सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मदनको सम्झनामा ‘साहित्य सन्ध्या’

Nepal Telecom ad

साहित्य सन्ध्याको ३३८ औँ कार्यक्रम जेठ ३ गते शनिवार राजधानीमा ‘मदन भण्डारीको सम्झनामा विशेष गोष्ठी’का रूपमा सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सदस्य भागवत आचार्यको सञ्चालनमा सम्पन्न विशेष गोष्ठीमा अतिथिका रूपमा झपाका के.पी ढकाल, क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिव मणि थापा, वरिष्ठ कवि जगन्नाथ आचार्य, साहित्यकार एवम् सभासद् शान्ता मानवी, वरिष्ठ कवि रामबहादुर थापा, पोषरमण चापागाईँ र सन्ध्याका सल्लाहकार वासुदेव अधिकारी उपस्थित हुनु हुन्थ्यो ।

मदन भण्डारीका समकालीन कवि जगन्नाथ आचार्यले बनारसमा सँगै काम गर्दा अनुभूत गरेका साहित्यकार मदन भण्डारीका छन्दमा लेखिएका केही कविता वाचन गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । जननेता तथा सशक्त कवि मदन भण्डारी, हालै दिवङ्गत हुनु भएका नेपाली लोक साहित्यका विद्वान कृष्णप्रसाद पराजुली र राष्ट्रवादी साहित्यकार क्षेत्रप्रताप अधिकारीको सम्झनामा १ मिनेट मौन धारण समेत गरिएको थियो ।

कवि देवी नेपालले जननेता मदन भण्डारी सशक्त कविताका माध्यमबाट २०२७/२८ सालमै राजालाई चुनौती दिने पहिला निर्भीक कवि हुन्, अहिले क्रान्ति चन्दामा सौदा हुन थालेको भए पनि सिर्जनाका माध्यमबाट दूरगामी विचार र प्रभाव दिन सक्ने विलक्षण प्रतिभा उनमा रहेको, भाषणमा समेत कवित्व फेला पार्न सकिने, बनारसमा बस्दा अर्काको घरमा पाले बसेर पनि सशक्त कविता सिर्जना गर्ने, संस्कृतका श्लोकलाई अत्यन्त जीवन्तताका साथ नेपालीमा अनुवाद गर्न सक्ने जिउँदो अनुवाद कला भएका व्यक्तित्व मदन भण्डारी सफल कवि भएकै कारण सफल राजनीतिज्ञ भएका हुन् भन्ने धारणा राख्नु भयो । उहाँले मदन भण्डारीका केही कविता समेत वाचन गर्नु भयो ।

राजनीतिज्ञ एवम् साहित्यकार मणि थापाले साहित्य, संस्कृति र कलाले सुसज्जित व्यक्ति राजनीतिमा पनि शिखरमा पुग्छ । यो शाश्वत कुरा हो र यही कुरा मदन भण्डारीको जीवनमा पनि लागु हुन्छ । जीवन, जगत्, देश र कार्यकर्ताका पक्षमा आफ्ना अभिव्यक्ति सशक्त पार्न सक्ने विशेष कौशल मदन भण्डारीमा रहेको, उनी असल स्रोता समेत भएकाले अर्काका कुरा राम्ररी सुन्ने, नेताले र राजनीतिक पार्टीले जनताबाट अलग्गिनु हुँदैन भन्ने भावना अभिव्यक्त गर्ने वक्तृत्व क्षमताका अतुलनीय र विलक्षण प्रतिभा हुन् जसको तुलना अहिलेसम्म कसैसँग हुँदेन भन्ने धारणा राख्नु भयो । 

अतिथि के.पी.ढकालले मदन भण्डारी उनका काका परमानन्द भण्डारीको साहित्यिक प्रेरणाबाट दीक्षित र अभिप्रेरित भएका हुन्, उनको साहित्यिक क्षमता निकै नै उच्च स्तरको रहेको भन्ने थप चर्चा गर्नु भयो । प्राज्ञ रामकृष्ण दुवालले नेपाली साहित्यमा प्रचलित लोकगीतहरू श्रम, काम, समय, संस्कार, रीति रिवाज आदिसँग सम्बन्धित रहेका र तिनलाई मदन भण्डारी ज्यादै माया गर्ने व्यक्ति रहेको आफूले पाएको धारणा राख्नु भयो । शीतल गिरीले लोक संस्कृतिका बारेमा चर्चा गर्नु भयो ।

गोष्ठीमा जगन्नाथ आचार्य, भिजन गुरागाईं, शान्ता मानवी, प्रेम सिलवाल, प्रमोदकुमार ढकाल, विष्णु अधिकारी, हरिकुमार सिलवाल, असीम सागर, देवी नेपाल, वैरागी जेठा, अतीन्द्र दाहाल, अपेक्षा अधिकारी, रामबहादुर पहाडी, रत्ननिधि रेग्मी, सरस्वती चिमौरिया, पुण्य गौतम ‘विश्वास’, उर्मिला पन्त पाण्डेय, नवराज श्रेष्ठ, पुनाराम गिरी, इन्दु अंशु, वीणा भट्टराई, पोषरमण चापागाईँ, रामकृष्ण दुवाल, यदुनन्दन वसन्तपुरे, लक्ष्मण श्रेष्ठ, के.पी.ढकाल र राम विनयले आआफ्ना कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।

वाचित कवितामाथि कार्यक्रम सञ्चालनकै दौरानमा भागवत आचार्यले सङ्क्षिप्त टिप्पणी गर्दै जानु भएको थियो । गोष्ठीकी अध्यक्ष राम विनयले निमन्त्रणालाई स्वीकार गरी उपस्थित भइ दिनु हुने सबैलाई हार्दिक धन्यवाद दिनु भयो ।

–रमेश पोखरेल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad