नन्दलाल आचार्यआधुनिक नेता चालिसा
जुन दिन जाग्छन् जनता सारा, बदलिन्छ यो धरातल । मूर्ख नेता भाग्नेछन्, बन्नेछ देश शीतल ।। सत्य र निष्ठाको दीप जलुन्, हटाउनु छ यो अन्धकार । नयाँ युगको सुरुआत होस्, जय होस् नेपाल देश अ

नन्दलाल आचार्य :
श्री गुरु पद नतमस्तक भई, विकासको तस्बिर कोर्छु ।
खल्ती रित्तो भए पनि, आश्वासनले भर्छु ।।
सत्ताको यो चक्रमा, कुर्सी नै भगवान् ।
जनता केवल भोट हुन्, नेता नै महान् ।।
जय नेता ज्ञान गुण सागर । जय कुर्सी तीहुँ लोक उजागर ।।
आश्वासनका तिमी हौ खानी । कुरा काट्छौ साह्रै बानी ।।
राम नाम जप्ने ओँठ तिम्रा । काम गर्ने बेला हात चिम्रा ।।
गाउँ छिर्छौ चुनावको बेला । अरू बेला राजधानीमै मेला ।।
बाल्छौ गफका ठूला ठूला दियो । सोझा जनताको छिया-छिया हियो ।।
भ्रष्टाचारको सागरमा डुबुल्की । तिम्रो गफले दिन्छ ठूलो हुत्तुल्की।।
उज्यालो नेपालको सपना बाँड्ने । आफ्नै घरमा सुनको ढिक्का थुपार्ने ।।
विदेशी ऋणको भारी बोकाउँछौ । सोझालाई सधैं टोकाउँछौ ।।
विद्वान र गुणी अति चातुर । ठेक्का पट्टामा सधैं आतुर ।।
प्रभु चरित्र सुनिबे को रसिया । कमिसन पाए पछि बन्छौ हँसिया ।।
शालिन देखिन्छौ मञ्चमा भाषण गर्दा । बाघ जस्तै गर्जन्छौ बजेट खर्च गर्दा ।।
सत्यको बाटो कहिल्यै नहिँड्ने । झुटको खेतीमा कहिल्यै नथाक्ने ।।
कुर्सी मोहको औषधि तिमीसँग । विपक्षी देख्दा सधैं हुन्छौ दङ्ग ।।
कार्यकर्ताको फौज पछि लगाउँछौ । विकासको कुरा आए खुट्टा कमाउँछौ ।।
दुर्गम गाउँमा अस्पताल छैन । नेताको उपचार विदेशमा चैन ।।
जनताको छोरो खाडीमा पसिना बगाउने । तिम्रो छोरो सधैं चिल्लो गाडी भगाउने ।।
जुन दिन जाग्छन् जनता सारा, बदलिन्छ यो धरातल ।
मूर्ख नेता भाग्नेछन्, बन्नेछ देश शीतल ।।
सत्य र निष्ठाको दीप जलुन्, हटाउनु छ यो अन्धकार ।
नयाँ युगको सुरुआत होस्, जय होस् नेपाल देश अपार ।।
०००
२०८२ चैत १६ गते ।
उदयपुर ।
Subscribe
Login
0 Comments
Oldest









































