साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ पार्टी गठनबारे प्रस्तावना

Nepal Telecom ad

भैरव अर्यालले खोलिदिएका नयाँ नयाँ पार्टीमा समेत भित्रिन नसकेपछि आजभोलि मैले पनि एउटा पार्टी नबनाई नहुने निधो गरेको छु । त्यो नयाँ पार्टीका बारेमा म केही गन्थनमन्थन गर्न लागिरहेको छु । कति जनाको केन्द्रे कमेटी, कति जनाको माधिवेसन प्रतिनिधि, कति जनाको पोलिटबुरो बनाउने जस्तासम्मका कुरा पनि म बबुरोलाई अहिले थाहा छैन । नाम कस्तो राख्ने, उद्धेश्य के राख्ने आदि कुरा ता तपशीलका भइगए । अहिले ता मेरो गन्थनमन्थन मात्र चल्दैछ । यो गन्थनमन्थनमा मेरो मात्र नभई अरुअरु पार्टीका कथाहरू पनि आउन सक्लान् । त्यसो भएपछि सुरुमै मैले पूर्वक्षमा त मागिराख्नु पर्छ । पार्टीको नाम, प्रस्तावना, यसको कार्यदिशा आदिमा कुनै अन्य अर्थ लागिहालेछ भने त्यसका लागि क्षमा माग्दै कुरा अघि बढाउँछु ।

केही यतादेखि नेपालमा सम्पूर्ण वर्ग, सम्प्रदाय, जात, जाति, लिङ्ग, वर्ण, पेशा आदि इत्यादिका नाममा एउटा न एउटा पार्टी वा सङ्घ–संस्थाहरू खुल्न थालेका छन् । केही महिनाभित्रै यहाँ पाटी खोल्नु भनेको रत्नपार्कका छेउछाउमा अथवा मन्दिर र घरचोकका अभिन्तरमा लोग्ने मान्छेले फास्नर खोल्नु जतिको कठिन पनि पर्न छाडेको बुझदछुु । तर मै अभागीलाई चाहिं न काँग्लेसले टिकस भिराए न त कमलेस्टहरूले नै । न त नयाँ नयाँ जन्म लिँदै गरेको पार्टीले नै ‘ए भाइ, टिकट काटेर जाऊ त’ भनेर नै बोलाए । देशमा भएका २, ४ सय पार्टीमा पनि नपरेपछि ता भएन अब । पार्टी बेगर ता नेपालमा अब बाँच्न सकिने अवस्था छैन । कस्तो रछ पार्टी बिना पनि बाँच्न सक्ने भन्ने अवगाल पनि आइपर्ला । के गरौं त ?

आजको यो अवस्थामा पनि अर्काको पार्टीकै भरौटे के भइरहने ? कसैले दिएको चाराने टिकस काटेर के बेजती गर्ने ? यस्तो खुला अवस्था भएको बेला मैले स्वयं पनि एउटा पार्टी खोल्न सक्तिनँ ? घिरुँलो घोर्लिएर फुस्रिएझैं फुस्रिएको कम भइसक्यो त ? के मेरो क्षमता छैन पार्टी खोल्ने ? ५० वर्र्षको पो भइसकेको छु त । आधा सेन्चुरी मारिसकेको मान्छेले के लाज मान्ने ?

हो महाशय, म ५० वर्षको कुमार वृद्ध हुँ । प्रत्येक साँझ लगनगाँठोमा बाँधिएको कल्पनामा सुतेर प्रत्येक बिहान एक पुत्र वियोगको दारुण व्यथामा ब्युँझदा ब्युँझदै मेरा ५० वर्ष सुइत्तै बितेछन् । पल्लोघरे लुतेले समेत माथिल्लो घरकी गठेसँग प्रेमको नतिजा उहिल्यै भोग गरिसक्यो । मेरै छिमेकी थाक्सीको कुरा गर्ने हो भने पनि उसले ता कति हो कति पुत्रपुत्रीहरूको मोचन गरिसकेकी छे भनिन्छ । अब त ममाथि मलाई नै रिस उठ्न थालेको छ– कुन हुतीहारा भएँछु म पनि ! ‘जवान छँदै एउटी लठेब्री घिसार्न सकिनस् अब खा मोरा बुढेस कालमा ताउलो !’ आमाको वचन ख्याल बिझाएको छैन । बाख्राका गलाको लुर्काे भन्दा के फरक प¥यो त मेरो जिन्दगी । तर धन्दा नमान्नोस् आमा, बहुदल हुँदैदेखि मैले पनि एउटा आफूलाई हुँदो खालको योजना तयार पारिरहेको छु ।

