सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तालुमा आलु

Nepal Telecom ad

तालुमा आलु फल्छ भन्छन् भन्ने सुनेको थिएँ आफ्नो त तालुमा आलु होइन यामानको टुटुल्को उठेर हरिविजोगै भो नि । खुइलेको तालु लिएर हिँड्दा साह्रै जोगिएर हिँड्नपर्ने, ठोकियो कि तिरिमिरिझ्याईं देखिने । एकजना मिल्ने साथीले बनाएको नयाँ घर हेर्न आउनु भन्दै निम्तोे गरेको ग¥यै, लौ त भन्दै एकदिन साइत निकालेर हेर्न गए । हेर्दै जादाँ एक ठाउँमा झुक्किएर पिलरको चोसोले तालुमा लाग्यो । मलाई रगतपच्छे बनाइहाल्यो । लौ बा ! अव त भएन भन्दै टाउकोमा दुवै हातले थिचेर साथीसँग बोल्दै नबोली औषधी पसलतिर कुदेँ । उपचारपछि साथीको घरको पिलरमा लागेको रगत सम्झेँ मनमनै । मैले भनेँ– मेरो तालुको रगत नै नयाँ घरमा भोग चढेछ ।

एकदिन बेस्सरी टाउको दुख्यो भनेर हस्पिटल गएको त नर्सले सुताएर पछाडि बाँकी भएको कपाल तानेको तानै । अगाडि खल्वाट भएपछि के तान्नु ! मैले तिनै नर्सलाई भनेँ– तपाईंले यसरी नै कपाल तान्नु भयो भने त पुरै तालुखुइले हुन वेर छैन । मेरो कुरा सक्ने वित्तिकै तिनले भनिन्– मेडिकल लाइनको पहिलो प्राथमिक उपचार भनेकै यै हो त म के गरुँ ? तिनी मेरो रूपरङ्ग देखेर जिल्ल परिन् ।

हाम्रो नातागोतामा मेरो जस्तो तालुखुइलेको कसैको छैन । न हाम्रा बाजेको खुइले न त बाउको । बाउका पनि उमेर पुगेर होला अलिअलि खुइलेको देख्या हो । खुइलिनु ! मलाई मात्र किन प¥या होला भनेर बेलाबेलामा सोच्छु । बच्चामा मलाई बढी माया गरेर टाउकाँ तातो तेलले ठोक्या भएर पो हो कि, जाडो महिनामा चिसो लाग्ला भनेर तातोपानीले नुहाई दिएर पो त्यसो भाको हो कि भन्ने अड्कल काटिरहन्छु म । घरको काम गर्दा थाप्लोमा नाम्लोको डाम परेर पो हो कि भन्छु । यसो त्यसो जसो गर्दा पनि यसको सही उत्तर आउँदैन । खुइलिनु थियो खुइलियो, सकियो काम तमाम भनेर मन बुझाउँछु ।

वर्षको दुईचोटी कपाल काट्न हजाम कहाँ जान्छु, भाउ नमिलेर जात्रा ! हजामलाई म के भन्छु भने मेरो अगाडिको भाग काट्नुपर्ने होइन क्यारे, पछाडि मात्रै त हो नि भन्दै अभिनय सहित पछाडी टाउको फर्काएर देखाउँछु । आधा मोलमा काट्ने भे काट्छु क्यारे, होइन भने त जान्छु भन्दै एक दुई पाइला अगाडि सारेको अभिनय पनि गर्छु हजामसँग । ऊ आफ्नो रेटको एकोहोरो लिँडेढिपी छोड्दैन । म पनि आफ्नो बाटो लाग्छु । यसैगरी धेरै ठाउँमा चाहर्दा चाहर्दा जुन हजाम कहाँ मैले सोचे जस्तो भाउ मिल्छ त्यही ठाउँमा कपाल काट्यो घर गयो । खुइलेको टाउकोले गर्दा हैरान मात्र होइन महाहैरान भा’छु ।

प्रत्यक्ष अप्रत्यक्ष रूपमा सरोकार राख्नेहरू खुइलिएको टाउकोप्रति लक्ष्य गर्दै भाग्यमानीको उपमा दिन्छन्, धनवानको संज्ञा दिन्छन् । अझ अरुले त के के दिने हो मलाई थाहा छैन । मलाई जुन उपाधिको भारी बोकाइदिएका छन् त्यो सही हो या गलत हो मलाई थाहा छैन । एउटीले त मेरो चिल्लो तालु देख्ने बित्तिकै विहे नै रद्द गरिन् । त्यो पीडा यो छातीभित्र अझै ताजै छ ।

