साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नगरपालिका जग्गा महात्म्य

Nepal Telecom ad

श्रीमान् नगर–रक्षक महोदय,
म धेरै कुरा जान्दिनँ । धेरै सोच्न पनि सक्दिनँ । जे जहाँ छ, त्यही देख्छु । नभएको देख्दिनँ । भएको छोड्दिनँ । लेख्न बसेँ भने भएको कुरा लेख्छु । नभएको कुरा लेखी कलमको निब खियाउँदिनँ । आजलाई मात्र लेख्दिनँ । भोलिका लागि छाड्दिनँ । र, पो हैरानी थाप्लोमा लिएको छु । जानी–जानी आफ्नै कपाल दुखाएको छु । नपत्याए आफैं हेर्नुस् । चारैतिर चहार्नुस् । तपाईंको नगर कस्तो छ, आफैं अघाउञ्जेली प्रदक्षिणा गर्नुस् । नत्र भने हामीजस्ता भुइँफुट्टे नगरबासीका विचार र गन्थनलाई मनन गर्नुस् । यथोचित विचारलाई मार्गनिर्देशको रूपमा लिनुस् । कहाँ र कसरी सम्बोधन गर्नसक्नुहुन्छ, सम्बोधन गरिहाल्नुस् । बेर नगर्नुस् । पुनितकर्म थालनी गर्न आइतबार पर्खनु पर्दैन । ‘तातै खाऊँ जली मरूँ’ पनि गर्नुपरेको छैन । कछुवा गति पक्रनु छैन । साँचो बाटो मोड्नु भनेको हैन ।
महाशय, म मात्र निवेदन गरिरहेछु । विन्ती बिसाइरहेछु । सुव्यवस्था ल्याई हामीलाई अमनचयन दिने ठेक्का लिनुस् भनिरहेको छैन । हामीलाई खाने सामलको जोहो गरिदिनुस् भनी हात पसारिरहेको पनि छैन । मात्र अराजकताको नाम मेट्नुस् भनिरहेछु । जनताका सेवक भनी जनताको तिरो खुवाएका कर्मचारीतन्त्रको प्रजातन्त्र बुझिदिनुस् भनिरहेछु । र, यो पनि भन्न वाध्य छु– सक्नुहुन्न भने आप्mनो नाम रूपान्तरण गरी ‘नगर–रक्षक’ हैन ‘नगर–भक्षक’ राख्नुस् समेत भनिरहेछु । के गर्नुहुन्छ, त्यो चाँडो गर्नुस् । हामीले भनेको नलागे हाम्रा लागि के–के गर्नसक्नु हुन्छ, त्यो चाँडै भन्नुस् ।
म विवश प्राणी ! एक्लै जिउन नसकेर अर्धाङ्गिनी जोडेँ । विचरी सुन लगाउन चाहन्थी । तोलाको साठी हजार उकालो लागेपछि मैले चिताउने कुरै आएन । नकिनी सुखै पाइएन । कतै नचोरी सुनको बाला लगाउने श्रीमती इच्छा पूरा हुनेवाला थिएन । चोरी विद्या जानेको थिइन । बालककालमा भने खमारको धान चोर्न सिपालु थिएँ । थरूनीले भुजा लिएर आउँथी । एक माना धान सुटुक्क चोरेर उसलाई दिन्थेँ । बदलामा एक माना नै भुजा पाउँथेँ । म कहाँसम्मको लाटो ! केही मात्रामा भुजा घरमै लग्थे । अरू त त्यही बुझो लगाउँथेँ । भुजा खाइरहँदा बाख्राले तोरीबारी सिद्धयाउँदा रहेछन् । साँझ आएपछि मेरो जोखाना हेरिन्थ्यो । गोजीमा भुजा फेला पथ्र्यो । अर्कातिर तोरीबारी सखाप भएको रिपोर्ट कुनै न कुनै तवरले पुगिहाल्यो । यी दुबै अपराधका लागि दाजुको फेला परे मरणासन्न हुने गरी गोदाइ खाइन्थ्यो । आमाको फेला परे एक, दुई छडीमै शान्ति पाइन्थ्यो । बुबाको फेला परे हकारपकार मात्र भेटिन्थ्यो ।
