डा. दामाेदर पुडासैनी किशाेरप्रश्नैप्रश्न
निस्तब्ध
मध्य रातमा
मेरो मनबाट
एक एक गर्दै
हराए आशा र उमङ्गहरू
आँखाबाट सपना
सपनाबाट कथा
र, कथाबाट हराएँ म
तर, कोही पनि खोज्न आएन मलाई ।
घरको मूलढोकामा उभिएका थिए
बलिया सालका रुखहरू
झ्यालमा सजिएका थिए
धातुका स्वस्थ मान्छेहरू
घरका मालिकहरू घरैमा हुँदाहुँदै
कसरी हरायो मेरो सर्टको खल्तीमा
प्रेमले लुकाएर राखेको जेबी पात्रोबाट
एउटा दिन ?
कसले काट्यो हावाभन्दा छिटो दौडने
मेरो घरभित्रको भित्ते घडीबाट समयको पखेटा ?
६०१ जना घरमा हुँदाहुँदै
चारैतिर द्वारपाल
बन्दुकको निसानी
र बलियो घेरा हुँदाहुँदै
चारैतिर
खबरदारीको लहर उर्लिंदा–उर्लिंदै
सबैको आँखा छलेर
कसले टिप्यो मबाट
मेरो मनको खुसी
कसले रुवायो आज मेरो
सपना देख्ने आँखा ?
कसले लुकायो
मेरो मुटुभन्दा प्यारो
बिहानीको उज्यालो क्षितिज ?
मेरो प्रश्न तिमीलाई
मेरो बाकसमा छोपेर राखेको
खुकुरीको धारबाट
कसले काट्यो मेरो शिर ?
मेरो ध्वजाबाट
कसले फुटायो चन्द्रसूर्य ?
घरभरि सबै हुँदाहुँदै
कसले खोस्यो मेरो गीत
मेरो ओठबाट ?
कसले च्यात्यो मेरो भेष
मेरो जीउबाट ?
किन तिमी मौन छौ ?
मेरो प्रश्नसामु
भनः
ती प्रेमका शब्दहरू
कसले लुकायो मेरो
सहमतिको किताबबाट ?
मलाई थाहा छ
घाम उदाएपछि
तिमी मसँग बोल्दैनौ !
हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































