साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विमोचन यान्ड कम्पनी प्रा.लि.

Nepal Telecom ad

“मैले कति खर्च गरेर किताब लेखेँ र मन्त्रीलाई विमोचन गर्न बोलाएँ, भरे भन्दा निम्ता दिँदासम्म मन्त्री थिए, मेरो किताबको विमोचन गरेका बेला त मन्त्रीबाट खुस्किसकेका पो रहेछन् । कत्रो आश थियो साँझ टेलिभिजनमा आफ्नो पनि अनुहार हेरौँला भन्ने त्यत्तिकै भयो । वास्तवमा यस्तो काम बहालवाला मन्त्रीकै हातबाट गर्दा मात्र राम्रो हुँदोरहेछ ।” मसँग मेरा कवि साथीले गुनासो गरेका थिए र विमोचन आदि कार्य बहालवाला मन्त्रीकै हातबाट गरिनुपर्ने निश्कर्ष निकालेका थिए । मलाई लाग्यो, मेरा साथीले आफ्नो अनुहार टेलिभिजनमा हेर्ने इच्छाले कविता लेखेको रहेछ ।
अनि म यस समस्याको समाधानको कुनै उपाय छ कि भनेर लागेँ घोत्लिन ।
उहिले उहिलेदेखि समाजमा चलेर आएका कतिपय कुराहरूमा आजभोलि निकै ठूला परिवर्तन आएका छन् । त्यस्ता परिवर्तनहरू लवाइखवाई, आनीबानी, पठनपाठन, चालढाल, भोजभतेर आदि कुराहरूमा देखिन्छन् । त्यस्ता कुराहरूमा हाल आएर आकाशपातालको अन्तर देखिन थालेको छ । अहिले ढर्रा गर्ने बानी, ठर्रा तान्ने बानी र पर्रा छाड्ने बानीमा पनि बडो फेरबदल आएको छ र फलेफुलेको छ । त्यस्ता ढर्राहरू विशेष गरी पास्नी, किरिया, न्वारन, दाइजो, साइपाटो, टीकाटालो, फूलमाला, स्वयम्बर, पूजाआजा, सप्ताह, चतुर्मासा, कोटीहोम, अक्षहोम, नानाथरीका पुराणवाचन, शतचण्डी, अखण्डकीर्तन लगायतका कुराहरूमा देखिन थालेका छन् । आफ्ना ढर्रालाई ल्परैबाट प्रदर्शन गर्ने परिपाटीमा पनि बढोत्तरी भएको छ । यसरी गरिने त्यस्ता ढर्राहरू वा समारोहसँग जोडिन आउने मूलकुरा भोजभतेर, पार्टी आदि पनि हो । यस्तो पार्टी वा भोजभतेरको आयोजनामा पनि आजभोलि निकै ठूलो परिवर्तन हुन थालेको छ । यस्ता धार्मिक कृत्यहरूको कुनै निश्चित समयमा अनुष्ठान गरिने चलन थियो । तर आजभोलि यस्ता चलनमा पनि परिवर्तन आएको छ । परिवर्तन आउँदो नै रहेछ । उहिलेउहिले तरुनी हुनलाई पन्ध्रसोह्र वर्ष लाग्थ्यो, आज एघाह्र वर्ष लाग्दा नलाग्दै भरिभराउ हुन थाल्छन् । परिवर्तनको यस युगमा सबै कुरा परिवर्तनीय हुन सक्छ । आश्चर्य मान्ने काम छैन । भलै बिहे राती पारेरै गरिने चलन भए पनि राती गरिने विहेबटुलाका कामहरू भटाभटी दिउँसै गरिन थालेका छन् । रात्रिका लगनलाई बेवास्ता गरेर दिवा लग्नका रूपमा पात्रोले किटेको देखिन्छ । हुन त बिहेपछिको सुहागरात पनि अब पात्रोमा सुहागदिन भनेर लेखिदेलान् । अनि केही आराम हुने थियो । राति गरिने बिहेहरू दिउँसो किन सारिए भन्ने विषयमा उति गतिलो तर्क नआए पनि त्यस्ता राति गरिने बिहे