त्यो त बाल्यकालको कुरो थियो । एक माना धानले सुन आउँदैन । त्यसमा पनि आफ्नो खमारमा हिम्मत आउँथ्यो । अरूको खमारतिर कतै आँखासम्म लगाएको थिइनँ । त्यसैले श्रीमतीलाई प्रस्ताव राखेँ– रातमा वित्तिय संस्था लुट्न ठूलो जनशक्ति र हतियार चाहिन्छ । दिनदहाडै पकेट मार्न चोर्य विद्यामा निपूर्ण हुनुपर्छ । म कतै पनि पारङ्गत छँदै छैन । अतः प्रथमतः मलाई चोर्यविद्या सिकाऊ । मेरो मनमा बसेको अटल विश्वासलाई पाखा लगाऊ र मलाई ‘नन्देलाल’बाट ‘गन्देलाल’मा परिणत गर । अनि मात्र म तिमीलाई सुनले सजाउन सक्छु । हरइच्छालाई शिरोधार्य गर्न सक्छु । हैन भने सुनको साटो नुनमै चित्त बुझाऊ । सुन र नुन सुन्दा उस्तै लाग्ने शब्द हुन् । ‘अड्को पड्को तेलको धूप’ उखानको मर्यादा पालन पनि हुन्छ र दैनिक भोजनमा काम पनि आउँछ ।
मेरो गन्थनको अन्त्यमा उसले आफ्नो मुख बन्द गरी । धन्य हो मेरी अर्धाङ्गिनी ! भनेको मान्छे र मात्र म ‘म’ हुन पाएको छु । नमानेकी भए मैले आफूलाई नै बेच्नुपर्ने हुन्थ्यो । म बेचिनबाट जोगिएको छु । अरूको थुकाइको सिकार हुनबाट बचेको छु । धन्य अर्धाङ्गिनी ! तिम्रो लचकता नै मेरो नाम राख्ने आधार भएको छ । तिम्रो परिवर्तित विचार नै मेरो समुन्नतिको द्वार भएको छ । अझ, अब कुनै माग तेर्साउँदिनँ भन्ने अठोटले मलाई अघोरै खुशी तुल्याएको छ ।
नगर–रक्षक महोदय, भन्न त भनेँ । धेरै कुरा माथि नै खोलेँ । अझ नखोली तपाईं बुझ्नुहुन्न । सोझै नभनी धरै पाइन्न । जनताको सङ्केत बुझ्ने दिमाख भइदिएको भए किन यस्तो हुन्थ्यो र ! पीरमार्का सम्बोधन गर्दिने सोच भए किन यत्रो पत्र लेख्नुपथ्र्यो र ! एक छिनमा हुने कामलाई किन पाँच दिन धाउनुपथ्र्यो र ! तपाईंका कर्मचारी बस्ने कुर्सीमा पनि धेरै गोजी रहेछन् । गोजी नभर्दिए कुर्सी चट्पटाउँदो रहेनछ । थोरैले भरिने भए त किन मन दुखाउनु थियो र ! भर्दाभर्दा बाउकै बिहे देख्न थालियो र पो आज निवेदन चढाउँदै छु । जग्गा महात्म्य पुराण लगाउँदै छु । अनि तपाईंलाई स्रोता÷पाठक तुल्याउँदै छु ।
महाशय, खुलस्त कुरा राख्न मैले आफ्नै शास्त्र उल्टाउनै पर्छ । आफूलाई लुकाउनेले कसैलाई संसार देखाउन सक्दैन । कलमले संसार देखाउन नसक्नेहरू बाणविनाका धनुषधारी हुन्छन् । म अर्जुनदृष्टि राखेर वाण चलाउन रुचाउँछु । आफ्नो अहङ्कारलाई सार्वजनिक थलोमा ओछ्याएर जग हँसाउन रुचाउँछु । सारा हाँस्दा मन शान्त हुन्छ । सारा रुने र आफूले मात्र हाँस्न पाउँदा मन धमिलो हुन्छ । अतः बेर नगरी पर्दा उघार्दै छु । देखेको मात्र हैन भोगेको सत्य देखाउँदै छु ।
