के.पी. पाैडेलमान्छे
कोही अक्कल बुद्धि हैसियतले, घोडा चढी घुम्दछन् । कोही मानिस छन् नशा कुलतमा, सङ्कष्टमा फस्दछन् ॥ के सक्ला र अभाव थेग्न नुनको, मोती हिरा स्वर्णले । मान्छेका गुण दोष बोक्छ कसरी, बाख्रा खसी गोरुले ॥

कृष्णप्रसाद पौडेल जस्ताघरे :
कोही मानिस सौम्य जीवन दिँदा, ठान्छन् वृथाको जुनी ।
कोही प्राणविहीनको कुसुमको, टिप्छन् झरेको पनि ॥
कोही सुन्दर प्रेमभाव रसमा, डुब्छन् खुबै सत्यमा ।
कोही भोगविलासमा मन हुँदा, छन् लिप्त आशक्तिमा ॥१
कोही चाह र मागका रहरले, आफ्ना हुँदैनन् कवै ।
इच्छा मात्र भएर हुन्छ अब के, सौभाग्य गुम्लान् सबै ॥
मान्छे सोच्दछ एक सुन्दर कथा, जन्मिन्छ अर्को व्यथा ।
कैयौँ उग्र प्रयत्नका कदमले, मासिन्छ है सभ्यता ॥२
कोही हाँस्न रुचाउँछन् नरहरू, पीडा लुकाईकन ।
कोही झट्ट रिसाउँछन् अझ मिठो, माया लुकाईकन ॥
कोही उन्नति शान्तिका किसिमका, सङ्घर्ष मच्चाउँछन् ।
कोही मानिस मौनतातिर भए, आवाज मेटाउँछन् ॥३
लेख्छन् ती घटना भने मनुजका, बन्छन् अनौठा कथा ।
लेख्दैनन् नर चाखले यदि भने, लुक्छन् अनेकौँ व्यथा ॥
कोही मानिस रच्दछन् नव कुरा, टेक्छन् अझै टाकुरा ।
कोही दुष्ट दुसाध राक्षस बनी, हिँड्छन् उदाई छुरा ॥४
राम्रा मानिस बस्दछन् हृदयमा, हाम्रा दुवै नेत्रमा।
जाली भ्रष्ट खराबले मगजमा, रोप्छन् घृणा व्यर्थमा ॥
रुन्छन् लास अगाडि नाटक रची, मुर्दा उठ्योझैँ गरी ।
कैँचीमार बनेर मानिस हिँडे, दिन्छन् निया श्रीहरि ॥५
कोही नैतिक नीतिको बध गरी, संस्कार सिद्ध्याउँछन् ।
कोही मानिस जीर्ण निम्न जनका, अस्तित्व भत्काउँछन् ॥
कोही काल अकाल टार्दछु भनी, बन्छन् कृपाचार्यझैँ ।
कोही मानिस देवलोकतिरको, ठान्छन् उनै इन्द्रझैँ ॥६
कोही अक्कल बुद्धि हैसियतले, घोडा चढी घुम्दछन् ।
कोही मानिस छन् नशा कुलतमा, सङ्कष्टमा फस्दछन् ॥
के सक्ला र अभाव थेग्न नुनको, मोती हिरा स्वर्णले ।
मान्छेका गुण दोष बोक्छ कसरी, बाख्रा खसी गोरुले ॥७
०००
बट्टार, नुवाकोट । हालः बालाजु, काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest







