भन्दा सिन्दुर नहाली गरिने अनौपचारिक सुहागरातको र त्यस्ता बिहेको मात्रा ज्यादै बढेर गएको थियो भन्ने कुरा सुनिन्थ्यो । यो कुरा उति थाहा भएन । थाहा पनि कसरी होस्, एक त रातिको कुरा त्यसमा पनि हाकाहाकी नहुने कुराको जानकारी कसरी गर्ने त ? यस खालका कुराको प्रमाण खोजेर पार पनि लाग्दैन । केही महिना भएपछि प्रमाण आफैँ देखिन थाल्छ । तर अब त परिवार नियोजनका कारण प्रमाणहरू नियमपूर्वक नष्ट हुन थालेका छन् । यसबाहेक यसरी राति गरिने बिहेका सामाजिक र व्यावहारिक पक्षमा पनि केही समस्या भए भन्ने सुनिन्थ्यो । ती पनि के कस्ता थिए त्यो पनि बेग्लै विषय हो । भैगो यी कुरा छाडौँ ।
मलाई के लाग्छ भने यी सबै कुराहरू समाजमा पर्ने अप्ठेरोलाई सजिलो पार्नका लागि गरिएको हुनुपर्छ । समयको मागअनुसार परिवर्तनका क्रममा यी सबै कुराहरूमा छाप परिरहन्छ । अप्ठेरा कुरा सजिला बनाउने प्रयास गरिन्छ र गरिनु पनि पर्छ । आज अप्ठेरो भनेको बिहे मात्र नभई अन्य विषयमा पनि परिरहेको छ । त्यसैले यस्ता अनेकथरीका अप्ठेराहरूलाई केही सजिलो पार्नुपर्ने स्थिति देखिएकाले म यहाँ केही विचार गर्न लागिरहेको छु । मेरा यी कुराहरू समाजका लागि आवश्यक ठानिए सामाजिक व्यवहारमा लागू पनि गरिएला भन्ने आशा गरेको छु ।
देशमा बनमारा झार जस्तै गरेर जनसङ्ख्या बढेर गएको छ । गाउँबस्ती, टोलचोक, शहरबजार सबैतिर मानिसहरूको भीडभाड हुने गरेको छ । यसबाट ठूलाठूला अव्यवस्थाहरू जन्मेका छन् । यस्ता भीडभाड वा अव्यवस्थाहरूलाई व्यवस्थित गर्न वा गाउँबस्तीलाई व्यवस्थित पार्नका लागि ठूलाठूला कामहरू हुन थालेका छन् । यस्ता कामहरूले आफ्ना गाउँठाउँका मानिसहरूलाई सुबिस्ता पुर्याउने गर्दछन् । सामुदायिक कार्यक्रमहरू, सहकारीका कुराहरू, कल्याणकोषहरू गठन गरेर समाजका लागि सहयोग पुर्याउने कामहरू लगालग थालिएका छन् । सुविधाहरू दिन कतिपय व्याङ्कहरू जनताका घरदैलामा आउन थालेका छन् । यस्ता राम्राराम्रा कामहरूको थालनी गर्ने काममा ठूलाबडाहरूका लागि भ्याइनभ्याइ छ । प्रधानमन्त्रीका पूर्वपुरुषहरू, प्रधानमन्त्रीका दावेदारहरू र मन्त्री बिचराको भ्याइनभ्याइ छ । आजभोलि मन्त्रीहरूको सङ्ख्या कम राख्ने चलनले गर्दा बढो मुस्किल पर्न थालेको छ । उसमा पनि चक्रपथभन्दा बाहिर मन्त्रीहरूलाई त्यस्ता जनताका काममा गइसक्नु छैन । गाउँठाउँमा जालान् भन्ने ता कल्पनै नगरौँ । उद्घाटन र शिलान्यास त गाउँठाउँमा पनि जोडतोडले गर्नेपर्नै भयो । त्यहाँ मन्त्रीहरू जान नसक्ने पनि भए । अब के गर्ने ? यता मन्त्रीहरू गाउँठाउँमा जाने नसक्ने यस्तो अप्ठेरो कुरा छ । त्यसो भएकाले जनतालाई ठूलो मार्का परेको छ । बडो