डा. गाउँले बलदेवनेपाल चार जात छत्तीस वर्णकै…
पौष २७ गते आउँदै छ । पृथ्वी नारायण शाह त्यसै दिनसँग जोडिएका छन् । पृथ्वीनारायण शाह लेख्दा पृथ्वी र नारायण जोडिन्थ्यो । अचेल पृथ्वी र नारायण किन फुट्यो ? भन्नेतिर लाग्नु मेरो प्राथमिक कार्य हुने छ । अनि ‘नेपाल चार वर्ण छत्तीस जातको फूलबारी’ हो कि ‘चार जात छत्तीस वर्णको फूलबारी हो ?’ भन्ने सम्बन्धमा स्पष्टीकरण दिनु मेरो कर्तव्य हो । पृथ्वी नारायण शाहको कुरा गर्दा मलाई राजावादी भएको आरोप आउन सक्छ । म राजतन्त्रको अन्त्य र लोकतन्त्रको प्रारम्भ हुनुपर्छ भनेर उन्नाइस दिन कलङ्की चोकमा टियर ग्याँस सुँघेर बसेको मान्छे हुँ । मूर्ख भएँ कि सज्जन भएँ, त्यो मलाई थाहा छैन । पृथ्वीनारायण शाह मूर्ख राजा थिए तर सज्जन शासक भए । यो चाहिँ मलाई थाहा छ । कीर्तिपुरेको नाक काटे कि काटेनन् । देखी जान्ने साक्षी अहिले छैनन् । सुनी जान्ने एक थरीका अनुसार पृथ्वी नारायण शाहले कीर्तिपुरे नागरिकको नाक काटेकै हुन् अरे ! यदि अरेकै कुरो सही हो भने पृथ्वीनारायण शाह मूर्ख राजा थिए । एक जना जैसी बाहुन षड्यन्त्रकारी भयो अरे भन्दैमा भएभरका सबै जैसी बाजेहरूको कर्मकाण्डी पेसा नै हरण गरिदिए । त्यसपछि शरण परेका कतिपय जैसीलाई दान दिएर झोली पनि भरिदिए । उनी सनकी थिए । तर विभिन्न टुक्रामा विभाजित नेपाललाई एउटै विशाल राष्ट्र उनैको नेतृत्वमा बन्यो । यस अर्थमा उनी सचेत, सशक्त र सज्जन शासक थिए ।
पहिलो कुरो पृथ्वीनारायण शाह अचेल पृथ्वी नारायण शाह किन बनाइए ? भन्ने जिज्ञासाको उपचार गरूँ । यो काम कीर्तिपुरबाटै आरम्भ भएको हो । कीर्तिपुरमा रहेको त्रिभुवन विश्व विद्यालय अन्तर्गत नेपाली केन्द्रीय विभागले कीर्तिपुर वासीलाई प्रसन्न पार्न यसो गरेका होलान् । ‘पृथ्वीनारायण’ पदयोग हो भने ‘पृथ्वी नारायण’ चाहिँ पद वियोग हो । राजतन्त्र गएपछि यस्तो हुन थालेको हो । राजतन्त्र छउन्जेल कीर्तिपुरे विद्वान्हरू कट्टुमा सुसु गर्थे । २०५७ मा वर्णविन्याससम्बन्धी गोष्ठी भएको थियो । आयोजक चाहिँ उति बेलाको ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’ थियो । आगन्तुक शब्दको तालव्य ‘श’लाई दन्त्य ‘स’ बनाउने कुरो उठ्यो । यसो गर्दा ‘शहीद’लाई ‘सहिद’ अनि ‘शाह’लाई ‘साह’ बनाउनुपथ्र्यो । कीर्तिपुरे विद्वान्हरूले ‘शहीद’लाई ‘सहिद’ बनाउने अनि ‘शाह’लाई चाहिँ ‘शाह’ नै बनाइराख्ने तर्क पारित गराउन लागे । म पनि त्यस गोष्ठीको सहभागीमध्येको एक जना थिएँ । अनि मैले आपत्ति प्रकट गर्दै भनेँ–शहीद अहिले छैनन् त्यसैले तिनलाई जे गरे पनि हुन्छ अनि शाह चाहिँ सशक्त शासक हुन् त्यसैले तिनीसँग हामी डरायौँ ? मेरो यो प्रश्नलाई कान्तिपुर दैनिक र अन्य पत्रिकाहरूले पनि निकै महत्वका साथ समाचारको विषय बनाए । म काग जतिसुकै कराए पनि कीर्तिपुरको डाँडामा पिना सुक्यो ।
गणतन्त्र आउनेबित्तिकै कीर्तिपुरका महागुरुहरूले कीर्तिपुरेको नाक काटिदिने राजाको नामै काटिदिए । आयो कुरो, ‘नेपाल चार वर्ण छत्तीस जातको पूmलबारी हो’ नभनेर पृथ्वी नारायण शाहले ‘नेपाल चार जात छत्तीस वर्णको पूmलबारी हो’ किन भने ? ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र यी चार वर्ण हुन् । यसकारण यो तर्क सही हो । वास्तवमा चार जातको अर्थ उद्भिज (जमिनबाट जन्मने बोट बिरुवा आदि प्राणी), श्वेदज (पसिना आदि विकारबाट जन्मने प्राणी), अण्डज (अण्डबाट जन्मने चरा आदि प्राणी) तथा जरायुज (सालनालबाट जन्मने प्राणी) यी चार जात हुन् । छत्तीस वर्ण भनेर ‘क’देखि ‘ज्ञ’सम्मका छत्तीस वटा व्यञ्जन वर्णलाई भनिएको हो । उनको यो भनाइ साङ्केतिक हो । लेख्य नेपाली भाषाले नै नेपाल जोगाउँछ भन्ने विश्वास उनलाई थियो । पृथ्वी नारायण शाह मूर्ख राजा थिए भन्नेमा एक मत म पनि थपिदिउँदला । तर पृथ्वीनारायण शाह विद्वान्को सल्लाहले मात्र बोल्थे । बहुलाएर बोल्दैनथे । उनीप्रतिको विश्वास फेर्न चाहिँ मेरो आत्माले मानेको छैन ।
नैकाप, कठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































