियो । आर्थिक कठिनाई को सामना गर्दागर्दै पनि प्रयाग विश्वविद्यालयबाट एम.ए. गरी जीविकाका लागि भारतीय प्रशासनिक सेवामा लागेका त्यागीका कृतिहरू ‘सुखे और हरे पत्ते’, ‘कल्पवृक्ष’, ‘आदिम राग’, ‘भित्तिचित्र’, ‘कृषावाहन की कथा’, ‘शोकसभा’, ‘अतिथिकक्ष’, ‘फूलोंवाले क्याक्टस’, ‘ऋतुवणर्न’ तथा ‘सुन्दर कली’ जस्ता व्यङ्ग्य र इतर व्यङ्ग्य कृतिहरू प्रकाशित छन् । —अनुवादक)

यहाँ म निकै अगाडिदेखि पर्खिरहेको थिएँ । त्यो उनको बैठक कोठा थियो- जसलाई अर्को शब्दमा प्रतीक्षालय वा अतिथिकक्ष भनिन्छ । उनी एउटा प्रतिष्ठित राष्ट्रसेवी थिए- जो पटक-पटक मन्त्री भइसकेका थिए र धेरै पार्टीहरूको समेत प्रतिनिधित्व गरिसकेका थिए । राष्ट्रोत्थानका लागि कहिल्यै उनले व्यक्तिगत स्वार्थलाई प्रेम गरेका थिएनन् । उनी वास्तवमै भी.आइ.पी. थिए तर त्यसबेला उनी यस्तो स्थितिमा थिए जो पुरानो मन्त्रीमण्डलबाट हटाइएको र नयाँ मन्त्रीमण्डलमा सामेल भइनसकेको अवस्थामा हुन्छ । बैठककोठामा धेरै मान्छे थिए- एकजना अधवैंशेले उनीहरूको नाम कागतमा उतारिरहेको थियो । ऊ शायद नेताजीको निजी सहायक थियो जसलाई सरल भाषामा पी.ए. भनिन्छ । मैले अगाडि नै उल्लेख गरेँ म त्यो ठाउँमा निकै अगाडिदेखि मौजुद थिएँ ।

बैठककोठामा अतिथिहरूका अतिरिक्त सजावटका पनि धेरै सामग्रीहरू थिए । यी सामग्रीहरूले नेताजीको व्यक्तित्वको सार्वजनिकतालाई झन् उज्यालो पार्दथे । सामुन्नेको ढोकामा राष्ट्रपिता श्री ५ त्रिभुवनको तस्वीर टाँगिएको थियो । अर्कापट्टी गान्धीको भने तेस्रो दिशातिर गौतम बुद्धको । यी तीन चित्र बाहेक अर्को चित्रले कुनै एउटा आदिवासी युवती अर्धनग्न नृत्य गर्न उन्मुख भएकै छनक दिन्थ्यो । सामुन्नेको झ्यालनेर इसा क्रसमा झुण्डिइरहेको आकृति थियो । भित्तामा मरलिन मुनरो र ब्रुसलीका चित्रहरू बडो कलात्मक पाराले टाँगिएका थिए । अन्य भागमा ताजमहल, सगरमाथा, मनमोहन अधिकारी, वी.पी. कोइराला, स्वामी रामदेव, सत्य साईवावा, राजेश हमाल तथा पृथ्वीनारायाण शाह आदिका तस्वीर सजाइएका थिए । छेउमा रहेको नाइट ल्याम्प मास्तिर पिकासोको सुन्दर तैल्यचित्र झुण्डिरहेको थियो ।

पिकासोको पेन्टिङका अगाडि म थिएँ- जसमा एउटी नारीको चेहरा र वक्षस्थल वडो कलात्मक पाराले प्रस्तुत गरिएको थियो । अझ त्यसको रौनक यस्तो थियो- जसलाई अर्को कोणबाट गौर गरी हेर्‍यो भने अर्कै जस्तो देखिन्थ्यो अझ अर्को कोणबाट अझ अर्कै । अर्कातिर हनुमानले द्रोणाचल पर्वत बोकी लक्ष्मणको उपचारार्थ जाँदाको बडो मजाको दृश्य, परोपकार र स्वामीभक्त त यस्तो पो हुनुपर्दछ । हामी बसेको अतिथि कक्षको पर्दा खाराको थियो भने सोझाको किनारमा चमर सजिएको थियो ।

