मनोज गजुरेलफिल्मोजी
सपना देख्नु सबैको अधिकार हो– सङ्कटकालले रोक्दैन, संविधानले छेक्दैन । कहींकतैबाट पनि सपना देख्नलाई प्रतिबन्ध छैन । सायद यसैले होला मानिसहरू आ–आफ्नै क्षमता अनुुसारका सपनाहरू देख्ने गर्दछन् । कोही वैज्ञानिक बनेर जून छुने सपना देख्छन् भने, डाक्टर भएर विरामीलाई गुन लगाउने सपना देख्नेहरू पनि हाम्रो देशमा नभएका होइनन् ।
व्यापारीहरू सुन फलाउने सपना देख्छन् । नेताहरू कार्यकर्ताको खून तताउने बारेमा सोच्ने गर्दछन् । मेरो चाहिँ व्यापारिक स्वभावको अभावले गर्दाखेरी सुनको त कुरै छाडौं, लसुन बेच्ने हुति पनि भएन । ‘ल्हासा जानु कुतिको बाटो’ भनेको जस्तो सुतीसुती शासन चलाउने मति पनि आएन । कतिपटक सांसद बन्ने सपना नदेखेको पनि होइन, तर चुनाव लड्दाखेरी आफ्नै दौंतरीहरू ओराली लागेको हरिणको गति भएको देखेर त्यतातिर उति सारो ध्यान दिइएन ।
‘पढ्नु गुन्नु साँढे बाईस, सपना देख्ने बा¥ह सत्ताइस’ भनेझैं नेता बन्ने योग्यता पति थिएन । जेल बस्नु पर्ने बेलामा खुरुखुरु स्कूलतिर हिडिँयो, अहिले आएर मन्त्री बन्छु भनेर हुन्छ र ! त्यसो भए यसको सपना चाहिँ धेरै पढ्ने पो रहेछ कि भन्ठान्नु भयो होला । झोला बोकेर स्कूल त गइएको हो नि, तर के गर्नु ? ‘गाईले दूध दियो भनेर डोकामा अडिदैन’ भनेजस्तै गुरुले दिएको ज्ञान झोलामा अडिने होइन रहेछ । ‘काम कुरो तलतिर–झोलाबोकी हलतिर’ भएर यो बित्यास प¥यो ।
शुरुमा त पढ्नतिर निक्कै मन लगाइयो । ट्यूसन र कोचिङमा धन पनि खन्याइएकै हो । तर जति पढे पनि नयाँ कुरो केही आउने होइन । एक कक्षामा पढ्दा खेरी पनि दुई दुना चार हुन्थ्यो, जुँगा उम्रिएर गाला चाउरी पर्ने बेलामा पनि दुई दुना चार नै हुन्छ । अब दशौं वर्ष पढ्दा एक अङ्क पनि प्लस हुँदैन भने त्यस्तो जाबो क्लास चढेर मात्रै के फाइदा ?
हाम्री हजुरआमै भन्ने गर्थिन्– ‘कि भनेको मान्नु, कि त …गेको खानु ।’ यसबेला बल्ल बुद्धिको बिर्को खुलेको छ । ‘हजुरआमै’ सिद्धान्तलाई आधार मानेर आजकल मःमः पार्टनर खप्परध्वजको भनाइ छ – ‘जाँचमा जिरो ल्याउनोस्, हिरो बन्ने पक्का छ । गिदीमा किरो पाल्नोस, हिरोइन बन्ने सेन्टपरसेन्ट कन्फर्म छ ।’
हो, म आजकाल ‘हिरो’ बन्ने सपना देख्न दिउँसै पनि झ्याप्प निदाइदिने गर्दछु । ए बाबा रे हौ– कस्तो महान् होला त्यो हिरो भन्ने चिज ? सात तलाबाट झ्वाम्म हाम फाल्न सकेको छ, सात दर्जन गुण्डाहरूलाई एक्लै खाल्डोमा हाल्न पनि सकेकै छ । एक मिनेटमा सत्ताइस ठाउँमा उभिएर नाच्न पनि हिरोले मात्रै सक्छ । म भने सपना देख्दादेख्दै सपनाले थिचेर सिन्काजस्तो भएको मरनच्यासे कसरी पो हिरो बन्न सकूँला भन्ठानेर हिरो बन्ने सपना त्यागेर पिरो तितौराको पसल थाप्ने स्थितिमा झण्डै थन्किइनै सकेको थिएँ । तर कलिउडका सुपरस्टारहरूको छत्रछायाँ पाएको मःमः पार्टनर खप्परध्वजले जब मलाई फिल्मी ज्ञान दिलायो, त्यसपछि म आफ्नो सपनामा प्रतिबद्ध भएको छु– ‘कोही ‘माइकेलाल’ ले मलाई हिरो बन्नबाट रोक्न सक्दैन ।’