एउटा थियो पापी बुढो, उसले समयमै कुरा बुझिदिएको भए मेरी आमाले समयमै बुहारी पाउने थिइन् । बुढाको कुरा उठि नै हाल्यो अब । बरु त्यही बुढाका केही कुरा अघिल्तिर तेस्र्याऊँ । म त्यसै पापी बुढालाई मेरो हाकिम थियो भनी भन्न पनि सक्छु । एक जना थिए मेरा हाकिम । उनका घरभर थिए कुमारी कन्याहरू । तिनका कन्याहरू मेलैसँग मेरै आँखाअघि भटमास, कागती, सुन्तला र भोगटे हुँदै गए । सिनेमाको रिल सरेझैं साना कन्याहरूबाट ठूलातिर यो क्रम फलफूलको प्रकारमा सरेको कुरा पनि थामिनसक्नु गरी मैले हेरिरहनुप¥यो । जति जति बुढाका कन्या पुत्रीहरू एउटा फलको रूपबाट अर्काे फलको रूप हुनतिर लाग्दथे उतिउति बुढा भने आत्तिन्थे र ‘एउटा कुमार केटाको खोजी गर्न पाए हुँदो हो’ भनेर मसँग अप्रत्यक्ष केटो खोजी गर्ने काम सुम्पन खोज्थे । ‘आँखाअघि चौबिसै घन्टा डिउटी बजार्ने मजस्तो कुमार केटोतिर आँखा नपु¥याउने पापी बुढा ! तेरा आँखा फुटे !’ भन्दै तोरीको पूmल देख्तथें । जब उनकी कान्छी छोरीको रूप कुनै गद्दीमा बस्ने मारबाडीको जस्तो देखिन थाल्यो अनि पो बुढा ता ‘ए तिम्रो पनि बिहे ता भएको थिएन क्यारे, अर्काको भारी सहित कान्छीलाई स्याहार्ने एक जनाको खाँचो परेको थियो । तिम्रो के विचार छ ?’ पो भन्छ ए !

हिजोसम्म कुमारी भएको अवस्थामा म उसका अघि देखिइन, आज उसका छोरीहरूले जब भारी बोक्न थाले अनि त्यो भारी मैले स्याहार्नु पर्ने ! म त्यसै दिनदेखि निस्किएर हिंडेको त्यस बुढाका घरमा आजसम्म पसेको पनि छैन । जब म उसको घरबाट निस्किएँ अनि पो बुढो ता मसँग भिक मागेजस्तो गरी फोन गर्छ ए– ‘ए भाइ, लौन आइदेऊ । कान्छीको आठ महिना लागिसक्यो । अब फ्याल्न पनि मिलेन । बरु कसै गरेर स्याहाँर । मेरा नाममा रहेको ङ्वाँसी टोलको चाराना जग्गा पास गरिदिन्छु तिम्रो नाममा ।’

मैले माझै मुखबाट भनिदिएँ– ‘पापी बुढा, दिने नै मन भए अस्ति दिन्थ्यौ नि, हगिसकेपछि दैलो देख्ने तिमी जस्तालाई खुच्चिङ प¥यो । तिम्री छोरीको भकारो सोहोर्ने ठान्यौ कि क्या हो मलाई ?’ यसरी मैले बुढाको प्रस्ताव फिर्ता गरें । पापी बुढादेखि कम रिस उठेन । बुढाले छोरी जिम्मा लगाउन खोजेपछि मलाई ता बिहे गर्नु नै बेर्थ रहेछ भन्ने लाग्यो । मेरो बैंस त्यही पापी बुढाले निखारिदिएको हो । जेठीदेखि कान्छीसम्म मेरा आँखाकै सामुन्ने अर्काका भए म भने हेरेको हेरेकै भएँ । अब पछुताउनुभन्दा बाहेक के नै रहेको थियो र ?

