देव भट्टराईसन्दर्भ कविता– आमा
हे आमा कति कष्टसाथ महिनौं राखेर त्यो गर्भमा
मेरो जन्म दियौ र मानव बनी आएँ म भू स्वर्गमा
पेटैमा कति दुःखले जतनले राख्यौ मलाई हकि !
हे आमा कति धन्य छौ कति अहो मेरो दियौ जिन्दगी !
जाडोमा कर लाइलाइ कपडा दिन्थ्यौ लगाई तिमी
भोकै हुन्छु भनेर बाहु–बलले दिन्थ्यौ खुवाई तिमी
हुर्कायौ कति गर्वले रहरले कस्तो पियारो गरी
राख्यौ हर्दम काखमा हृदयमा वात्सल्य माया भरी ।
मैंले बोल्न सिकें जसै कनिकुथी ‘आमा’ र ‘बाबा’ भनी
आमा बा पछि नै सिकेँ जति सिकेँ सिक्दैछु ऐले पनि
मीठो बोल्न सिकेँ तिमीसित मिठो पापा कि पापा भनी
राम्रो बोल्न सिकेँ तिमीसित सधैं नाना कि नाना भनी ।
जे बोले पनि त्यो सुनेर जननी मख्खै तिमी पर्दथ्यौ
आफ्ना मित्र छिमेकका घर गई मेरै कुरा गर्दथ्यौ
हाँस्थ्यौ हाँस्न सिकाउँथ्यौ र त अझै हाँसीरहेको छु म
तिम्रै स्नेह र प्यारले त जननी बाँचीरहेको छु म ।
सानोमा नुनु गर्दथेँ बुबु चुसी आनन्द मानीकन
तिम्रै काख बसेर रातदिन नै हुर्क्यो बढ्यो जीवन
मैंले हिंड्न सिकें तिमीसित जसै छोडेर टाढा गएँ
निस्वार्थी जननी भए पनि म ता स्वार्थी घमण्डी भएँ ।
ऐले सात समुन्द्रपारि छु यता भैरा’छ बिर्से सरि
फोटोमा मुख हेर्छु दूर छु भलै बिर्सन्न कस्तै गरी
के त्यस्तो उपहार हुन्छ र दिऊँ आमा तिमीलाइ म ?
बिन्ती गर्छु मलाइ माफ गर है यै शब्द अर्पन्छु म ।
दुधपोखरी, लम्जुङ हाल : अमेरिका
Subscribe
Login
0 Comments
Oldest







































