होम सुवेदीसंसदभित्रको चर्तिकलाः
म नेता हुँ कुर्सी सधैँ रुँग्नु पर्ने सदाझैँ त्यसैमा बसी उँघ्नु पर्ने कि झर्ला भनी श्याल जस्तो कुरेर तिनैको पिरो गन्ध नै सुँघ्नु पर्ने ।

लुते श्याल एक्लो भएझैँ विजेता
सधैँ उँघ्नुपर्ने बनेको छु नेता
भएको छु आफू न तेता न एता
अरू लाग्दछन् डम्म चिल्ला र सेता ।।
यहाँ च्यातिएको छ दुर्भाग्य मेरो
चढाएर पैसो लगाएर फेरो
बुझाएँ सकेसम्म भेटी तथापि
न मन्त्री भएँ वा न पाएँ पजेरो ।।
म नेता हुँ कुर्सी सधैँ रुँग्नु पर्ने
सदाझैँ त्यसैमा बसी उँघ्नु पर्ने
कि झर्ला भनी श्याल जस्तो कुरेर
तिनैको पिरो गन्ध नै सुँघ्नु पर्ने ।।
यहाँ सुत्न पाइन्न भै लम्पसार
सदा नाकमा पर्छ दुर्गन्ध खार
सधैँ मेचमा राख खुट्टा पसार
यहाँको छ यो दृश्य यस्तो अपार ।।
सुतेका सुत्यै छन् उँघेका उँघ्यै छन्
तितो ग्यास छाडी सुँघेका सुँघ्यै छन्
कुनै चाहिँ घुर्छन् परी लम्पसार
कुनै चाहिँ एक्लै भुकेका भुक्यै छन् ।।
कुनै कोल्टिँदै बाङ्गिँदै फुस्स पार्छन्
कतै अन्त हेर्दै कुनै ठुस्स पार्छन्
उँघेको गरी भान कोल्टो परेर
सबैले नदेख्ने गरी फुस्स पार्छन् ।।
यता राष्ट्रका कामको हुन्छ चाप
विना घूसको काममा हुन्छ पाप
खकार्नै नपाई यता पर्छ ताप
पिरो गन्धको नाकमा पर्छ राप ।।
नछाडे सबैको भुँडी हुन्छ ढुस्स
त्यसैले सबै पार्दछन् ठास्सठुस्स
म मात्रै महादेव के बन्न सक्थेँ
त्यसैले नपारी कहाँ सक्छु छुस्स ।।
कसैले कतैतर्फ कोल्टो परेर
बडो भव्य जस्तो बहाना गरेर
नजाने गरी पार्दछन् भ्वाँक्कभुक्क
र कोही त्यहाँ हाँसी हुन्छन् हुरुक्क ।।
त्यहाँ ठुस्स पारेर थोरै नछाडे
तिखा शब्दले थोर छाला नकाडे
नभाँचेर औजार वा मेच केही
कहाँ बन्न सक्ने महाचोर ढाडे ।।
विरोधी र आफ्नो कहाँ बुझ्नु गन्ध
कहाँ लाग्दथ्यो मित्रहो त्यो सुगन्ध
पराया धुवाँ हो कि आफ्नो भनेर
चिनेको छ यो नाकले मन्द मन्द ।।
गनाए गनाओस् ठुलो मान राखी
कसैको तिखो गन्ध थोरै नचाखी
बसूँ भन्छु बस्नै यहाँ पर्छ गाह्रो
विरोधीहरूको गनाएर काखी ।।
सधैँ घाट मुर्दा रुँघेझैँ रुँगिन्छ
सकेसम्म वैरी ठुँगेझैँ ठुँगिन्छ
र मानेर आफ्नाहरूको सुगन्ध
बडो स्वाद मानेर ताजा सुँगिन्छ ।।
ठुला शब्दको भ्वाँक्कमा मान हुन्न
सदाकाल यो वायुकै गान हुन्न
मुखारी लगाएर बस्दै सदा म
र थालेँ सदाझैँ बसी नाक थुन्न ।।
खकारी कतै भित्र थुक्नै मिलेन
भुस्याहा सरी भित्र भुक्नै मिलेन
रुई नाकमा नित्य कोच्नै मिलेन
नछाडौँ भनी फेरि सोच्नै मिलेन ।।
यसैले सभा यो रुँगेरै सकिन्न
कहाँ नित्य सुँघ्ने सुँघेरै सकिन्न
मलाई छिटो काल आए हुँदो हो
कतै ढुक्कले सुत्न पाए हुँदो हो ।।
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest








