एकदिन घरकीलाई ब्लडप्रेसर हाइ भएर रिस उठेछ । उसको रिस पोख्ने ठाउँ कहीँ नपाएर मैसँग पोख्न थाली । यसो गरेन र उसो गरेन भन्दै मसँग झगडा गर्न थाली । उसले बढी कचकच गर्न थालेपछि मेरो पनि पारो चढ्यो । के भनिस् रे भन्दै नदुख्ने गरी चुल्ठो समाएँ । उसले पनि मेरो टाउकोमा कपाल भएको सम्झी समाउन खोजी सकिन । कसरी सकोस् त बरा ! टाउकोमा कपालै छैन । दाह्री जुँगा समाउन खोजी त्यो पनि भेटिन । मेरो त दाह्री र जुँगा नै एकदमै कम आउँछ । उसको केही सीप नलागेपछि रिसको झोंकमै पनि मेरो खुइलेको तालु सम्झिछ र खित्का छोडेर हाँसीे । उसले पछि यो भेद खोलेकी हो । यस्तो बेलामा चाहिँ खुव काम लाग्या देख्ता छाती गर्वले फुलेल हुन्छ ।

झिँगाहरूको पनि स्कुले भुराभुरीहरूको जस्तै चिप्लेटी खेल्ने कृडास्थल भएछ– मेरो तालु । कहीँ कतै ठाउँँ नपाएर होला तिनीहरूको युद्धमैदान बनेको छ– मेरो तालु । पटक पटक तालुमा झिँगा चिप्लिएर आफूलाई भने सकसक र काउकुती लागेर हातले यसो धपायो कोही कोही चाहिँ भाग्ने, कोही चाहिँ मेरो हातमा लागेर ठाउँको ठाउँमै सहिद हुने । पाप धर्म तिनले जानून् । फेरि हुल बटुलेर चिल्लो तालुमाथि खनिएर जात्रा । तिनीहरूले हत्तु बनाएरपछि लौखा त भन्दै ढाकाटोपीले टाउको छोप्नु सिवाय अर्को उपाय थिएन । त्यसपछि पत्तासाप ।

तालुको कुरै नगरौं । एकताका आँवुखैरेनीबाट काठमाडौं आउँदा मान गरेर अगाडि सीटमा राखेको क्षण पनि छ । हरहमेसा झोला बोकेर हिँडिरहन्छु म । एक पटक सिंहदरवारमा पस्न खोज्दा मेरो मुडुलो तालु देखेपछि चेक नै नगरी उल्टो सैनिकले सलाम ठोकेर मान गरेको देख्ता ठूलै मान्छेमा दर्ता भएको क्षण पनि कम रमाइलो छैन । ड्राइभर र खलासीले मेरो कुरा सुनेर भाँडा नलिएको क्षण, वन्द हडताल हुँदा आफ्नो गन्तव्यमा पुग्न भेटे जतिको मोटरसाइकललाई हात दिएर रोक्यो अनि सहमतिमा बसेर गयो । उहाँहरूको दृष्टिकोणमा तालु खुइलेको छ, ठूलै मान्छे होला भन्ने लाग्दो रहेछ । यसकारण जहाँ पनि सजिलै भा’छ । त्यसरी मान सम्मान पाएको देख्ता बाँकी कपाल पनि खौरेर सम्मै पारिदिउँ कि जस्तो मनमा लाग्थ्यो । के गर्नु मनले आँटेर मात्र हँुदैन रहेछ ।

काठमाण्डौंमा पानीको अनिकाल परेको बेला खान त गाह्रो भएको बेला नुहाउने कुरा त तीन हात परको कुरा भैगो । केही गरी नुहाउन प¥यो भने पनि साबुन, पानी लगायत सवका सव थोरै भए पुग्ने उपाय छ मसँग । काठमाडौंका घरमुलीहरूले अवदेखि तालुखुइलेहरूलाई मात्र डेरामा राख्ने गर्नुस् अरुलाई वात । टन्टैसाफ । ठुटे कपाल भएका महिला दिदीबहिनीहरूलाई डेरामा राख्दा कम पानी भए पुग्यो । न त ट्वाइलेट जाम होला भन्ने पीर, न त टेन्सन बोक्नपर्ने पीर, न त जुम्रा पर्ला भन्ने पीर, न त चायाँ पर्ने पीर, क्या हाइसन्चो ।