कुरा फेरि बरालिएछन् । मैले अब देशका पार्टीहरूको सेखी नझारी भएको छैन । वृद्ध कुमार त भइहालें– बरु यसै क्षेत्रमा एउटा क्रान्तिकारी पार्टी खोल्ने निर्णयमा पुगेको छु । देशभरिका सबै कुमारहरूहो अब सरिक हुनोस्, वृद्ध कौमार्यको आनन्द लिनका लागि । कृपया कसैले कन्या दिन्छ र बिहे गरुँला अथवा कसैले मन पराउलान् र लभसभ गरेर लगनगाँठोमा बाँधिउँला भन्दा भन्दै जिन्दगी बिताउने धेरै छन् । म पनि त्यस्तै मध्येको एक हुँ । यसरी एक्लो जिन्दगी बिताउँदा कति गोता खानु पर्छ मलाई नै थाहा छ । त्यसैले मैजस्तो कुमार कुमारीकै रूपमा जिन्दगी बिताउन बाध्य भएकाहरूका लागि अब कठिनाइका दिन जानेछन् । नराम्रा दिनहरू गएर एक न एक दिन कुमार कृष्णप्रसाद बाबैका ता राम्रा दिन आउँदा रहेछन् । पर्खेर बस्नाले नै सुश्री भद्रा दिदीका दिन पनि आएका छन् । पर्खेर बसेकै कारणले अटल विहारीका दिन फिरे । पर्खेर बसेकै कारण थापा बुढा नरहरिनाथका दिन पनि फिरेका थिए । कहिले दिन फर्कन्छन् कहिले तर्कन्छन् यस्तै हो । त्यसैले कुमार बाहरू हो, हरेस नखानुहोस् । मैले गम खाएर भए पनि उपाय उब्जाएको छु हामी जस्ता कुमारका लागि उपयोगी हुने प्रकारको ।

यो बेला पार्टी खोल्न कुनै अप्ठेरो पर्दैन । त्यसैले मेरा पार्टी खोल्ने प्रयोजनका लागि एउटा तदर्थ समिति गठन गर्नु आवश्यक छ । यस्तो समिति गठन गर्न न कसैलाई सोध्नुपरोस् न कसैको सोर्सको आवश्यकतै परोस् । यता हे¥यो तदर्थ समिति, उता हे¥यो तदर्थ समिति । यस्तो खुला अवस्थामा पनि एउटा पार्टीको लागि तदर्थ समितिको गठन नगर्नु भनेको ता लाछी कुरा हो । यसैले एउटा तदर्थ समिति गठन गर्नु पर्ने नै भयो ।

मैले आफ्नो पार्टीको नाम ‘अखिल नेपाल क्रान्तिकारी कुमार कुमारी संघ’ राख्ने विचार गरेको छु । यस पार्टीको प्रमुख बसिदिनु हुन म नेपाल सरकारका अहिले २०४७ सालका प्रमुखलाई नै आग्रह गर्दछु । कुमार कुमारीको हक हित र पिरमर्का ता कुमार कुमारीहरूलाई नै बढी जानकारी हुन्छ । अहिले २०४७ सालमा बहुदल आउँदा आउँदैको मौकामा नेपाल देश थाम्ने जिम्मा कुमारका हातमा परेकाले पार्टी गठनमा सहयोग नै हुने बुझेको छु । कुमार कृष्णप्रसाद भट्टराई बा प्रधानमन्त्री भएको अवसरमा कुमारहरूको हितका लागि पार्टी नखोलिए कुन बेला खोलिएला त ?

यस पार्टीमा नेपालका सबै जातजाति, क्षेत्र र वर्गका कुमार कुमारीहरूले सदस्यता पाउने छन् । कुमार भन्नाले मेरा पार्टीमा बुढा कुमारलाई सम्झनुपर्ने छ र कुमारी भन्नाले पनि अविवाहिता र कमसे कम ५० वर्षभन्दा माथिका नारीहरूलाई सम्झनु पर्नेछ । तर पहिले बिहे गरेर कौमार्यत्व समाप्त गरेका अनि छोडछाड गरेर कुमारकै रूपमा रहेकाहरूलाई भने यसमा सदस्यता दिइने छैन । बिहे नगरीकन ५० बाट उकालो लागेको भए ऊ कुमारै रहेको छ छैन भन्ने कुराको खोजी नगरी सदस्यता दिन सकिनेछ । यस परिसीमाभित्र पर्ने त्यस्ता कुमारहरू छन् भने तराईदेखि पहाडसम्मका, झुप्रादेखि महलसम्मका र घरबारदेखि दरबारसम्मका सबैलाई पार्टीमा बेहोरिनेछ ।

यसको केन्द्रीय कार्यालय काठमाडौंको गोकर्णमा राखिने छ । कता कताबाट गोकर्णको जंगल बेचबिखन भएको पनि सुनिएको हो । यदि त्यसो हो भने यसको केन्द्रीय कार्यालय सूर्यविनायकको जङ्गलतिर पनि खोल्न सकिनेछ । यसको खास कारण छ । मेरो पार्टी चाराने भाङ्लो भिर्नासाथ महान् व्यक्ति मान्ने र पतिया नै गरेको ठान्ने किसिमको हुनेछैन । मेरो पार्टी जातिधर्म, संप्रदाय, लिङ्गबाट निरपेक्ष रहनेछ ।

