केशव दुवाडीलोकतन्त्र पुराण
आज संसारका सबै कुराहरू लोकतान्त्रिक हुन थालेका छन् । समाजको प्रत्येक पक्षमा लोकतान्त्रीकरण हुनु लोकतन्त्रका पारखीहरूका लागि धेरै खुसीको कुरा हो । लोकतान्त्रिक सिद्धान्त, लोकतान्त्रिक दल र नेता, लोकतान्त्रिक शासक र विपक्षी, लोकतान्त्रिक साहित्य र साहित्यकार लोकतान्त्रिक समाजशास्त्री, लोकतान्त्रिक अपराधी, लोकतान्त्रिक हत्या, लोकतान्त्रिक बलत्कार, लोकतान्त्रिक महँगी, लोकतान्त्रिक अशान्ति, कुकाम सुकाम सबै लोकतान्त्रिक !
वास्तवमा लोकतन्त्र भन्ने कुरो बडो गजबको हुँदो रहेछ । सबैले सबैखाले काम गर्न पाउने । काग कराउन पनि पाउने, पिना सुकाउन पनि पाउने, नाङ्लो ठटाउन पनि पाउने, हात्ती हिंड्न पनि पाउने, बिरालोलाई बाघ भन्न पनि पाउने, कोइलीलाई काग भन्न पनि पाउने, गिद्धलाई मजुर बनाउन पनि पाउने, पुच्छरलाई गजुर बनाउन पनि पाउने । लोकतन्त्रमा सबैले सामान अवशर पाउने हुनाले सबैखाले कामहरू समानान्तर रुपमा भैरहेको पाउन सकिन्छ । महँगी आकाशिदै पनि छ, विरोध चर्किदै पनि छ । मानवअधिकार शिक्षा पनि जारी छ, कन्चेटमा गोली लाग्ने क्रम पनि जारी छ । टेबुलमाथिको ढिलासुस्ति पनि जारी छ, टेबुलमुनिको लोकतान्त्रिक कमिसन पनि जारी छ ।
अर्को कुरा लोकतन्त्रमा सानो भन्ने कोही पनि हुँदैन, सबै ठूला । जनता पनि ठूला, कार्यकर्ता पनि ठूला, नेता पनि ठूला, अल्पमतका पनि ठूला, बहुमतका पनि ठूला, स्वतन्त्रका पनि ठूला, परतन्त्रका पनि ठूला । यस्तो अकबरी अक्कल लोकतन्त्रमा बाहेक अन्त कतै पाइन्छ ? यसले लिंकनको ‘जनताले जनताद्वारा जनताको लागि’ भन्ने कुरालाई भुसुक्कै भुले पनि अरस्तुको ‘प्रजातन्त्रले भीडतन्त्र पनि जन्माउन सक्छ’ भन्ने अडकललाई हुबहु अनुशरण गरेको छ । कालीदासले ‘पुराण मित्येव नसाधु सर्बं, नवीन मित्येव नचाप्य वाध्यम्’ (अफाप सिद्ध भएका पुराना कुराहरूलाई छाड्दै युग अनुसार चलन चलाउनु पर्छ) भनेका थिए । ठीक त्यसैगरी आजका लोकतन्त्रका पण्डितहरूले लोकतन्त्रमा अफापसिद्ध भएको लिंकनको मान्यतालाई माया मारेर अरुस्तुको अनुशरण गरेका हुन् अरे । मैले त अरेको गरेको हुँ यसमा कोही रिसाउँछ भने उसकै मुख अँध्यारो हुन्छ । लोकतन्त्रमा सिद्धान्तलाई सिँगार्न सक्यो भने व्यवहार लोभतन्त्र भए पनि केही नापिदैन । सबै नेता र गुरु हुन पाउने लोकतन्त्रमा सिक्ने भन्दा सिकाउने धेरै हुनु, सुन्ने भन्दा बोल्ने धेरै हुनु, जनता भन्दा नेता धेरै हुनु कुनै अनौठो कुरा होइन । गुरु बन्न पाइन्छ भने चेला किन बन्ने ? रानी बन्न पाए पछि खाने पानी नभए पनि के मतलब ? चामल बेसाउनु परे पनि कुरा बेसाउन पर्दैन क्यारे ! कुराले च्युरा भिज्छ भने किन दही किन्ने ? कुलो खने पुग्ने जमानामा खोलामा नै बाँध हाल्नु पर्छ र ? प्रकृतिप्रदत्त मूलको पानी त सुक्छ भने मनुवा निर्मित धारामा पानी नआउनु कुन ठुलो कुरा हो र ? जनता काकाकुल भए पनि देश संसारका धेरै जलाशय भएका राष्ट्रहरूमा परिहाल्छ । बेसाएको मट्टीतेल बाल्नु परे पनि ८८ हजार मेगावाट बिजुली बल्ने पानी यहाँ छदैछ । बिरबलले दरबारको बत्ती हेरेर त रात काटे भने हामी किन नसक्ने ? बत्तीमुनि अँध्यारो हुनु अनौठो कुरा पनि त होइन । दुई चार बोरा सिमेन्ट र पाइप बाँडेको भरमा जनता जनार्दनले भोट दिन्छन् भने पानी नै किन चाहियो ? आखिर लोकतन्त्र न हो जे पनि जिन्दाबाद !