केही महिना पहिले माओवादीको भातृ सङ्गठन नेवाः राज्यले उपत्यका बन्द ग¥यो । गोपीकृष्ण हलदेखि धादिङको खानीखोलासम्म हिँडेर पुगियो । फर्कंदा खानीखोलाबाट आधा बाटो पार भएर हिँड्दै गर्दा प्रेसको गाडी भेटियो । यसो जम्लेहात अनुरोध गरेको त कलङ्की चोकसम्म पु¥याउने शर्तमा चढियो । शर्त बमोजिमको नगद तिरियो अनि हिँडियो । कङ्लकी चोकबाट गोपीकृष्ण हल पुग्न छोटो छोटो बाटो हुँदै घर पुग्ने योजना बनाएँ । कलङ्की चोकबाट भित्री बाटो हुँदै टेकु निस्केँ । त्यहाँबाट भित्री बाटो हुँदै यङ्गाल पुगें । यङ्गालबाट भित्री चोक, भित्री चोकबाट अर्को चोक निस्कनु थियो । पहिले पहिले बनेका होचा होेचा घरको मुनिमुनि हुँदै ओमबहाल निस्केँ । खानीखोलादेखि त्यहाँ आइपुग्दा हपहप गर्मीले गर्दा जीउमा लुगा लफ्रक्कै भिजेको थियो । निधारबाट खलखली पसिना बगिरहेको थियो । हिँडाइ ज्यादा भएर पो हो कि खट्टा दुखेर हिँड्नै नसक्ने अवस्थामा पुगेको थिएँ । तर म बहुला सरकारको चेपुवामा परेको थिएँ । सडकमा मान्छेको भीडभाड र हाहाहुहु बाहेक केही सुनिदैनथ्यो । एम्वुलेन्स र पे्रसको गाडी मात्र मोटरको नाममा कुदेको देखिन्थ्यो । यङ्गालबाट होचा घरको मुनिबाट अर्को चोक निस्कने बेलामा होचा घरको थाममा टाउको ठोक्किएर फुट्यो । धन्य ! त्यो दिन मैले टोपी लगाएको थिएँ र मात्र, थोरै चोट लाग्यो । नत्र त गाह्रै पर्ने । घरको थाममा ठोक्किएर तिरिमिरिझ्याईं देखें र टाउको समाएर थचक्क बस्न पुगेँ । घाउले टनटन दुखेको टाउको समाउँदै बसिरहेको मात्र के थिएँ त्यहिबेला टोले कुकुरले पहिले मलाई हेर्नु हे¥यो, उसले सोचे भन्दा फरक मान्छे पाएर पो हो कि अनि मात्र भुकेर मलाई लखेट्न थाल्यो । म अघि अघि कुकुर पछि पछि । एकछिन सम्झें मान्छे र कुकुर बीच दौड प्रतियोगिता भइरहेको अनुमान हुन्थ्यो । त्यहीबेला कुकुरका मालिकले कुकुरको नाम लिएर बोलाएपछि ऊ टक्क अडियो अनि मात्र मैले सुखको सास फेरेर आराम गर्न पाएँ । त्यहाँबाट सुस्त सुस्त बिस्तारै हिँड्दै चावहिलको गोपीकृष्ण हल छेउको घर पुगेँ । सोझो पायो भने कुकुरले त बाँकी राख्दैन भने मान्छेले के राख्ला ! झण्डैले बिताएन त्यो दिन कुकुरले ।

बालाजु शाखामा कार्यरत भएको बेलामा मलाई एकजना गार्डले कपाल पलाउने उपाय सिकाउन थाल्यो । मैले उसको सबै कुरा डिट्टो नविराईकन सुनेँ । कुरा के रहेछ भने– गाईको गोवर, खाने तेल आधा लिटर, नुन आधा किलो, तितेपाती, चिप्लेकीरा, अदुवा, लसुन, बेसार लगायतका सामग्रीलाई एक ठाउँमा जम्मा पार्ने, पिन्ने कुरा जति पिन्ने, अनि मात्र सवै चिज एकै ठाँउमा राखेर मज्जाले मुछ्ने । यो भयो बनाउने बिधि । तयारी सामग्री टाउकोभरी दल्ने, नेपाली कागजले टास्ने । यसरी सके दिनका दिन, नसके हप्तामा एकचोटी मात्र लगाएको खण्डमा पक्का कपाल उम्रिन्छ भनेर सल्लाह दिए । एक त नेवारको छोरालाई गोवर छुनु नै गाह्रो, त्यसमाथि टाउकोमा दल्ने भनेपछि मैले सोच्न पनि सकिनँ । अरुलाई एकचोटी सल्लाह मागूँ कि जस्तो लाग्याथ्यो टाउकोमा गोबर दल्ने भनेपछि मैले आँटै गर्न सकिनँ । मैले पछि सोचेँ– गार्डले भने बमोजिमको औषधी दल्दा कपाल उम्रने भए संसारका ठूलाठूला व्यक्तित्वहरूको तालु ढकमक्क कपालले भरिएको हुनुपर्ने, त्यसै खाली बनाएर के हिँड्थे होला जसो लाग्यो । अर्को मनले भन्यो– न त ख्याउनु पर्ने न त स्याहार सुसार नै गर्नुपर्ने यो नाथे काममा लाईराख्छ भनेर टारेँ । मैले त्यो गार्डको सल्लाहलाई हल्लामा मिसाउँदा पो वल्ल थाहा पाएँ, त्यो त उसको उटपट्याङ पो रहेछ ।