माफ गर्नुहोला– महिला पुरुष समानताको युगमा हिरोइनको कुरा चाहिँ च्वाट्टै छुटाएछु । हिरोइन बन्ने प्रक्रिया समान छन् । हिरो बन्न अभिनय जान्नैपर्छ भन्ने कुनै जरुरी छैन । तपाईंको सजिलोको लागि डाइरेक्टर सा’ब तयार हुनुहुन्छ । कुन किक कताबाट हान्दा खेरी ठीक हुन्छ भन्ने ज्ञानतिर ध्यान दिनै पर्दैन– फाइट डाइरेक्टर भन्ने गुरुजी तम्तयार भएर बस्नु भएको छ । कम्मर मर्काउन सिकाउने ‘डान्स डाइरेक्टरको’ काम हो ।
आँखा झिम्काउन नजानेको भए कोही बात छैन– मेकअप म्यान हाजिर भएका हुन्छन् । घरबाट तपाईं जस्तोसुकै ड्रेस लगाएर आउनोस्– कथाअनुसार तपाईंलाई सर्भिसिङ्ग गर्न कोरियोग्राफर भन्ने मान्छे तुरुन्तै भेट्नु हुन्छ । के बोल्ने भन्ने कुरो तपाईंको चिन्ताको कुरो हैन, पटकथाकारले अघि नै रेडि गरिदिएको हुन्छ । कसरी बोल्ने होला भनेर कान रातो बनाउनै पर्दैन– सिंगै ‘मेन डाइरेक्टर’ सा’ब छँदैहुनुहुन्छ । बस्, तपाईं सुटिङ स्पटमा आएर उभिनोस् । बोल्ने– बोलाउने, नाच्ने– नचाउने काम क्यामेराले नै गर्छ, नभए ‘डुप्लीकेट’ ले भ्याईहाल्दछ । अब भन्नोस् त– ‘काम गर्ने कालु मकै खाने भालु’ भनेझैं यति सजिलै हिरो बन्न सकिन्छ भने किन ज्ञान गुनका कुरा पढ्ने ?
सके लगानी गरेर फूल हिरोमा अभिनय गरौंला । नसके चाकडी गरेर साइड हिरो खेल्नु होला । ‘कथाले मागेजति’ भनेर बैनीको रोल गरे हिरोइनको क्यूमा लाग्न सकिन्छ । निर्देशकले मागेजति ‘सीन’ दिने भए ‘फूल हिरोइन’ बन्न संस्कार र संस्कृति त के, कसैको इज्जतले पनि छेक्दैन । हिरो–हिरोइन बन्ने यी त मेरा ज्ञान भए । पढेर जान्नुभन्दा परेर जान्नु भन्छन् । हिरो–हिरोइन बन्नलाई अनुहार परेर मात्रै हुँदैन ।
आफूभन्दा जुनियर कलाकारलाई मान्छे नै नठान्ने स्वभाव पनि पर्नु पर्दछ भन्ने कुरो नायक राजन रांगा बताउँछन् । त्यतिमात्रै होइन, हिरो भनेको अरुले गर्न नसक्ने काम पनि चुट्कीका भरमा भ्याउने मानिस हो । स्पट ब्वाईहरूलाई हप्काउनेदेखि, लाइट मेनको सातो खाने काम हिरो भएपछि गर्नै पर्दछ । तपाईं भन्नोस् त, दूध दिने गाईको लात्ती सहनु पर्छ भन्ने कुरा कसले मान्दैन र ? तर हिरो–हिरोइन भएपछि त भात पकाउने भान्सेलाई भकुर्नु पर्दछ । नत्र भने तपाईं के हिरो–हिरोइन नि ? सबै कुरा अनुभवले सिक्ने हो । त्यसैले आउनोस्, नेपालका केही नामी सुपरस्टारका सुपर बानी–ब्यहोराहरू सुन्नोस् । अनि तपाईं पनि स्थापित कलाकार बन्ने अभियानमा सामेल हुनुहोस् ।
नायिका तिलस्मी भै.सी. लाई त तपाईंले चिन्नु नै भएको होला । उनको दुर्लभ गुण भनेको, गर्मीको बेला पंचाग्नी तापेर बस्ने, जाडोको बेला हिमालमा बसेर तपस्या गर्ने ऋषिको भन्दा कम छैन । ‘लौ !’ भन्ने सिनेमा सुटिङको बेला जोमसोमको लेकमा बडो धार्मिक घटना घट्यो । सबैजना खाना खान बसे । तर नायिका तिलस्मी चाहिँ कोका कोला बिना भोक पनि नमर्ने भनेर कोक लिन पठाएर बसिरहेकी थिइन् ।
जोमसोमबाट पोखरा आएर कोक लगेपछि उनले बल्ल डिनर खाएको घटना सम्झदै उक्त सुटिङका एकजना सदस्यले भने– ‘हो बा, नायिका हुनु त यस्तो पो त ! माइनस २ डिगीको तापक्रममा पनि कोक पिउनै पर्ने कस्तो तपस्या होला त ?’
