मान्छे
पाए तालिम ज्ञान बाँदरहरू, बन्छन् नि मान्छे सरि । मान्छे बाँदर झैँ बने अवनिमा, उल्टो भयो हे हरि । जन्मन्छन् अनि रम्दछन् अवनिमा, मान्छे सबै मर्दछन् । मान्छे बन्न सकिन्छ लौ यदि भने, ती सानले बाँच्दछन् ।
मान्छेमाथि श्रृङ्खलाबद्ध कविता लेखनको ६९ भाग
घोडा हिँड्छ लगामको नियमले, बोक्दै खुबै मानिस ।
मान्छे जाँगरिलो भएन किन हो, व्यर्थै भयो कोसिस ।।
बारी खेत डटेर जोत्छ सहजै, त्यो गोरु हो कर्मठ ।
मान्छे भ्रष्ट कुकर्म जाल छलले, बन्दै गयो है शठ ।।-१
आज्ञा मानिसको लिई कुकुरले, रक्षा खुबै गर्दछ ।
बाठो उच्च बनेर मानिस यहाँ, गल्ती गरी हिँड्दछ ।।
हात्तीको बल उच्च भैकन यहाँ, साथी बनी हिँड्दछ ।
दम्भी काल कराल मानिस खुबै, पापी बनी हिँड्दछ ।।-२
मीठो दुग्ध दिएर सेवक बने, गाई र भैंसी बरु ।
लुट्छन् आज रमेर रुग्ण जनता, दम्भी घमन्डीहरू ।।
बोल्यो धाक दिएर आज कसरी, हुङ्कार ज्यादा गरी ।
लुच्चो नायक बन्छ घुम्छ थलमा, ढाडे बिरालो सरि ।।-३
मैनाको अनि कोइली ढुकुरको, जोडी छ क्या सुन्दर ।
माया मानिसको वन्यो कपटको, नाता टुट्यो भर्खर ।।
चोखो प्रेम गरी घुरेर बहुतै, रम्छन् परेवाहरू।
झुट्टो प्रेम र जाल नाटक गरी, चुक्छन् नि मान्छेहरू ।।-४
पाए तालिम ज्ञान बाँदरहरू, बन्छन् नि मान्छे सरि ।
मान्छे बाँदर झैँ बने अवनिमा, उल्टो भयो हे हरि ।
जन्मन्छन् अनि रम्दछन् अवनिमा, मान्छे सबै मर्दछन् ।
मान्छे बन्न सकिन्छ लौ यदि भने, ती सानले बाँच्दछन् ।।-५
०००
बालाजु, काठमाडौं
२०७८/०९/१३