सोझो गाउँलेसिसिफसको नियति
सुकुम्बासी भएर हिँड्दथ्यो समय
शरणार्थी मन बाँच्दथे मान्छेहरू
कालरात्रीले ढाकेको धरतीमा
सुनको बिहानी ब्युँझाउन
आत्मबली दिएपछि योद्घाहरूले
देशमा सूर्योदय भएको थियो
रजस्वला सुरु नहुँदै
विधवा भएकी बालिका झैँ
कोक्रोमै कात्रो बेरिँदा घामको
खग्रास पसेको युगमा
रातो झण्डाले म्याराथुन जितेपछि
आस्थाको उज्यालो फर्किएको थियो
कुनै जँड्याहाले जाँडको तालमा
श्रीमतीसँग खाएको कसम झैँ
सहिदको सपथ खाएका सारथिहरूले
सपनाको सन्दुक जतन नगरिदिनाले
दरबार र ओढारको कोपमा परेको
विश्वासको बिरुवा बचाउन
सडकमा सुनामी आएको थियो
अस्पतालको ठेगाना हराएको एम्बुलेन्स झैँ
अँध्यारो सुरुङतिर धकेलिएको छ
नयाँ बिहानको भविष्य
दोहोरी रहेछ पुरानै शृङ्खला
डढेलो दन्केको छ फेरि आकाशमा
लोकतन्त्रको ऐनामा अनुहार हेर्न
आगो चपाउँदै आए पनि इतिहासले
सिसिफसको नियति रोकिएको छैन
गृहयुद्धको गर्भधारण गर्नुपर्दा बारबार
मातृभूमिको पाठेघरमा क्यान्सर भयो भने
चन्द्रसूर्यको तेज निभ्न बेर हुँदैन ।
थलारा, बझाङ
Subscribe
Login
0 Comments
Oldest








































