विश्व विनोदनाकको प्वाल
उनी पेसाले पत्रकार, जुझारु पनि हुन्, पत्रकारिता पनि सुचारु छ, पुड्के पुड्के पत्रकारको लागि गिनिज बुक अफ बल्र्ड रेकर्डमा नाम लेखाउने हो भने उहाँ सबभन्दा पुड्कोको दर्जामा दाँजिन्थे होलान् । पुड्को हुनुको फाईदा धेरै हुन्छ, भिडभाडमा समाचार लेख्न सुत्त पस्न सक्नु र सङ्कलन गर्र्न सक्नु उनलाई निकै सजिलो हुन्छ । केबलकारमा पनि सजिलो हुन्छ उनलाई, उचाईकै कारणले भाडा तिर्न पर्दैन । गाडीमा फुच्चेको भाडा तिरे पुग्ने, हजाम कहाँ जाँदा कपाल काटेको पैसा फुच्चेको रेटमा पैसा तिरे पुग्ने वाह ! क्या बात् पुड्को हुनुको फाईदै फाईदा ।
पुड्को हुनुको फाईदा भए पनि उनलाई हाईटले साईत दिँदैन, कहिलेकाहीँ यसो सभा, सेमिनार, गोष्ठीमा भाग लिन गयो पाँच तल्ला माथिको मिटिङ हलमा पुग्न धौ धौ हुन्छ । स्वाँ स्वाँ फ्वाँ गर्दै पुग्यो अनि यस्सो कुर्सीमा उक्लेर अड्डा जमाउन खोज्यो कुर्सिमै उक्लन नसक्नु अर्को बिडम्बना हो, उनलाई कुर्सीमा उक्लन तेन्जिङ नोर्गेले सगरमाथा चढ्या झैं हुन्छ, सगरमाथा चढ्नेले सहयोगी लिएर उक्ले झैं उनलाई पनि कुर्सीमा चढ्न अर्को सहयोगीको आवश्यकता पर्दछ । बल्ल बल्ल कुर्सीमा चढ्यो पुड्को हुनुको लज्जाबोध लिएर मिटिङका कुरामा चाख लिन थाल्यो कुर्सी अगाडि महालङ्गुर पहाड झैं तेर्सिएको त्यो लाम्काने बाख्रो जस्तो टेबलले अर्को खलनायकको भूमिका खेल्छ अर्थात् उनको अगाडिको कुर्सीले उनको हाईटलाई फाईट गराउँदछ, छेक्दछ ।
पुड्के भए भनेर निर्जीव बस्तुले त कुरा बुझेनन् सजीव अर्थात् मानव भनाउँदाले पनि उन्लाई पटक पटक हेप्ने, चेप्ने गरेकै छन् । हैन, समाचार लेखनको पत्रकारिता लेखेर सबैबाट हेपिनु भन्दा त अब फोटो पत्रकारिता गरौं कि भनेर उनी तम्सिए । मेरी बास्सै फोटो पत्रकारिता गज्जबको हुँदो रहेछ । जमाना मोडेलको पनि रहेछ । एक दिन उनी एकजना अग्ली मोडेलको हट फोटो सेसन गर्दै रहेछन् । आफू परे बामपुड्के, मोडेल परिन् बाँसको लिङ्गो जत्रो, अझ छोटा कपडा लाएर आएकी ती मोडेलको फोटो सुट गराउँदा उनले त भवसागर नै देखेछन् । उनी कम्मर मर्काई मर्काई, जिउ फर्काई फर्काई कपाल लर्काई लर्काई पोज दिँदी रहिछिन् बिचरा बामपुड्के पत्रकार बन्धु त क्यामेरा तर्काई तर्काई फोटो खिच्दा रहेछन् । नत्र त खै के के हुने के के ?
आफू त अग्लो मान्छे, ती पत्रकार बन्धुले कस्तो फोटो खिच्छन् भन्ने जान्ने कौतुहुलता जाग्यो, उनलाई घरैमा खाना खाने निम्तो दिएर जिउ फुलाएर, टाउको धुलाएर गज्जबको तयारी गरेर बसियो । बिचरा तोकिएको समयभन्दा आधा घण्टा पछि लुखुर लुखुर गर्दै आए उनी । कुरा के भएछ भने साझा बसमा ओर्लने बेला बसको ढोका अग्लो भएको कारण साझा बसले उनले ओेर्लने बेला हुत्याई हालेछ अनि चक्रपथ एक फन्को मारेर त्यसै ठाउँ आई पुग्न फेरि एक घण्टा लागेको रहेछ ।
खाना खाईवरी फोटो सेसनको तयारी भयो, समस्या अति जटिल थियो । मलाई पुरा साईजको फोटो चाहिएको थियो तर उनको उचाईले मलाई अलिक धोका दियो । जति गरे पनि उनले मेरो पासपोर्ट साईजको बाहेक फोटो खिच्नै सकेनन् । म उभिउँ उनलाई मुडामा÷कुर्सीमा राख्नु पर्ने, तर फोटो लिनुछ पूरै शरीरको ! उफ् कसै गरे लिन सकिएन पूरै फोटो लिन । म जति उभिन्थें उनी भुईंबाट फोटो लिँदा मरी मरी हाँस्थे । म चाहिँ दायाँ बायाँ फर्की फर्की बिभिन्न आकार प्रकारका फोटो खिच्न भनेर हौसिन्थें । उनी झन् मरी मरी हाँस्थे । कारण के भा’को रहेछ भने उनले भुइँबाट मेरो फोटो लिँदा होचो भएकै कारणले अनुहारमा क्यामेराको फोकस पार्दा नाकको प्वाल बाहेक अरु केही खिच्न सकेका रहेनछन् । आखिर फोटो लिनु नै थियो, उनलाई दुईटा बाँसका लिङ्गा ठिङ्गो बनाएर बाँधेर अग्लो बनाएपछि बल्ल भने जस्तो फोटो निस्कियो । फोटो खिचे पश्चात् उनले होचो हुनुको पीडाबोध गर्दै थिए तर म सोचको कुरामा खोज गर्दै थिएँ । आज भोलि पनि भित्तामा झुण्डिएको त्यहि फोटोले उक्त सम्झना दिलाउँछ ।
आजकाल ती फोटो पत्रकार मन्त्रीज्युको पिए बनेर हिँडेका छन् । मलाई लाग्छ होचो भएकै कारण उनले कति जनाको नाकको प्वालको फोटो खिचेथे होलान् अनि आजकाल मन्त्रिज्यूको अघि पछि आउरे बाउरे धुपौरे भएर हिंड्दा कतिजनाको नाकको प्वालमा आँखा लगाए होलान् कुन्नि ! म जब जब टिभिमा मन्त्रीज्यूसँगै उनलाई देख्छु उनकै नाकको प्वाल हेर्न थाल्छु किनकि मेरो घरको टिभी अलिक अग्लोमा छ अनि म होचोमा बस्छु । जदौ ।
नुवाकोट
Subscribe
Login
0 Comments
Oldest









































