साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म कागती

म कागती उर्फ नेपाली जनता डाँका डाल्नेहरूलाई काँडाको हतियारले घोच्न सक्दिनँ बरू जुन हातले गिलगिल्याउँछन् तिनै हातलाई बास्नादार बनाउँछु ।

Nepal Telecom ad

विष्णुप्रसाद आचार्य ‘अतृप्त’ :

सानो, तिख्खर र बास्नादार छु
चिल्लो, कसिलो र रसिलो छु
म कागती; सबैको प्यारो छु ।

चिया पाक्यो कि म सम्झिइन्छु
अचार साँध्यो कि म सम्झिइन्छु
मेरा सहोदर सिट्रस-गोत्रीय दाजुहरू – निबुवा र भोगटे
अड्कोपड्को काम त चलाउँछन्
तर, किन हो कुन्नि; म नै रोजिन्छु ।

म यति प्यारो छु कि
हरियोबाट पहेँलो हुन नभ्याउँदै
भान्साको स्कुसले मलाई माग्छ
होटलको मेनु मैतिर आँखा ताक्छ
अरू त अरू
भटमास र पिनटलाई पनि म नभई हुँदैन
यतिबिघ्न जिद्दी गर्छन् कि
म ‘पूरा आयु नबाँची अस्ताउँदिनँ’ भन्न पाउँदिनँ
म ‘गमलामा त फस्टाउँदिनँ’ भन्न पाउँदिनँ

यी बाह्रमासे मान्छेहरूले
मलाई पनि बाह्रमासे बनाएरै छाडे
मैले ‘मौसम कुरेर फल्छु’ भन्न पाउँदिनँ
मैले ‘आफैँ पाकेर गल्छु’ भन्न पाउँदिनँ
दाना रोपे दानाबाटै आँकुरा हाल्नुपर्छ
कलमी काटे हाँगामै जरा उमार्नुपर्छ
ठूलाको मर्जीको अगाडि
सानाको अर्जी कसले सुन्छ र आखिर !

टिप्छन्
गिलगिल्याउँछन्
काट्छन्
निचोर्छन्
आँखा चिम्लेर स्वादको परख गर्छन्
श्वासले खिचेर फोक्सोमा सुवास भर्छन्
गुनिलो छु र महिमामण्डित पनि छु
शायद, त्यसैले
म कागती; सबैको प्यारो छु ।

कहिलेकाहीँ त सोच्छु-
मलाई गिलगिल्याउने यी मान्छे पनि
अरू कसैको मुठ्ठीमा गिजोलिएका होलान् ।

मलाई निचोर्नेहरू पनि
कोही कसैबाट चिथोरिएका होलान् !
यसकारण कि
परपीडन सहेकाहरू नै त
परपीडन-रतिमा रमाउन सक्छन् आखिर !

म कागती
उर्फ
नेपाली जनता
डाँका डाल्नेहरूलाई
काँडाको हतियारले घोच्न सक्दिनँ
बरू
जुन हातले गिलगिल्याउँछन्
तिनै हातलाई बास्नादार बनाउँछु
‘बाँच्न पाउने’ कागतीय अधिकारको बलि चढाएर
‘खान पाउने’ मानव-अधिकारको पक्षपोषण गर्छु ।

०००
नुवाकोट, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति थोक पो सम्झनु र खै !

कति थोक पो सम्झनु...

विष्णुप्रसाद आचार्य
जागिर गरेरै बसिस् ?

जागिर गरेरै बसिस् ?

विष्णुप्रसाद आचार्य
मूर्तिको मैमत्याइँ

मूर्तिको मैमत्याइँ

विष्णुप्रसाद आचार्य
कसुर

कसुर

विष्णुप्रसाद आचार्य
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x