लोकतन्त्रमा खालेले मात्र होइन च्याँखेले पनि दाउ पाउने हुनाले कहिलेकाहीं च्याँखेको ‘दुबै हातमा लड्डु, खालेको पुर्पुरोमा हात’ भएर बिलखबन्दमा पनि पर्ने गरेको पनि पाइन्छ, ‘खानु न पिनु पुर्पुरोमा चिनु’ भएर चिसो छिँडीमा चुँक्क पनि बोल्न नपाउने गरी चेप्टिएर रहनु पर्र्ने कुरा सत्ताको सुविधामा शान्दारसँग शयल गरेको बेला बिर्सिने गरे पनि सत्ताबाट पछारिएर सडकमा झरेको बेलामा सबै लोकतन्त्रका पण्डितहरूले सम्झने गर्दछन् ।
त्यसो त लोकतन्त्रमा कसैको पनि हार हुँदैन अरे ! सबै बिजेता ! तडी नचलाइकन मजेरीमा बोडी फलाउन खोज्नेहरू पनि बिजेता, घरमा बसेर क्षितिज छुन्छु भन्नेहरू पनि बिजेता, आफूले भनेको कुरा र गरेको काम जति सबै लोकतान्त्रिक हुने मजातन्त्रवादी लोकतन्त्रमा कोदो रोपेर धान फलाउँछु भन्नु त्यति ठूलो कुरा होइन । भन्दे भैहाल्छ नि ! जालन्धरको दोषमा वृन्दाको बलात्कार गरे पनि लोकतान्त्रिक, रावणको अपराधमा सीता त्यागे पनि लोकतान्त्रिक, गोजी भर्ने जमानामा सत्यको खोजी कसले गर्ने ? नाङ्गो, तीतो र झिनो सत्यको पछाडि लागेर कसले प्रगति गर्न सकेको छर ? स्वाभिमानको सुकुलमा सुतेर ढाडमा डाम बसाउनुभन्दा चाकरीको घुम्ने कुर्चीमा आराम गर्नु धेरै बुद्धिमानी हुन्छ होइन त ? लाख पाइन्छ भने मातृको काख तिलाञ्जली दिए पनि फरक पर्दैन ।
‘यसो गर उसो गर आफ्नै झोली भर’ । आफ्नै दुनो सोझ्याउनु पर्छ पहिले । ‘मुख हेर्ने स्वास्नीको बीसवटा पोइ मर्ने बेलामा कोही न कोही’ । बेलैमा बुद्धि पु¥याएर मौकामा चौका हानेन भने त ‘किन रोइस् मङ्गले आफ्नै ढङ्गले’ होइन्छ । प्रगतिको पर्वतमा पुग्नका लागि प्रजातन्त्रको प्रयोग पनि परिस्थिति अनुसार गर्नु पर्छ भन्ने कुरा हाम्रा लोकतन्त्रका पारखी पण्डितजीहरूलाई पूरै थाहा छ । ‘तँलाई हेर मलाई हेर बेला हेर अनिमात्र अरुलाई हेर’ भन्ने पुर्खाकोे बोलीलाई लोकतन्त्रका पारखीहरूले आफ्नो अनुकुल पारायाण गर्ने गरेका छन् । त्यसैले त सुशासनको सिंहासन वरिपरि भ्रष्टहरूको पदचाप चुइँ चुइँ सुनिदैछ ।
अस्ति पञ्चायती प्रजातन्त्र, हिजो संसदीय प्रजातन्त्र, आज सङ्घीय गणतान्त्रिक लोकतन्त्र । यसो हेर्दा के हो मैना ? भनेर सोध्दा खै के हो के हो भने जस्तो, नयाँ बोतलमा पुरानै रक्सी भरे जस्तो, काम जस्ताको तस्तै फेरि पनि उस्तै, रुपपक्ष आमूल परिवर्तन सारपक्षमा पुर्खाको बिँडो हिजो पनि ढिँडो आज पनि ढिँडो । तै पनि लोकतान्त्रिक परिपाटी । कस्तो मज्जा ! सिद्धान्त नयाँ र आलो खान पाउने पालो पालो सबैको तारो सत्ताको पारो ।
अन्त्यमा सेतो कालो भन्न पनि पाउने, बाङ्गोलाई सोझो भन्न पनि पाउने, मरेको मान्छेलाई ‘जिन्दाबाद’ भन्न पनि पाउने जिउँदो मान्छेलाई ‘मुर्दावाद’ भन्न पनि पाउने, जस्तो भाँडामा राख्यो त्यस्तै आकारको हुन सक्ने पानी जस्तो लोकतन्त्रलाई कोटी कोटी प्रणाम गर्दै लोकतन्त्र पुराणलाई बिट मार्न चाहन्छु । लोकतन्त्र जिन्दाबाद !!
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