मुस्किलले मन्त्रीको गर्जा टरेको छ । गाउँठाउँमा ता मन्त्रीहरू जान सक्तैनन् अरे, कुरा साँचै पनि हो । जान सकिहाले भने पनि जाँदासम्म बहालमा पुग्छन्, पुग्दा नपुग्दै पदबाट बर्खास्त गरिन पनि सक्छन् । यसैले उनीहरूलाई भनेका ठाउँमा जान नसक्ने बाध्यताहरू छन् । जेसुकै होस् । जान नसकून्, लौ भैगो । गाउँका बूढापाकाहरूलाई ल्याएर त्यस्ता मन्त्रीहरूले गर्नुपर्ने काम अर्थात् उद्घाटन, फिताकटान, भाषण, सम्मान, पुरस्कार वितरण वा विमोचन जस्ता अनेकौँ जनताका कामहरू गरिएलान् तर शहरमा पनि मन्त्रीको खाँचो हुने गरेको रहेछ । यो निकै ठूलो समस्याको विषय हो । जनतालाई जता पनि मन्त्रीकै खाँचो परिरहन्छ । चाहिने जति मन्त्रीको खाँचो पुर्याइएकै छ । विना विभागकै भए पनि मन्त्रीहरू राखेर बुद्धि पुर्याइएकै छ ।
विमोचन र फिताकटानका लागि भए पनि अलग मन्त्रीहरूको बन्दोबस्त गरिएकै छ । तर अचेल भोलि मन्त्रीहरूलाई भ्याइनभ्याई भएको छ । यता कुनै सम्मान समारोहमा पुग्यो, अगाडि नै केही शब्द बोल्यो अनि बीचैबाट निस्किएर अर्का समारोहमा फिता काट्न पुग्यो । त्यहाँको फिता काटेर त्यहाँबाट पनि फटटट्सँग निस्कियो र आर्काेतिर फड्दुवाल कस्यो । साँझापर्दा नपर्दा दशतिरका उद्घाटन, फिताकटान, भाषण, सम्मान, पुरस्कार वितरण वा विमोचन जस्ता अनेकौँ जनताका काममा असिनपसिन हुँदै मन्त्रीहरूले कति दुःख गरेका होलान् । बिचरा ! खाने कतिबेला, घुसको तानाबाना मिलाउने कतिबेला, सरुवाबढुवा र खोसुवाका लागि काम गर्ने कतिबेला ! हातमुख जोड्न पनि भ्याएका छैनन् । पहिली पत्नीसँगको रसबसका लागि पनि भ्याइनभ्याई छ । अनि बलबहादुरजीको जस्तो अर्काकी भार्याको घरमा जान पर्खाल उक्लने फुर्सद नै कहाँ पर्ला र ? हुन त मन्त्रीलाई यसरी व्यस्त राख्नु पनि परोक्ष रूपमा फाइदाकै विषय हो ।
के गर्ने थोरै मन्त्री भए भनेर देशमा काम रोक्नु पनि त भएन । थोरै मन्त्रीहरूले पनि देशमा काम ता चलाउनै पर्छ । मन्त्रीको सर्टेज हुने सम्भावनालाई ध्यानमा राखेर म केही नुस्खा तयार गर्न लागिरहेको छु । केही केही सजिला उपायहरूको खोजी गर्न लागिरहेको छु । आवश्यक ठानिए अजमाए बेश होला ।
हाल आएर देशका मुख्य समस्या भनेको उद्घाटन, फिता कटान र विमोचनमा परिरहेको छ । यस्ता कममा आइलागेका समस्या सजिलोसँग समाधान नगर्दा देशको विकासै रोकिन लाग्यो । त्यसैले यस समस्यालाई समाधान गर्ने सहज उपाय नखोजी भएन । यस समस्याको समाधानका हाललाई दुई उपाय छन् कि त उद्घाटन वा शिलान्यास गर्ने ठाउँको नामनक्सा तयार पारेर मन्त्री जहाँ छन् उहीँबाट उद्घाटन वा शिलान्यास गर्नु पर्यो अथवा उद्घाटन वा विमोचनको थलो जहाँ हो