जीवन आचार्य निश्चलएकजोर पुरानो जुत्ता
अझै पनि विजय जुलुस मनाएको सम्झेर सधैँ मुख बाएर बसिरहन्छ साक्षीका रूपमा माथि बर्दलीमा तुन्द्रुङ्ग झुन्डिएर एकजोर पुरानो जुत्ता । यात्रामा निस्कन नपाएर बेचैन छ एक जोर पुरानो जुत्ता ।

सधैँ मुख बाएर बसिरहन्छ
माथि बार्दलीमा
एक जोर पुरानो जुत्ता
सधैँ चिन्तन गरिरहन्छ
आफ्नो हराएको
एक जोर खुट्टाको बारेमा ।
कहिले सिमलको रूख
कहिले साज, सखुवा, खयर
कहिले बयरको झाङ त
कहिले खरीको बोटमा झुन्डिएको
एक जोर पुरानो जुत्तामाथि
सधैँ शासकको त्रसित नजर पर्छ ।
जुत्ताहरूको आफ्नै जात छ
खुट्टाहरूको आफ्नै गीत छ ।
आफूलाई निल्न निस्केको
बाँसुरीको स्वर कुल्चदै
कहिले सडकको किनारैकिनार
कहिले जङ्गलैजङ्गल त
कहिले भीरैभीर हिँडेका सङ्घर्षका दिन सम्झिन्छ
र,
टकटक्याउँछ धुलोमाटो
टुँडिखेलको छातीमा
एक जोर पुरानो जुत्ता ।
जब फनफनी घुमेको कुमालेको चक्र हेर्दै
वर्तमानले सङ्गीत भरेर भविश्यको गीत गायो
एक जोर पुरानो जुत्ताले
अचानक सोचमग्न बन्यो शासक
झुन्ड्यायो जमुनाको बोटमा
र
निस्फिक्री बान्ता गर्यो भ्रमको गीत
जुत्ताको यो इतिहास
स्मृतिको बन्द एल्मबभित्र कैद छ ।
छातीमा थापेर गोली
समयको आँगनमा
लडेको छ निस्फिक्री
अचानोमाथि राखेर गर्दन
उज्यालो खोज्दै निस्केको हो ऊ सडकमा
आन्दोलन गर्न ।
मध्यदिउँसो टाँगिएको हो
एक जोर पुरानो जुत्ता,
धुपी र सल्लोको बोटमा ।
अझै पनि विजय जुलुस मनाएको सम्झेर
सधैँ मुख बाएर बसिरहन्छ साक्षीका रूपमा
माथि बर्दलीमा
तुन्द्रुङ्ग झुन्डिएर
एकजोर पुरानो जुत्ता ।
यात्रामा निस्कन नपाएर बेचैन छ
एक जोर पुरानो जुत्ता ।
०००
सर्लाही
Subscribe
Login
0 Comments
Oldest







































