साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के तपाईं काठमाडैाँ बासी नहुने ?

Nepal Telecom ad

आउनोस् ! आजकाल बासी हुन लायक छ यो काठमाडौं । कसैले तपाईंलाई उपत्यकामा बोलायो भने किन, कहाँ, केका निम्ति ? जस्ता कुनै पनि प्रश्न नगरी खुरूक्क झिटीगुन्टा काँधमा हालेर काठमाडौँतिर लागे हुन्छ । पाखापखेराका गाउँ र जिल्लाका मूलको पानी, कुलको बस्ती, ताजा फलफूल खाई रातोपिरो भएर मात्र के हुन्छ र ध्वनिले बहिरो, धुवाँले हिरो हुन आउनोस् काठमाडौँ । यहाँ बस्नलायकका ठाउँहरू अझै छन् । सबै जमिन पिच भैसके, पिच्च गर्ने ठाउँ पनि छैन भन्नुपर्दैन । दुई रुपियाँ तिरे थुक्न, पाँच तिरे पिसाब फेर्न, दस तिरे दिसा अनि एक हजार तिरे निसाफ समेत एक पटकलाई साफ गर्न पाइन्छ, पाल्नोस् पाशुपत्क्षेत्र । धेरै महँगो पनि छैन । यो काठमाडौँमा करापेर, कैँचेमा पारेर र कर लादेर लाद्रो भर्नेहरूलाई त कस्तोनकस्तोे सस्तो जस्तो छ ।

सडक पार्क गाडीनै गाडीले भरिए पनि भीडभाडको पेटीबाट अझै हिँड्न सकिँदैछ । बरु बस्दै आउनुहुन्छ भने पिउन र जिउनका लागि त्रिशुलीको चिसो मीठो पानी चाहिँ ल्याउन नभुल्नु होला । गाडीलाई मात्र हो जमिन धेरै चाहिने । मान्छेलाई त यिनै घरका चोटा थपे पनि अझै लाखौँलाख जनता अट्न सक्छन्, यो महानगर अर्थात् यो महासागरमा । यो त्यति फोहोर पनि छैन । दिनको दुईचार सय टन फोहोरमैला त पथिकका खुट्टा–जुत्ताले नै चेपचाप र छोपछाप पार्न सकेका छन् । दुई नम्बरीलाई त महँगीको बोर पनि छैन । हामीलाई सत्तरी पैसाले सातु, सत्तरी रुपियाँले सप्यार्क र सत्तरी हजारले सोल्टीमा सहबास सजिलै गरी पाइन्छ, एकरातलाई । कमाउनेका लागि काठमाडौँ सस्तो पनि छ ।

इच्छा भए आफ्नो स्तर तोकेर छिटै आउनोस् । पछि त भाउ बृद्धि पनि हुनसक्छ । काठमाडौँ छिर्ने घाँटी धादिङ नै हो । अन्तबाट रित्तै आउनु भएको छ भने धादिङ झरेर त्रिशुलीको माछा, अन्न, जल र फल लिएर मात्र आउनोस् । डोकामा पैसा पोकामा सामान बोकेर आइसकेपछि बास मात्र त हो नि जहाँ भए पनि खाँदखुँद गरेर बसौँला, खाऔँला । फेरि भन्छु, काठमाडौँ आउँदा खानेपानी चाहिँ ल्याउन नभुल्नुहोला ।

धान फल्ने खेत धक्याएर, मास फल्ने बारी मासेर, कसैलाई मोसेर, कसैलाई पोसेर, चौटा खान होइन झोलमा डुबुल्की मार्न आउनुहोस् । तपाइँ यो महानगरमा बस्ती बसाउन ट्याक्स र बहालमा मात्र पैसा फसाउन आउन खोज्नु भएको हो भने आनेकाने कुरो नगरी पाल्नोस् । चौध अञ्चल पचहत्तर जिल्ला काठमाडौँ ओइरिसक्यो । उता रामनगर, श्रीनगर, बिराटनगर, अमृतनगर, भुसनगर, जुसनगरदेखि बगर र सगरसम्मका काले, कुइते र खुइतेसम्म महानगरमा बिभिन्न पाटीहरू एउटै पाटीमा मिसिए झैँ आएर मिसिइसके, आउनोस् तपाइँ पनि यही महानगरमा । नदी सुकेको, चोर लुकेको देख्न पाउनुहुन्छ तर बोल्न पाउनुहुन्न । भोग्न होइन भोकाउन, मोटाउन होइन, रोगाउन, तपाइँलाई बसोबासकै लागि स्वाङ् पारेर स्वागत गर्छ काठमाडौँ । कस्ताकस्ता कष्टानुभूति गर्न पाइने ठाउँ हो यो कामनपा सहर ।