सुश्री निन्द्रा थापाको त तपाईं फ्यान नै हो क्यारे ! तर उनको नेपाली राष्ट्रिय तरकारी गुन्द्रुक प्रेम कति छ भन्ने कुरो तपाईंलाई थाहा छैन होला, यो पनि सनिराख्नोस् । नेपाली फ्यान क्लबले उनको सम्मानमा एउटा ठीकैको भोजको आयोजना ग¥यो । पुलाउ, मासु, मिठाई, तन्दुरी– यी सबै ब्यञ्जनहरूलाई आँखा लगाइसकेपछि नायिका निद्राले दाह्रा किट्दै भनिन्– ‘आइ डन्ट लाइक दिस पाइन्ठ अफ कमन फुड्स’ । मैले उनको दाँतमा नियालेर हेरें– सफा सेता दाँतको बीचबाट प्रष्टै दखिन्थ्यो– बिहान घरमा भान्सा खाँदाखेरी दाँतमा अड्किएको एउटा गुन्द्रुकको त्यान्द्रो ।
सङ्गीतकार जय शम्भुको तिलस्मी ज्ञान बारेमा पनि थोरै भनिहालौं । उनी बिनातार पनि फोन गर्न सक्छन् । मोबाइल फोन हो कि भन्ठान्नु भयो होला, कुरो अर्कै छ । जय शम्भुले आफ्नो घरतिर आउँदै गरेको एकजना युवकलाई देखे र नयाँ मान्छे आएको देखेर उनले हत्तपत बिग्रिएको आफ्नो फोन उठाएर कसैसँग कुरा गर्न थाले– ‘म तीन लाख बिना कुनै फिल्ममा साइन गर्दिन ।’
ती युवक छेउमै आएपछि सङ्गीतकारजीले पुनः गफ जोत्न थाले– ‘फलानो फिल्ममा मैले चार लाख लिएको हुँ । तपाईंले भनेर… ।’ कुरो लामो हुने देखेपछि युवकले भन्यो– ‘हजुर, म दूरसञ्चारबाट आएको, यो फोन बिग्रिएको हो भन्ने कम्प्लेन थियो ।’ यत्ति कुरा सुनेर एकैछिन अगाडिको गहुँगोरो नायक नीलो भएको देखेर उल्टै दूरसञ्चारको टेक्निसियनको सातो गएको थियो ।
नायक सुदीप जलाहारीको राष्ट्रभाषा प्रेम यति प्रवल छ कि हरेकले सिक्नै पर्दछ । उनी जुनसुकै कुरा गर्दा, अन्तवार्ता दिँदा वा फ्यानसँग वातमार्दा ‘एक्चुअल्ली’, ‘ओ ! नो’, ‘स्योर’, ‘ह्वाई नट’, ‘आई मिन’– यतिबाहेक अरु सबै नेपाली नै प्रयोग गर्ने गर्दछन् । उनको यो भाषाप्रेम देखेर नेपाली भाषाविद्हरू पनि उनीकहाँ ट्यूसन लिन जान थालेका छन् रे ।
नाम पनि आउने, दाम पनि कमाइने, कसैले गर्न नसकेको काम पनि सजिलै सकिने, जस्तोसुकै गुण भए पनि फ्यानहरूले सिको गरिहाल्ने– यस्तो लाइन छोडेर को जाओस् कलेजतिर नलेज बढाउन ?
हामी खप्परध्वज र म त अब हिरो–हिरोइन नै बन्ने शुरमा छौं । तपार्इं पनि आउनोस् । हिरो–हिरोइन बन्ने कलिउडमा स्वागत छ । कि कसो ?
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest










