मेरा पार्टीको सबैभन्दा ठूलो आदर्श यौन स्वतन्त्रताको उपभोग गर्न दिने बारेको छ । हो, महाशय, मेरो पार्टीको मूल विषय यौनको स्वतन्त्रतापूर्वक सही रूपमा उपभोग गर्न पाउनु पर्छ भन्ने नै हो । मेरो पार्टीेले यौन उपभोगमा अनुदारवादीहरूलाई वर्गशत्रु मान्नेछ ।

यो मूल कुरा सुन्ने बित्तिकै देशभरिका कुमार कुमारीहरूले नराम्रो सपना देखिसकेको हुनुपर्छ । कति कुमार कुमारीले ता कात्तिकको लर्काेको कल्पना पनि गरिसकेको हुनुपर्छ । अनि कतिले भने सदस्यताको खोजी पनि गरिसकेको हुुनुपर्छ । सस्तो दाममा सदस्यता किनेका मान्छेले अरु थोक ता के नै खोज्छ र ? चारानामा सदस्यता लिनेहरूका आँखा सबैतिर हरियो न देख्छन् ।

यौनस्वतन्त्रताको कुरा गर्ने बित्तिकै केही कट्टरपन्थीहरूलाई धक लाग्ला । धक मान्नु पर्दैन । ढाँटेर के कुरा गर्नु ? यसो छेलिएर लघुशङ्का गरेकै शैलीमा अहिले पनि ता यौनको उपभोग भइरहेको छ । प्रणामीहरूले रासलीला गर्दा यस कर्मको उहिल्यैदेखि उपभोग गर्दछन् भन्ने सुनिन्छ । जात्रामात्रा र बस यात्रामा यौन स्वतन्त्रताको उपभोग देखादेख भइरहेकै छ । मन्दिरहरू मूर्तिविहीन भए पनि युवायुवतीको तिनै मन्दिरतिर लर्काे लाग्नुको अर्थ यो नभए अरु के हो त ? सिनेमा घरहरू ता यौनका प्रयोगशाला नै भइहाले । अचेल थोत्रा पाटीपौवा र सडक गल्लीतिर उपयोग गरेका ढालहरू बग्रेल्ती छरिएका भेटिन्छन् । त्यसबाट पनि यौन स्वतन्त्रताबारे थप प्रमाण जुटाउन मद्दत पुग्दछ । झन् ढल, डस्टबिन र नालीहरूतिर भेटिने सालनाल सहितका मान्छेका बिरुवाहरूलाई साक्षी राख्नु हो भने ता यस कुराको अझ ठूलो प्रमाण जुट्तछ । त्यसैले हाल यहाँ यौन स्वतन्त्रता छैन भन्नु हातले घामलाई छेक्नु जत्तिकै मात्र हो ।

पार्टीले नै यौन स्वतन्त्रतालाई अख्तियारी गरेपछि यौनका बारेमा अलिकति भ्रम पनि हुन सक्ला । विशेष गरी यौन स्वतन्त्रताले जनसङ्ख्याको वृद्धिलाई सघाउने र विकृति ल्याउने काम गर्ला भन्ने डरले नै यहाँ त्यसलाई खुला गरिएको छैन । मेरा पार्टीमा यो समस्या नै रहँदैन । यस पार्टीमा जनसङ्ख्या उमार्न सक्ने क्षमतै नभएका वृद्ध कन्याहरूलाई पार्टीमा सदस्यता दिइने हुँदा सो समस्या स्वतः समाधान हुन जान्छ । चक्रवृद्धि ढङ्गले ब्याज उपार्जन गर्ने क्षमतै नभएका वृद्ध कन्याहरू पार्टीमा लिनुको तात्पर्य नै यही हो । मासिक चक्रबाट ब्याज आर्जन गर्न छाडेका सदस्यलाई मात्र सदस्यता दिने हुनाले मेरा पार्टीले कुनै समस्या खडा गर्नेवाला छैन । काङ्लेसै हुँ, कम्लिस्ट नै हुँ भनेर पुराना नयाँ मन्डलेहरूले ती पार्टीमा प्रवेश गरेझैं कुमार कुमारी नै हांै भन्दै मेरा पार्टीमा प्रवेश गरेर ब्याज उत्पादन गर्ने र ब्याड बनाउलान् भन्ने खतरालाई ध्यानमा राखेर उत्पादन क्षमताबारे गहिरो छानबीन गरेर मात्र सदस्यता दिने व्यवस्था गरिनेछ ।

