श्यामप्रसादहास्य–व्यङ्ग्यलाई जाँच्ने कसी के ?
हास्यव्यङ्ग्य प्रस्तुत गर्दा विषयलाई प्राथमिकता दिन खोज्ने प्रवृतिलाई प्रशंसनीय नै मान्नुपर्छ । पुरानै कुरा झिकेर हँसाउन या छेड हान्न खोजे पनि सकभर नयाँ अवस्थालाई समेत सुहाउने किसिमबाट त्यसो गर्न खोज्नु बढी वेस हुन्छ । तर, व्यङ्ग्यको झटारोले हिर्काउँदा कुन कुरामा कसलाई कतिसम्म दुख्ने गरी किन हान्नुपरेको हो भन्नेबारे चाहिँ पूरापूरा प्रष्ट रहनुपर्छ । यसरी प्रष्ट नभई हिर्काएको हिर्कायै गर्ने हो भने त ‘सफल व्यङ्ग्यकार’ भन्ने पगरी गुत्न कहाँ पाइएला र ?
साहित्यका अरु रसमा जस्तै हास्यरसका रचनाहरूमा पनि स्तरीयता खोज्नु सराहनीयनै कुरा हो । तर, स्तरीयताको माग गर्दा केवल उच्च स्तरका सिर्जनाहरू खोज्ने हो भने हास्यरसको पोखरीमा पौडेर रमाउन चाहने धेरै ठूलो सङ्ख्यालाई चाहिँ भुसुक्कै विर्सन पुगेको पत्तै पाईंदैन । हास्यव्यङ्ग्य मन पराउनेहरूमध्ये उच्च, मध्यम र निम्न गरी मोटामोटी रुपबाट तिन तहका पाठक, स्रोता तथा दर्शकहरू पर्ने भएकालेनै हामीले ती सबैको स्तरलाई सुहाउने किसिमका थरी–थरीका रचनाहरू रच्न खोज्नुपर्ला कि नपर्ला ?
एक थरी भाषामा पाइने हास्यव्यङ्ग्यका कृतिलाई अर्को थरी भाषामा समेत दिने कोसिस पनि हामीले किन नगर्ने ? यसो गरेको खण्डमा एउटै भाषाको माध्यमबाट समेत अनेक थरी भाषाको साहित्यमा भएका हास्यव्यङ्ग्यहरूको स्वाद चाख्न पाइने परिस्थिति पनि त तयार हुँदै जान पाउला नि !
हास्यव्यङ्ग्यका विविध रचनाहरूको हँसाउने मात्रा पनि फरक–फरक हुनैपर्छ । कुनै रचनाले हामीलाई मुसुमुसु वा मुसुक्क मात्र हँसाए पुग्छ भने कुनैले चाहिँ ओठ फट्याएर र खित्का छाडेर हँसाउन सक्नुपर्छ । अझ, कुनै कुनैले चाहिँ पेट मिचीमिची लडीबुडी गर्दै हाँस्नुपर्ने र धेरै वेरसम्म हाँसो थाम्नै नसक्ने अवस्थामा पु¥याइदिन सक्छन् भने त्यस्तो शिल्पका ठूला धनी शिल्पकारहरूलाई पनि हामी हार्दिकता साथ स्थायी निम्तापत्र टक्र्याइराख्न चाहन्छौँ ।
हास्यव्यङ्ग्यको मूललक्ष्य कुप्रथा वा वेथितिमाथि प्रहार गर्नु हो भन्ने भावनालाई पच्चिस आना अथवा शत प्रतिशत मनाशिव हो भनी हामी आँखा चिम्लेर भए पनि ल्याप्चे लाउन वा सही छाप गरिदिन सक्छौँ । तर, कु र सुको परिभाषा के त ? यो नै आजको हाम्रो प्रमुख प्रश्न हो । तपशिलका प्रश्नहरूमा गहिरिएर विचार गरिहेरौँ–