अतिथि कक्षमा रहनेहरूमध्ये म कसैलाई चिन्थेँ पनि । यिनीहरूमध्ये एक ठेकेदार थिए जो चुनावमा कुनै उम्मेदवारलाई निश्चित मत खसाल्ने ठेक्का लिन्थे । मान्छे भलाद्मी थिए, उनी ठेक्का मिलेपछि तोकिएको भोट अवश्य खसाल्थे भलै सुरासुन्दरी र हतियारको सहारा नै किन लिनु नपरोस् । हाल पनि उनी समक्ष केही फौज्दारी मुद्दाहरू विद्यमान छन् । तर उनी विलकुल निस्फिक्री छन् र चमरयुक्त सोफामा बसेर ५५५ ब्राण्डको चुरोटको धुवाँ उडाइरहेका छन् ।

ठेकेदारको विपरित दिशामा एक संस्कृतका धुरन्धर पण्डित अर्थात् काव्यतीर्थप्राप्त विद्वान् छन् । उनले निधारमा तिलक र खुट्टामा गोबर लगाएका छन् । मङ्गलबार भएका कारण आज उनले रक्तवणर्को उत्तरीय धारण गरेका छन् तर सधैँ उनी हनुमानको जस्तो लँगौटी लाउँथे । हालै उनले एउटा संस्कृत श्लोकयुक्त काव्य लेखेका थिए- जसलाई संस्कृत विश्वविद्यालयको पाठ्यक्रममा स्वीकृत गर्नका लागि सो काव्यको अन्तिम अध्याय नेताजीको समर्पणमा लेख्नुपरेको थियो । पाण्डुलिपिको एकप्रति उनको हातमा थियो- रेशमी खोलमा बेरिएको । उनी वडा दूरदर्शी थिए, …यो बेला जाडोको मौसम भएको भए उनी सो पाण्डुलिपिलाई बाहिर बाल्मिकीको चित्राङ्कित मलमल कपडाले बेर्थे । अहिले उनी आजको जमानामा भ्रष्टाचारले सीमा नाघेको कुराको व्याख्या गरिरहेका थिए । उनका अगाडि एउटा कुर्सीमा बसेकी एक रूपवती महिला वडो ध्यानमग्न मुद्रामा सो कुरा सुनिरहेकी थिइन् ।

ती रूपवती महिला केही कुनै आपतमा परिरहेकी जस्ती पनि लाग्थिन् । उनी नारी निकेतन नामक संस्थाबाट भागेर सिधै त्यहाँ आएकी थिइन्- नेताजीका शरणमा । नारी निकेतनका अधिकारीहरूले नारी अधिकारको मात्र होइन छातीका दुई नरिवलको समेत भरपुर व्याख्या गरेका थिए । यसको परिणाम यो भयो जसले गर्दा उनको आँखामा आँसु, छातीमा दूधको खाँचो पटक्कै रहेन । नेताजी कहाँ उनको उपस्थिति देखेर ती पण्डित कुनै जमानामा एउटा निरिह भेडी सल्लाह र सहयोग माग्न बघिनीकहाँ गएको कथा सुनाउन थाले ।

पी.ए.का अर्कातिर एकजना जिल्ला सदरमुकामका अधिकृत स्तरका कार्यालय प्रमुख बसेका थिए । तर अहिले उनी फगत एउटा नागरिक हुन् या अधिकृत छुट्याउन गाह्रो पथ्र्यो । नेताजीका पी.ए.सित कुरा गर्दा उनी एउटा व्यक्तिझैँ लाग्थे भने अन्य बेलामा अधिकृतजस्ता । जिल्ला मातहतको कृषि कार्यालयमा बागवानी शिक्षाको महत्व बारेको एउटा कार्यशाला गोष्ठीमा उनले नै कार्यपत्र पेश गरेका थिए । हप्तामा छ दिन जति आफ्ना जिल्लाका अन्य हाकिमहरूसित भलाकुसारी र रमाइलो गर्थे भने सप्ताहान्तमा राजधानी आई आफूभन्दा वडा हाकिम र नेताहरूकहाँ खाजापानीको बन्दोबस्त गर्थे । अहिले भने उनको एउटा हातमा एउटा फाइल थियो, अर्को हातमा सिगारको एउटा पाइप । फाइल जो थियो शायद त्यही नारी निकेतन सम्बद्ध रूपवती महिलासम्बन्धी थियो । त्यसैले ती कार्यालय प्रमुख घरी ती महिलातिर हेर्थे, घरी नेताजीको घर-कम्पाउण्डमा पार्किङ्ग गरी राखेको आफ्नोे पजेरोतर्फ । फेरि उनी आफ्नोे सिगारको पाइपलाई मुखमा जोड्दै थिए ।