नेपाली काङ्ग्रेसमा र कम्युनिस्टमा हालसम्म पनि प्रवेश नलिएर उभ्रिएका बाँकी बैला, बेत बसेका, छडुल्ला र हिजडाहरूलाई मेरा पार्टीमा खुला आमन्त्रण छ । देवीदेउता भाकल गरेर, हरिवंश पुराण लगाएर अनि अनेक उपाय गरेर समेत निसन्तानै रहन बाध्य भइरहेका नवदम्पतीहरूलाई यद्यपि ती कुमार कुमारी हुँदैनन् तापनि मेरा पार्टीमा ढोका खुला गरिनु पर्ला कि भन्ने विचार राखेको छु । बेत बसिसक्ने बित्तिकै दसी प्रमाण लिई आउनेहरूलाई पनि पो सदस्यता दिनु पर्ने हो कि भन्ने कुरा पार्टीमा विचाराधीन छ । यस्ताहरूलाई पनि सदस्यता दियो भने पार्टीको हित विपरीत हुने हो कि भन्ने हुनाले त्यसबारे चाहिं अलिक गम्भीर नीति तयार गरिने छ ।

अब भन्नोस् वृद्धजनहरू, कुरा कस्तो आउँदै छ त ? अन्य लिङ्गीहरू, वृद्ध, बैला र बेत बसेकाहरूलाई यौन स्वतन्त्रता दिँंदैमा समाजमा के असर पर्न सक्ला ? लौ वृद्ध कुमार कुमारीले यौन स्वतन्त्रताको दुरूपयोग नै गरेछन् अरे ! त्यसबाट राष्ट्रलाई के नै हानी हुन्छ ? सार्वजनिक थलामा बालबच्चा फ्यालिएलान् भन्ने डर नै हुन्न । अरु अरु पार्टीहरूले अहिले बजारमा, गाउँगल्ली र चोकचोकमा भ्रुण फ्याँक्नेहरूलाई नियन्त्रग गर न बरु । मेरा पार्टीको समस्या ता मै गरिहाल्छु नि ! मेरोमा ता सदस्यहरू नै बुढाबुढी भइसक्न लागेकाहरू मात्र हुने हुँदा यौनलाई अति प्रयोग गरेर एड्स पो उत्पादन गर्लान् कि, वा बालबच्चा पो फ्याँक्लान् कि भन्ने चिन्ता ता लिनै पर्दैन ।

अब मेरा पार्टीले यौनस्वतन्त्रताबारे अख्तियारी गर्न लागेको नीतिको अर्थ कसरी गलत हुन सक्छ ? पार्टीको आकर्Èण्ँ नै यौन स्वतन्त्रता र देशलाई गलत जनसंख्याको रोकथाम हो । पार्टीभित्र केही आकर्षणका प्याकेज ल्याउनै पर्छ । त्यसरी केही आकर्षण ल्याइएन भने र केही आकर्षक अफर गरिएन भने ता सदस्यताको हाहाकार पनि हुन सक्छ । सदस्यको हारालुछ भइरहेको यो अवस्थामा पार्टीमा चरो मुुसो पनि आउन सक्तैन, अनि कुमार कुमारी कताबाट आउने ?

त्यसैले देशभरिका वृद्ध कुमारहरू ! हामीलाई पनि एउटा पार्टी चाहिएको छ । बुढेसकालमा भए पनि हामीले एउटा संगठनलाई हरियो बनाउनु पर्छ । मेरै अध्यक्षतामा मैले एक सदस्यीय तदर्थ समिति गठन गरेको छु । पार्टीका थप ढाँचा, विधान, र नीति नियमहरू बन्दै जानेछन् । बाँकी छुटपुटबारे, पार्टीका आकर्षण र निवृत्तिबारे जानकारी र सुझाव पठाउने काम गर्नु हुनेछ । मेरो यो प्रस्ताव बारे पनि राय पठाउनु हुनेछ ।

तपाईंहरूको वृद्ध कुमार
अध्यक्ष
अखिल नेपाल क्रन्तिकारी वृद्ध कुमार कुमारी पार्टी
तदर्थ समिति

शृङ्खला (मासिक) २५, २०४७ मा तथा ‘खुइलिएको तालु’ २०७० बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x