यत्तिखेर मेरी अर्धाङ्गिनी कसममा फेल भई । अहिले आएर आफ्नो एकसूत्रे मागमा अडिग रही । गाउँमा नबस्ने भई । सहरको हावामा फँसी । र, मलाई पनि फँसाउन बाउबाजेको कहिरनको ठूलो थुन्से तयार पारी । उसको कथन थियो– गाउँमा जन्मेँ । लडीबुडी गर्दै हुर्कें । दुईचार अक्षर जान्ने भएँ । कसैको घरमा दुलहीको रूपमा भित्रिनलायक ठहरिएँ । सहरमा भित्रिने रहर पूरा गर्ने बाउआमाको क्षमता थिएन । त्यस्तो अवसर भेट्नैपर्छ भनी अडान लिन सकिएन । भित्रिन पाएपछि, धेरथोर खुट्टा घुमाउनै प¥यो । सुन किन्देऊ भनेँ । बैंक लुट्नुपर्छ भन्यौ । र, नुन किनेर ल्यायौ । गाउँको महल चाहिएन, सहरमै कुटी भए पनि बनाई देऊ । बरू गरगहना फुकालिदिन्छु । जे भन्छौ, मान्छु भनी दिएको पहिलेको कसम पनि फिर्ता लिन्छु । सधैं ‘सहर, सहर’ भनिरहन्छु ।
अब भन्नुस् त ! स्वास्नीका अगाडि महादेवले हारेका थिए भने म नाथेको के सामथ्र्य ! हार खानै प¥यो । भएकी एउटी पुत्री पनि सहरमै जन्मी । सुनपरीको कथा सुनाउँदा सुनाउँदै र सुन्दा सुन्दै हुर्की । अब ऊ ‘गाउँमा पनि मान्छे बस्छन् र !’ भन्न थालेकी छे । जीवन सहरमै वित्छ भन्ने सपनामा हराएकी छे । आफ्नो पनि हातमुख जोर्ने ठाउँ सहर नै भएको छ । सहरिया हावाले नजानिँदो तवरले आफैंलाई पनि छोएको छ । त्यसैले घाँटी छामेँ । सत्र वर्ष कमाउँदा मात्र पाँचलाई पाँच वटै सुन्ना रकम जम्मा पारेको रहेछु । यत्तिले केही त अवश्य होला भन्ठानेको थिएँ । तर, विल्कुलै भ्रममा रहेछु । त्यत्तिले त नगरमा दुई घुर जग्गा पनि मुस्किलले आउने रहेछ । त्यो पनि नगरको मुटुमा हैन, शरीरका अन्य भागमा मात्र रहेछ ।
धुइँपताल खोजेँ । बल्लतल्ल १३ धुर जग्गा भेट्टाएँ । एक्लैको केको आँट पुग्थ्यो । आदिवासी मित्र अभितकुमार चौधरीलाई पक्रिएँ । उसैसँग साझेदारी गर्दै नकिनी नछाड्ने निर्णयमा पुगेँ । यतातिर २०६४ सालमा महाभूकम्प गएको थियो । त्यस भूकम्पमा अड्न नसकेर काठमाडौं गुड्न पुगेका नन्दलाल पोखरेलले त्यो १३ धूर जग्गा तीनलाई पाँच सुन्नामा बेचेका रहेछन् । अहिले आएर हामीले अर्को एउटा शुन्य थप्नुप¥यो । जग्गा–व्यापारी भने ‘नन्दलाल पोखरेलको जग्गा नन्दलाल आचार्यले नै उपभोग ग¥यो, जे भो ठीकै भो, मैले धेरै कहाँ लिन खोजेँ र ! छैटौँ शून्य मात्र त थपेर लिन खोजेको हो नि’ भन्दो रहेछ ।