जनतालाई राजनीतिप्रति आकर्षित पार्दै लैजाने कि विरक्त बनाउँदै ? राजनीति भनेको मुख्यतः असल–राम्रो कामको निम्ति हो वा कमसल–खराब कार्यको निमित्त ? राजनीतिक पार्टीहरू र दलीय व्यवस्थाप्रति जनतामा आस्था जगाइराख्न खोज्नुपर्छ अथवा अनास्था बढाइदिनुपर्छ ? जनतालाई राम्ररी डो¥याउन राजनीतिक सङ्गठनहरू पनि चाहिन्छ भने नेताहरू पनि चाहिएलान् कि नचाहिएलान् ? पार्टी र नेताहरूबाट बेलाबखत हुन जाने गल्ती तथा कमजोरीहरू तर्फ मात्र ध्यान तानिदिने गर्ने कि नेताहरूलाई गाली गर्ने चलननै चलाउँदै जाने ? सबै जातजाति धर्म र भाषा, मुलुकका विभिन्न भाग, महिला र पुरुष, सबै उमेरकाहरू, शिक्षित र अशिक्षित, स्वदेशी र विदेशी… इत्यादि सबैप्रति समानता, स्नेह र आदरको भावना लिएर व्यवहार गर्न खोज्नुपर्छ कि तिमध्ये कुनैलाई ठूला र कुनैलाई साना ठानी असमानतापूर्ण व्यवहार नै गर्ने गर्नु पर्छ ? नास्तिकले सराप्न हुन्छ कि हुँदैन ?
“ख्यालठट्टा र रमाइलो गर्दा केको शिष्टता र सभ्यताको कुरा ?” भन्ने मत लिनु होला कि नहोला ? आफ्नो राष्ट्र वा नेपाललाई नै होच्याउन–हेला गर्न पुगिने खालको हास्यव्यङ्ग्य प्रदर्शन गर्नु हुन्छ हुँदैन ? आफ्नो मुलुकलाई आकाशमा पु¥याएर बयान गरे जस्तै अरुको देशलाई पातालमा खसालेर वर्णन गर्न हुन्छ कि हुँदैन ? नातापट्टिकाहरूमा बेला–बखत देखा पर्ने गरेका फाटोलाई झन्झन् चर्काईदिने गर्नुपर्ला वा घटाइदिन खोज्नुनै सही ठहरिएला ? जनतामा निराशको भावना बढाउनुपर्छ कि तिनलाई सधैँ आशावादी र हरेस नखाने खालको राख्ने बल गर्नुपर्छ ? अश्लिलतापूर्ण अभिव्यक्तिहरूलाई के कस्तो प्रसङ्मा कति सीमासम्म स्वतन्त्रता र छूट दिने गर्दा गल्ती हुन नपाउला ? जनतामा पाइने अन्धविश्वासको मात्रा थपिदिने रचना सही हुन्छन् कि त्यसलाई घटाउँदै लैजाने खालका ? यस्ता प्रश्नहरूको अरु धेरै लामो सूची सजिलैसँग बनाउन सकिन्छ ।
त्यसैले आज अरु सबैजसो विषयमा जस्तै हास्यव्यङ्ग्यपट्टि पनि प्रजातान्त्रिकता र वैज्ञानिकतालाई नै हामीले मुख्य कसी मानेर सामग्रीहरू वा प्रस्तुतीहरूको विश्लेषण र मूल्याङ्न गर्ने गर्नुपर्छ । प्रजातन्त्र र विज्ञानको विपरीत जाने कुरा जति जम्मै गलत हुन् र यिनको पक्षमा भएका बुँदा जति सबै सही हुन् । यी दुई जरो कुरालाई राम्ररी गाँसेर चल्ने प्रयत्न बढाऔँ । अनि मात्र मनग्ने मजा आउने हुन्छ ।
१९९१ सेप्टेम्बर
Subscribe
Login
0 Comments
Oldest






