त्यहीँ माथिको आकाशबाट हेलिकेप्टरमा मन्त्रीले उडिदिनु पर्यो । यिनमा पछिल्लो उपाय केही खर्चिलो छ । बरु अघिल्लै उपायलाई व्यवहारमा लागु गर्नु उपयुक्त हुन सक्छ । देशमा बजेटको जोहो पनि गर्नुछ । बन्दुक र बारुद किन्न समस्या परिरहेको बेला यसै कामबाट भए पनि अलिकति बचत हुन सक्यो भने देशको विकासमा अलिकति भए पनि योगदान हुन सक्छ । उद्घाटन गरिने थातथलोको नामनक्सा लिएर त्यस कार्यका सम्बन्धितले मन्त्रीका हातबाट उद्घाटन भयो भन्ने वचन गिराउन सक्यो भने त्यसमा कुनै समस्या पर्दैन । शिलान्यासका लागि भने मन्त्रीक्वाटरमा इँटा र वा ढुङ्गा थुपारिराख्नु पर्छ । जसलाई शिलान्यास गर्नुछ मन्त्रीका हातबाट त्यही इँटा लिएर जहाँ शिलान्यास गर्नु छ त्यहीँ गयो र हालिदियो बस्, भइहाल्छ ।
विमोचन र फिता कटानका लागि पनि यही जुक्ति गर्नुपर्छ । मन्त्रीक्वाटरमै विमोचन कार्यको बन्दोबस्तीका सामानको जोगाड गरिदिनुपर्छ । मन्त्रीका वरिपरि मान्छेको कमी हुने कुरै भएन । रेडिमेड आमन्त्रितका रूपमा मन्त्रीको ढोका कुर्न गएका तिनै कुरुवाहरूलाई क्यामरामा कैद गरिदियो । अनि मन्त्रीको विमोचन कार्य फत्ते ग¥यो । विमोचन गर्नु भनेको बेलुका टेलिभिजनमा आफ्नोे अनुहार हेर्नु त हो नि ! मन्त्रीलाई नै विमोचन गराइसकेपछि तस्वीर खिच्न क्यामेराहरू पुगिहाल्छन् । कुनै समस्यै पर्दैन । कुरा मिल्यो भने मुख्य समाचारको रूपमा नै समाचार प्रसारण हुन सक्छ । विमोचन बाहेक धुसा ओढाउने, मफ्लर भिराएर सम्मान गरिदिने, पुरस्कार बाँड्ने, प्रमाणपत्र हातमा हालिदिने, कविता सुनाउने, गजल चर्काउने जस्ता नाना भाँतीका कार्यमा मन्त्री नभई हुन छाडेको छ । सबैका एक न एक कविताका किताबहरू छापिएर दिनहुँ विमोचन हुँदाछन् । देशैभरि अहोरात्रका यी कामहरूको खेती चलेको चल्यै छ । सबैको विमोचन नगरी पनि भएन । यस्तो विमोचन कार्यमा मन्त्री नहुनु भनेको विहेमा बेहुली नहुनु जस्तो हो ।
मन्त्रीलाई यति मात्र काम हुन्छ र ? आमरण अनसनमा बसेकाहरूका मुखमा सर्वतपानी पिलाउनु प¥यो, नयाँनयाँ ठेक्कापट्टा दिलाउनु पर्यो । त्यस्ता ठेक्कापट्टा मिलाइदिएकाहरूको रात्रिभोजमा दुरुङ्गपानी तन्काउन आफैँ पनि जानु पर्यो, सरुवाबढुवाको प्रबन्ध मिलाउनु पर्यो, आफ्नी स्वास्नीको पेटीकोट सिङ्गापुरमा गएर सिलाउनु पर्यो, अरु के के हो मिलाउनु पर्यो कम काम छ त ? यसैले मन्त्रीबाट विमोचन गराउने भए विमोचनका लागि बन्दोबस्तीका साधन लिएर मन्त्रीक्वाटर जानुपर्छ । त्यहीँ विराजमान भएका मन्त्रीबाट उसैलाई छुवाएर विमोचन गराउनु पर्छ । अनि आउँछ, साँझको टेलिभिजनमा खबर ।
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x