अर्को कुनामा एक धुरन्धर कवि बसिरहेका थिए । सर्वाङ्ग आसन गरिरहेको अनुभूति हुने गरी कवि सोचमग्न थिए । बसाईबाट प्रयोगवाद र प्रतीकवादको छनक पनि आउँथ्यो । वास्तवमा म तिनै कविलाई सिफारिस गर्नका लागि आएको थिएँ । तिनी वास्तवमा त्यही नारी निकेतनमा नोकरी गर्न चाहन्थे । नेताजी पनि प्रेमी व्यक्ति थिए, अतः साहित्यप्रेम उनमा नहुने प्रश्न नै भएन । उनको त्यही कमजोरीको फाइदा कति पटक मैले उठाइ पनि सकेको छु । तर त्यसलाई विस्तारमा वयान गर्नु वास्तवमा रहस्यवादी विमर्शको विरुद्ध हुनजान्छ ।

यी व्यक्तिहरूका अतिरिक्त त्यहाँ एक चन्दादाता पनि थिए- जसका मुखबाट ठर्राको बास्ना आइरहेको थियो । एक दादा पनि थिए- जसको खल्तीमा टलक्क टल्किने छुरी थियो । अर्का एक साहेव थिए जो कार्यक्रमका जाजल्यवान् प्रतिभा लाग्दथे । एक विराट वकिल थिए भने अर्का ख्यातिप्राप्त पुराणवाचक पनि थिए । पुराणवाचक गलैँचायुक्त भुइँमा पलेँटी कसेर बसेका थिए र आँखा बन्द गरेका थिए । हरेक पाँच पाँच मिनेटमा मुख खोल्दै मन्त्रोच्चारण गर्दै उनी भन्थे- “हे प्रभो ।!” र फेरि समाधीस्थ हुन्थे । समग्रमा यसरी वातावरण शान्त थियो ।

हामी सबै आगन्तुकहरू यहाँ आ-आफ्ना किसिमले बसेका थियौँ । ठेकेदार मारलिन मुनकोतर्फ एक टक लगाइरहेका थिए, रूपवती महिला क्रसमा टाँगिएको इसातर्फ र कार्यालय प्रमुख आफ्नोे फाइलतर्फ कविजी खैनी मल्थे, दादा छुरी सम्हाल्थे र पुराणवाचक मन्त्रोच्चारण गरिहन्थे । भित्तामा टाँगिएका चित्रहरूमा समेत हुनमान द्रोणाचल पर्वत बोकेर पिकासोले बनाएको युवतीतिर हान्निएको जस्तो लाग्थ्यो ।

जबसम्म नेताजीको आगमन त्यो अतिथि कक्षमा भएको थिएन तबसम्म सारा कार्यक्रम नै यसै गरी सञ्चालन भइरहेको थियो ।

फित्काैली, अङ्क  ८,  असार २०६३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तैलचित्र

तैलचित्र

रवीन्द्रनाथ त्यागी
एउटा ससानो कुरो

एउटा ससानो कुरो

रवीन्द्रनाथ त्यागी
स्ट्राइक

स्ट्राइक

रवीन्द्रनाथ त्यागी
प्रजातन्त्र

प्रजातन्त्र

रवीन्द्रनाथ त्यागी
हाम्रो राजभाषा

हाम्रो राजभाषा

रवीन्द्रनाथ त्यागी
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x