माधव पोखरेल गोज्याङ्ग्रेनाङ्गो भो सरकार
बुच्चोमा इतिहास देख्छ किन हो ? चुच्चो हटाए पछि आफ्नै ताल कुचालमा बहकिने तर्सिन्छ आफैँ पछि कानूनी बकवास गर्छ उसले आफैँ छ अन्धो अति बठ्याँई कति गर्छ लुब्ध पदको गर्दैन सोचे जति ।

माधव पोखरेल गोज्याङ्ग्रे :
नाङ्गो भो सरकार छैन कपडा खै लाज छोप्ने कुरा
लाग्यो यो सरकार कैफियतमा सेतै फुलेका भुरा
खै कस्तो सरकार हो मुलुकमा कानून जान्ने सबै
देख्दै छौ बकवासमा ढलिमली मिथ्या मिचाहा सबै ।
योद्धाको सरकार हो यदि भने योद्धा सबै स्वर्गमा
योद्धाको सपना लुटेर जहिले बस्छन् यिनी खर्कमा
योद्धाको वद्नाम भो मुलुकमा भन्छन् तिनै माकुरा
अग्लो मानिस बस्छ बुझ्छ यि कुरा खोज्दैन त्यो टाकुरा ।
कुर्सीको महिमा बुझौँ सबकुरा विज्ञान बोल्दैन है
बुझ्नूँ पर्दछ काल औ समयको खेला यहीँ चल्छ है
सेतो बुद्धि विवेक छैन कि न हो ? सत्ता भए पुग्छ के
खोक्रा भाषण मात्र आज पनि यो भोगेर पो हुन्छ के ?
साझा देश सबै समाज विचमा साझा गरेको कहाँ
भित्रैभित्र भएछ घात थरिका मान्छे बिगार्ने यहाँ
मन्त्री गोबर बन्छ घाँस मुखमा कोचेर बोल्दै छ ऊ
नौलो रात देखाउन मुलुकमा अंगार खाँदै छ ऊ ।
बुच्चोमा इतिहास देख्छ किन हो ? चुच्चो हटाए पछि
आफ्नै ताल कुचालमा बहकिने तर्सिन्छ आफैँ पछि
कानूनी बकवास गर्छ उसले आफैँ छ अन्धो अति
बठ्याँई कति गर्छ लुब्ध पदको गर्दैन सोचे जति ।
नाङ्गो आङ लिएर छोप्छ उसले आँखा दुबै हातले
लज्जाको गतिमा बिगार्छ मति नै छाड्छन सबै साथले
गोरो वर्ण हुँ भन्छ लाज नहुने गर्दै छ कालो कुरा
जालो बुन्छ अनेक रूप सरिका लाग्दै छ ऊ माकुरा ।
०००
गाईघाट, उदयपुर








































बधाई छ।