पिँडालु पण्डितप्यारो जनतन्त्र
जुम्रा देख्छु अरुकोमा जति साना पनि
देख्दिन म हात्ती नै होस् आफ्नू छातीमुनि ।।
कस्तो बानी बस्यो–बस्यो परपीडा रोज्ने
आफ्ना लागि प्रशंसाको मात्रै भारी खोज्ने ।।१।।
साँच्चै मान्छे हँु नि म त आफ्नै लागि सोच्छु
आफू बने सबै बन्छ सधैं त्यही सोच्छु ।।
देश मेरो मात्र हो र ! मैले बनाउनू ?
यस्तै लाग्छ मलाई त किन कराउनू ।।२।।
उः जुनीको वकुल्लो म यो जुनीको मान्छे
स्वभाव छ वकुल्लैको रुप मात्र मान्छे ।।
घिउ पनि कोट्टिँदैन सोझो औंलो गर्दा
बुझेको छु भलिभाँती आफ्नो लागि पर्दा ।।३।।
कस्ता मान्छे कस्ता कुरा खान्छन् बुझेको छु
चारो हाल्छु त्यसै गरी जस्तो बुझेको छु ।।
चिप्लेकिरा पनि खस्रा हुन्छन् मेरा अघि
रत पछि लाग्छन् अरु आफू सधैं अघि ।।४।।
आस–त्रास दुवै मेरा हत्केलाका खेल
काम हुनुपर्छ आफ्नो जान्दिन म झेल ।।
आदर्श हो यही मेरो यही गुरूमन्त्र
यसैलाई ठानेको छु प्यारो जनतन्त्र ।।५।।
Subscribe
Login
0 Comments
Oldest







