धादिङसँग मेरो मन–मष्तिस्क र मुटुसँगको नातो भएकोले त्यहाँका प्रत्येक गाउँगाउँमा फलेका फलफूल अन्न र अन्य खाद्यपदार्थको स्वाद मेरो जिब्रोमा टाँसिइरहेको छ । धादिङे साथीहरूलाई विशेष अनुरोध गर्दछु । काठमाडौँ आउँदा स्यादुलको सुन्तला, धुनिबेसीको अम्बा र उखु, त्रिशुली मलेखुको माछा, सल्यानटारको मास मात्र होइन, गाउँगाउँका फलफूल, खोलाखेतको मसिनो चामल, स्याउ, नास्पाती, केरा, आलु, काउली, सागसब्जी यावत् भोज्य पदार्थको भकारी लिएर बास मात्र बस्नका लागि चाहिँ पाल्नोस् यो महानरकमा । बस्न चाहिँ यहाँ बसौँ, मूलको पानी, कुलको बस्ती, स्वच्छ वातावरण जेछ त्यहाँ नै छ । स्वाद र संझना चाहिँ त्यहाँकै गरौँ बस्नचाहिँ यही महानरकमा बसौँ, पाल्नुहोस् काठमाडौँ । हावा र प्रकाश छिर्न नपाउने कोठा, ढल नढल्कने सिँढी र छिँडी त्यति महगिई सकेका पनि छैनन् ।

अँ, यहाँ आउनुभन्दा पहिले तपाइँले बुझ्नुपर्ने कुरो के छ भने यहाँ अत्यन्तै अनुशासन छ । दैनिक उपभोग्यका जुनसुकै मालसामान किन्नुपर्दा पनि घन्टौँ लाइनमा बस्नुचाहिँ यहाँको नियति नै बनेको छ ! भोको बस्ने बानी कत्तिको प¥या छ ? यहाँ त समय–समयमा ग्याँस बन्द, मट्टीतेल बन्द, उपत्यका बन्द, जिल्ला बन्द जस्ता बन्दले प्राणै पनि बन्द हुन बेर लाग्दैन । विचार गर्नोस् । यस्ता खान, डुल्न नपाइने बेढङ्गे खालका उपत्यका एकादसी, हडताल द्वादसी क्रान्ति त्रयोदसी, अँध्यारो औँशी, कहालीलाग्दो कालरात्रि जस्ता बेपञ्चाङ्गे तिथि बेथितिसँग महिनामा पाँच–सात पटक पनि पर्न सक्छन् । त्यसबाट पर्नआउने भोक, रोेग र शोकको शान्तिसुरक्षा आफैँले गर्नु पर्नेछ ।

यो उपत्यका अरू अधित्यका भन्दा भिन्दै प्रकृतिको छ । यहाँका नदीनाला पुलपुलेसा बिल्कुल बेग्लै किसिमका छन् । बागमती, विष्णुमती ढलमती भएका छन् । खोलामुनिको पुल सडकमाथि पुगेको छ । महान् ठाउँको महानताले अत्याधुनिकतामा पुर्याउँदा यहाँका सभ्य भनाउँदाले आँखामा लगाउने चस्मा टाउकामा लगाउन थालेका छन् । मान्छेका अङ्ग, रूपरङ्ग, रङ्गढङ्ग हेरेर भाले र पोथी बूढी र थोती कसैले चिन्न सक्ने अवस्था छैन । तर यहाँको समाज निकै अघि बढिसकेको हुनाले पोथी बास्या र थोती हाँस्या सुहाएन भन्न चाहिँ पाउनुहुने छैन । भोको बस्न, रुन र बोल्न पाउने अधिकार यहाँ तपाइँ आए पनि सुरक्षितै हुन्छ । सङ्गत र सङ्गति भन्दा विसङ्गत र बिसङ्गतिकै बाहुल्य बढेको उपत्यका हेर्न मात्र होइन बस्नेगरी नै पाल्नुहोस् काठमाडौँ । पूर्वाञ्चल, पश्चिमाञ्चल, उत्तराञ्चल र हिमाञ्चलका सबै साथीहरूलाई सुख–सुविधाको सुन्दर सहर काठमाडौँ पाल्नुहोस् भनेर अनुरोध गरेको छु । चौटा खान होइन, झोलमा डुब्न यो महानरक माफ गर्नोस् महानगर पाल्नुहोस् ।

हलो जोतेर, भित्तो पोतेर, खेती गरेर, पेट भरेर किन शतायु हुनुहुन्छ ? बिनापैसामा धुवाँ र धुलो खाएर अल्पायु हुन आउनुहोस् न क्या काठमाडौँ । हामी मात्र वायु बढाएर आयु घटाएर कति बस्ने यो धुम्रकेतु जस्तो काठमाडौँमा । तपाइँ पनि छिटै आउनुहोस् काठमाडौँ । अजिङ्गरले झैँ मुख बाएर बसोबासकै लागि तपाइँलाई स्वागत गर्दैछ यो काठमाडौँ, छिटै आउनुहोस् । तपाइँ यो सुन्दर शान्त विशाल महानगर काठमाडौँमा ।

जिल्ला–जिल्लाका अन्न, जल–फलका स्वाद संझौँला, शहरका धुवाँ र धुलो खाऔँला । हतपतमा आउनुहोस्, फुर्सदमा पछुताऔँला । स्वागत छ, पाल्नुहोस् यो अरिङ्गालको गोलो जस्तो महानगर हो कि महानरक जस्तो काठमाडौँ ।

काठमाडौँ
‘फित्कौली’ अङ्क ३ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टाउकाकै खेल, टाउके नै खेलाडी !

टाउकाकै खेल, टाउके नै...

घिमिरे ‘मैदेली’
धन्य नेता नेपालका !

धन्य नेता नेपालका !

घिमिरे ‘मैदेली’
सुशासन कि घुशासन ?

सुशासन कि घुशासन ?

घिमिरे ‘मैदेली’
कुर्सी, कमिसन र प्रशासन

कुर्सी, कमिसन र प्रशासन

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x