नरनाथ लुइँटेलसन्दर्भ कविता– आमा !
मेरो निम्ति कति प्यारो मायालु छ काख
अगाध ती स्नेहका केस्रा लाख–लाख
उनीसँगै बोल्न सिकेँ भाषा मेरी आमा
मलाई विश्व देखाउने धर्ती मेरी आमा !
यातना र पीडाहरू मेरै निम्ति सारा
म हुर्किने माया मैले चुसेँ दस–धारा
छैन कुनै चाह अनि स्वार्थ बदलामा
कस्तो हो यो, समर्पण मात्र त्याग आमा !
ख्याल औधी, फोहरमा बस्ने हो कि कतै
डर कस्तो, डिलबाट खस्ने हो कि कतै
रुन थाल्यो मेरो बाबु “भोक लाग्यो आमा”
निरन्तर माया पोखी बग्ने खोला आमा !
खोकिलामा चेपी कैले सुम्सुम्याइ गाला
जाडो छल्न च्याती आफ्नै फरियाका टाला
यौटा जीवन बचाउन लाख लाख धामा
वाक्य फुट्यो, मैले बोलेँ पैलो शब्द आमा !
जति सुन्यो, सुनिरहुँ मेटिँदैन धित
मनै छुने मुरली र बाँसुरीको गीत
सारङ्गीको रयाइँ जस्तै स्वर मुच्र्छनामा
धून, स्वर शब्द सवै, सङ्गम हुन् आमा !
निधारमा पुछिदिने बुँद पसिनामा
शीतलता बर्साउने शितैशीत आमा
हित आमा, गीत आमा, जीत पनि आमा
मेरो मुटुभित्र चल्ने ढक्ढुकी हुन् आमा !
सपना र विपनालाई जोड्ने यौटा पोयो
फराक छ छाति उन्को केन्द्रविन्दु मियो
शाखा सबै बराबरी जोड एकतामा
माटो भन्नु मुटु भन्नु देश मेरी आमा !
ताप्न पाइने सधैँसधै चेतनाको घाम
दुनियाँको सबै भन्दा प्यारो त्यही नाम
अथाह त्यो प्यार खोपी आफ्नै कलेजामा
जुनीभरी नबिर्सने सपना हुन् आमा !
आमा छेउ बस्न पाए हुन्थ्यो जुनी–जुनी
यौटा ठूलो वृक्ष आमा उन्कै छाया मुनि
उन्कै गाथा उन्कै व्यथा बोलेँ कवितामा
पङ्क्तिभित्र भाव–लहर कविता हुन् आमा !
जति पियो नमेटिने आमा तिर्सना हुन्
जीवनकी स्रष्टा अनि आमा सिर्जना हुन्
कुँदिएको मेरो विश्व तिम्रै खोकिलामा
संसार यो रित्तो हुन्छ तिमी बिना आमा !
४ भदौ २०६६
Subscribe
Login
0 Comments
Oldest







