हे प्रभु ! किन यस्तो मनपरीतन्त्र छ । हैन, यस नगरमा त्यस्तो के छ ? भएका कलकारखाना, उद्योग–धन्दा जनयुद्धकालीन द्वन्दमा बन्द भए । बाँकी रहेका २०६४ सालको महाभूकम्पको नाममा बन्द भए । कहिले जनयुद्धको नाम भजाएर बन्द पार्ने काम भयो, कहिले मधेस आन्दोलन भन्दै भूमिगत गिरोहले औद्योगिक वातावरण भत्काए । बन्द बाहेकको खुल्ला केही रहेन । नगरको हालत वर्णन गरी साध्य छैन । वर्षायाममा नगरको मूल सडकमा भ्यागुताका चेपागाँडाको राज चल्छ । हिउँदयाममा धूलोमैलोको साम्राज्य बस्छ । सगरमाथा अञ्चल नामक सरकारी अस्पताल नाम मात्रको छ । सद्दे मान्छे अस्पतालमा दुई घण्टा ठहरियोे भने इमरजेन्सी बेडमा सुत्नलायकको हुन्छ । निजी क्षेत्रको महंगाइको बखान गर्न पर्दैन । सरकारी कार्यालयमा एउटा हस्ताक्षर लिन दुई दिन भन्दा बढ्ता धाउनु पर्दैन । धमाधम सरकारी कार्यालय लहानस्थित लोकमार्ग छेउछाउ सरिरहेछन् । यहाँ उपभोक्ता र अगुवाहरू टुलुटुलु हेरिरहेछन् । हैन, केले गर्दा चाहिँ यस राजविराज नगरको भाउ बढेको हो ! गुन्नै सकेको छैन । कसै गरेर पनि तपाईंलाई भन्नै सकेको छैन ।
नगर–रक्षकज्यू, तपाईंको नगर कस्तो रहेछ ? त्यो बुझेपछि नगरभित्र अर्को के रहेछ भनी ठम्याउन एक क्षण मेरा कुरा सुन्नुहोला अनि मात्र गुन्नुहोला । लालपुर्जा भन्ने कागज हेरेर १३ धूरका लागि तीस लाख थम्याएँ । नक्सा हेर्नुपर्ने होस आयो । हेर्दा साढे १२ धूर भेट्टाएँ । स्थलगत अध्ययनपश्चात् साढे एघार धूर मात्र उपभोग गर्न पाएँ । हे प्रभु ! म व्यापारी हैन । जानिफकार पनि छैन । सोझो राजमार्ग हिँड्दा जहाँ पुगिन्छ, त्यसैमा सन्तोष मान्ने पटमूर्खमध्येको एक हुँ । मेरो मुख्र्याइँको समेत धज्जी उड्ने गरी किन छक्किनु परेको होला ? मेरो जिज्ञासाले जवाफ भेट्टायो– नगरपालिकाको चलन नै यस्तै हो । जग्गा यता बाटोमा कट्छ ! उता अमिन साहेवको गोजी नभर्दिनेले कैँटे भूमिकाको सिकार हुनुपर्छ । प्रत्येक नापमा ३० इन्च जग्गा तलमाथि गर्ने छुट हामीलाई छ भनेर अमिनहरू हाकाहाकी भन्छन् । जसले खान दिन्छ उसैको भागमा पार्दिन्छन् । दुबैले दिए, चुपचाप चोखो कम गर्दिन्छन् । यस्तै कामको सिकार नगरपालिका भएको छ । यहाँ चलन यस्तै भएको छ ।
नगर प्रभु ! अर्को पुराण नसुनाए मेरो पत्र अधुरै रहन्छ । मैले लाजपचाएर लेख्नैपर्ने भो । आफूले गरेको कमजोरी स्विकार्नै पर्ने भो । त्यसभन्दा बढ्ता त तपाईंले रक्षा गर्ने भारलाई पूरापूरी जिम्मेवारी लिनुपर्ने भो । मेरो कहानी सुन्नुस्– हरेक अमिल्दा कुरालाई मुटु मिचेर स्विकारेँ । जग्गा पास गर्ने दिन आयो । व्यापारीले २०६९ साल पुस महिनाको अन्तिम दिन २९ गते नै रोज्यो । आफू व्याज तिर्नबाट बच्ने र हामीलाई व्याज