सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अविरलमा आनन्देव भट्ट

Nepal Telecom ad

राष्ट्रिय जन सांस्कृतिक महासङ्घ र जन साहित्यिक मञ्च, नेपालको संयुक्त आयोजनामा आरम्भ भएको रूपमा ‘अविरल जन साहित्य यात्रा को दोस्रो शृङ्खला गत शुक्रबार राजधानीमा सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार यो कार्यक्रम राष्ट्रिय जनसाँस्कृतिक महासङ्घको सभाकक्षमा आयोजना हुने गरेको छ । अभियानको दोस्रो शृङ्खलामा वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् विख्यात समालोचक आनन्ददेव भट्टलाई प्रस्तुत गरिएको थियो । समारोहमा महासङ्घका उपाध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरी, प्राज्ञ रामकृष्ण दुवाल, समालोचक एवम् प्राध्यापक सुशीला भट्ट, महासङ्घको केन्द्रीय अनुशासन आयोगका सदस्य खेम नेपाली, समालोचक हेमनाथ पौडेल उपस्थित हुनु हुन्थ्यो ।

आरम्भमा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै राष्ट्रिय जन सांस्कृतिक महासङ्घका उपाध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरीले स्रष्टाहरूका बिचमा हार्दिकता बढाउने, नयाँ पुराना स्रष्टालाई एकै ठाउँमा भेला गरी पुरानाबाट नयाँले सिक्ने अवसर दिलाउँने, इतिहासको सम्मान गर्ने उद्देश्यले थालनी गरिएको बताउनुभयो । उहाँले सङ्घर्षशील एवम् जुझारु व्यक्तित्व आनन्ददेव भटट् जस्ता अग्रजले सिर्जना गरेका कविता र तिनले गरेको युगबोध समेत प्रतिविम्बन हुने कविता वाचन गरी नयाँ पुस्तालाई ऊर्जा प्रदान गर्ने सन्दर्भमा यो विशेष समारोहको आयोजना भएको जानकारी दिनु भयो ।

जन साहित्यिक मञ्च, नेपाल, काव्य विभागकी संयोजक डा.विन्दु शर्माले आनन्ददेव भट्टको साहित्यिक व्यक्तित्वमाथि चर्चा गर्दै २०१३ सालदेखि कविता लेख्न थाल्नु भएका भट्टले २०१९ सालसम्म प्रमुख रूपमा ९ ओटा कविता काव्य लेख्नु भएको बताउनुभयो । निबन्ध पनि लेख्नु भएको र त्यसपछि भने उहाँ विशेष गरी समालोचनातर्फ आकर्षित हुनु भएको, निवार्ता लेखन प्रारम्भ गरी नवीन लेखनको थालनी गर्नु भएको, समकालीन सामाजिक विषयको उठान र रूपान्तरणको आग्रह, उदात्त चिन्तन, प्रगतिशील स्रष्टाको खोजी गरी उनीहरूको व्यक्तित्व उजागर गरि दिने सत्कार्यको थालनी, माक्र्सवादी अवधारणा अनुरूपको स्पष्ट वैचारिकता, विचार र भावको सन्दर संयोजन आफ्ना रचनामा गर्न सक्नु उहाँका विशेषता पाइएको धारणा डा. बिन्दु शर्माले राख्नु भएको थियो ।

विशेष समारोहमा आनन्ददेव भट्टले राष्ट्रिय जन सांस्कृतिक महासङ्घ र जन साहित्यिक मञ्च, नेपालको आयोजनामा सम्पन्न हुने गरेको यो अभियानको दोस्रो शृङ्खलामा नै आफूलाई छनोट गरी अवसर प्रदान गरिएकोमा खुसी प्रकट गर्दै आफ्ना कविता सिर्जना प्रस्तुत गर्नुभयो । २०१४ सालमा लेखिएको ‘विचित्र’ शीर्षकको कविता, २०१५ सालमा लेखेर सोही वर्ष प्रकाशित गुराँस कविता सङ्ग्रहमा समाविष्ट ‘दृढ विश्वास’, ‘तैयारी’ र ‘त्यौहार’ गरी चार ओटा कविता वाचन गर्नु भयो ।