वज्र पी पी हा हा
असनको धारा गाडेको निरको पसलमा पाइन्छ ।
अर्को एकजना मिल्ने साथीले मेरो तालु खुइलेको देखेपछि सान्त्वना स्वरूप एउटा कागजको चिरकट्टोमा लेखिए अनुसारको औषधी खोजेर लाउनु, कपाल उम्रिन्छ भनेर एकदिन सल्लाह दिए । होला ता नि ! भनेर साथीले लेखिदिएको त्यही चिरकट्टो वोकेर औषधी पसलमा गएँ । पसलेले चिरकट्टो पढेर दिल खोलेर हाँस्यो, अर्को पसलमा जान अनुरोध ग¥यो । अर्को पसलमा गयो उसले पनि पहिलेको पसलेले गरे झैं ग¥यो । यसरी काठमाडौंमा खोलिएका औषधी पसल जतिमा छापा मार्दा पनि साथीले भनेको औषधी पाउन सकिनँ । पसल चहार्दा चहार्दा वरु हत्तु भइयो औषधी पाउन सकेको होइन । वरु मैले बोकेको चिरकट्टो पढेर औषधी पसलेहरूलाई पो फाइदा भएछ । एकछिन भए पनि सित्तैँमा हाँस्न पाए । पैसा तिर्नु प¥या भए बाउको विहे देख्थे होला ! मैले टाउकोमा कपाल उमारेर गुलाफको फूल झैं ढकमक्क पार्ने सपना कहिल्यै पूरा भएन । मैले बोकेको चिरकट्टो देखर अरुचाहिँ हाँस्ने, औषधी चाहिँ किन नपाएको होला भनि एकदिन धोत्लिँदा पो बल्ल आत्मज्ञान भयो– मलाई तिनै साथीले पनि हुस्सु बनाएका रहेछन् ।

तालु, चिण्डे, खल्वाट जे उपनाम दिएपनि साँचो कुरा तालुबाट कपाल खुइलिनु हो । कसै कसैलाई मसँग रिस उठ्या छ भने चिनाउने साझा माध्यम नै यही तालु हो । त्यसैले अरुलाई टाउकोमा कपाल नभएर पीर गर्छन् आफूलाई त क्या मज्जा भा’छ । कुरै नगरौं ! बाह्र वर्षको उमेरदेखि शुरु भएको यो तालुको लडाईं अहिले आएर सही सावित भएको छ । मेरो लागि तालु खुइलिन भनेको पाको भएको प्रमाण जुटेको हो । यो त्यसै खुइलेको छ भनेर अरुलाई देखाउन पनि खास्साको काम गरेको छ । जिन्दगीमा बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाएको प्रमाण पनि हो– मेरो तालु । अरुको तालुमा त आलु फल्ला तर मेरो तालुमा आलु होइन टुटुल्को मात्र फल्या छ । यी हेर्नोस् त भर्खरै मात्र ठोक्किएर फोको आएको ! जय आलु जय तालु ।
बज्र बिपी हाहा ।

चावहिल, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जेष्ठ नागरिक गीत

जेष्ठ नागरिक गीत

माणिकरत्न शाक्य
चिमोटेर…

चिमोटेर…

माणिकरत्न शाक्य
इस् कुटर

इस् कुटर

माणिकरत्न शाक्य
दुई फित्का

दुई फित्का

माणिकरत्न शाक्य
दुई खित्का

दुई खित्का

माणिकरत्न शाक्य