पाउनबाट बञ्चित पार्ने रणनीति खेल्यो । हाम्रो पैसा बैँकमा थियो, उसले ऋण बैंकलाई तिर्नु थियो । बाँकी रकम लिनु र दिनु एकनास थियो । व्याजबाट बच्ने र बञ्चित पारिने काम पनि एकनासे थियो । त्यसलाई नपचाईकन धरै पाइएन । पचाउँदा पचाउँदै त्यत्तिखेर आफैं पचियो जब प्रत्येक सरकारी टेबलमा हरिया नोटहरूले पूजा नगरी फाइल अघि बढेन । जग्गा लिनेले तिर्नुपर्दो रहेछ । जग्गाको कारोबार गर्ने व्यापारीका नाताले पुराना धनीसँग हाकाहाकी घुस माग्न कर्मचारीहरूले हिच्किचाहट मानेनन् । कतै गैँडाले काम ग¥यो । कतै बाघ नै निकाल्नु प¥यो । दुईचार ठाउँमा त हात्ती नभई फाइलले डेग नै चाल्न सकेन । पिउनदेखि हाकिमसम्म सबैको पूजा गर्दै र मनोवाञ्छित भेटी चढाउँदै जाँदा पनि जग्गा आफ्नो नाममा आउन ठ्याक्कै पाँच दिन लाग्यो । कहिल्यै भेटी नचढाउने र भेटी नलिने मान्छे म, पाइलैपिच्छे भेटीको ओइरो नलगाईकन धरै पाइएन । आफ्नो अन्तस्करणलाई लिलाममा नचढाई सुखै भेटिएन । काम नबने स्वास्नीको आँखामा कायर बन्नु पथ्र्यो । युगअनुसार चल्न नसक्ने प्राचीन मानिस हुनु पथ्र्यो ।
अतः नगर–रक्षक महाशय ! घुस लिनेभन्दा दिने ठूलो अपराधी हो भन्ने कानुनबमोजिम म सामाजिक अपराधी हुँ । मैले दण्ड भोग्नैपर्छ । म पश्चत्तापका आँसु रोक्न चाहन्छु । मैले वैयक्तिकस्वार्थले प्रेरित भई घुस दिने काम गरेको छु । समाजलाई अधोगतितर्फ मोड्ने दुष्प्रयास गरेको छु । म उम्कन हुन्न । म स्वयम् आफ्नो भूलको दण्ड भोग्न लालायित छु । म कानुनी राज्य चाहन्छु । दण्डहीनताको जरो उखेल्न चाहन्छु । तर खबरदार ! मसँगै दण्डका भागिदार एकएक गरेर झ्यालखानामा जाकिनुपर्छ । अपराधी मनोवृत्तिको समूल नष्ट हुनुपर्छ । नत्र मैले भोगेको दण्डको अर्थ रहन्न । म अराजकताको जरो होइन । जरो पत्ता लगाई जरै उखेल्न कम्मर नकसे नगर सफाइ हुन्न । इति श्री स्कन्द नगरपालिका जग्गा महात्म्य पुराणे समाप्तम् !!!

तपेश्वरी–१, गल्फडिया, उदयपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
युगल बसेल
युगल बसेल
1 year ago

होइन ,नगरपालिकाका प्रमुख वा नगरप्रमुखलाई नगरपिता भनेको त सुनिएको थियो। नगर रक्षक भनेको त नगर प्रहरी हो। लेखकले नगर प्रहरीलाई गुहार्नुभएको हो कि नगर प्रमुखलाई ? कुरो बुझ्न सकिएन त।

Nepal Telecom ad
बाजी

बाजी

नन्दलाल आचार्य
छलकपट

छलकपट

नन्दलाल आचार्य
आधुनिक नेता चालिसा

आधुनिक नेता चालिसा

नन्दलाल आचार्य
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
1
0
Would love your thoughts, please comment.x
()
x