समारोहमा आनन्ददेव भट्टका अन्य आठ ओटा कविताहरूलाई क्रमशः ‘जानु भएकी आमालाई’ शीर्षक कविता विप्लव ढकालले, ‘गल्लीकी तिनी’ शीर्षकको कविता आनन्दराम पौडेलले, ‘बेकार नेताजी’ शीर्षकको कविता अनिल पौडेलले, ‘युरी एलेक्सेबिच ग्यागरिन खण्डकाव्यबाट एक अंश रमेश पोखरेलले, ‘माग पुरा भयो’ शीर्षकको कविता आर.एम.डङ्गोलले प्रस्तुत गर्नु भएको थियो । त्यसै गरी भागवत आचार्यले ‘आमा बोलाउँछिन्’ शीर्षकको कविता, जयन्ता पोखरेलले ‘हतास नारी’ शीर्षकको कविता र यशोदा अधिकारीले ‘आजै जन्मेको बालकप्रति’ शीर्षकको कविता वाचन गर्दे भटटलाई साथ दिनुभएको थियो ।

वाचित एक दर्जन कविता र आनन्ददेव भट्टको व्यक्तित्वमा सहप्रा. एवम् समालोचक हेमनाथ पौडेलले टिप्पणी गर्नु हुँदै निरङ्कुश पञ्चायती सत्ताभन्दा अगाडिको कालखण्ड र पञ्चायती व्यवस्था लादेको अवस्थामा, भरखरै नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको अवस्थामा नेपाली प्रगतिवादी कविता परम्परामा आनन्ददेव भट्ट आधार स्तम्भका रूपमा रहनु भएको बताउनु भयो । उहाँले अग्रज कवि भट्ट जिउँदो जाग्दो व्यक्तित्वका रूपमा स्थापित भइ सक्नु भएको र जहिल्यै पनि आफूलाई सङ्घर्षका पक्षमा उभ्याउनु भएको उल्लेख गर्दै भट्ट विचारमा अत्यन्त दृढ हुनुका साथै आफूले बोकेको विचारप्रति प्रतिवद्ध हुनुहुन्छ भन्नुभयो । क्रान्ति, समर्पण, त्याग, परिवर्तन, नारीप्रतिको सम्मान, सरलताका माध्यमबाट अत्यन्त गम्भीर भाव सम्प्रेषण गर्न सक्ने विलक्षण क्षमता भटट्मा रहेका तर्फ पौडेलले विशेष जोड दिनुभएको थियो । भट्टका कविता वैचारिक दृष्टिले पनि ज्यादै सशक्त रहेका पाइन्छन् र उहाँको निस्वार्थ जीवन पनि अनुकरणीय रहेको छ भन्ने चर्चा उहाँले गर्नु भयो ।

समारोहका प्रमुख अतिथि नेकपा एमाले संस्कृति विभाग प्रमुख वाचस्पती देवकोटाले आफूले भट्टजीलाई २०१४/१५ सालदेखि नै चिनेको बताउँदै निरन्तर रूपमा सङ्घर्ष र परिवर्तनका पक्षमा काम गर्ने, क्रान्तदर्शी कविका रूपमा आफूले उहाँलाई पाएको चर्चा गर्नुभयो ।

कार्यक्रम समापन गर्दै जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले २०१९ सालमा देख्तै नदेखी उहाँको व्यक्तित्वका बारेमा सुनेर उहाँलाई धरानमा चिठी लेखेको बताउनुभयो । भट्टकै प्रेरणाले आफू कम्युनिस्ट पार्टीप्रति आकर्षित भएको र उहाँको व्यक्तित्व ज्यादै प्रभावशाली पाएको संस्मरण गर्दै राम विनयले विशेष समारोहमा निमन्त्रणा स्विकार गरी आइ दिनु हुने सबैलाई हार्दिक धन्यवाद दिनुभएको थियो ।

–रमेश पोखरेल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad