हरि खनालयो कसैले नपढ्नु होला
पुरस्कार किनेको छैन, पत्रकार चिनेको छैन । न गन बोक्न सकियो न डन राख्न सकियो । कसले लिन्छ मेरो अन्तवार्ता ? मैले नै लिएँ मेरो अन्तवार्ता । यो अन्तवार्ता कसैले नपढ्नु होला ।
प्रश्न– म किन जन्मेको ?
उत्तर– नेताको झोला बोक्न । त्यसमा जाँगर नलागे विदेशआमाको सेवामा कुलेलम ठोक्न ।
प्रश्न– मेरो चेतनास्तर कस्तो छ ?
उत्तर– एकदम उन्नत । भेडाको जस्तो चाला, अर्को हाम्फालेपछि आफू पनि झ्वाम्मै । आफ्नो हकहितका लागि चिन्ता
नगर्ने, नेताहरू कसैले सत्ता पाइएन भनेर आन्दोलन गरे भने गोली थापिदिने ।
प्रश्न– म कसरी बहादुर ?
उत्तर– पैसाको लागि कसैको जुम्रा टिप्नदेखि गोली ठोक्न समेत जान तयार भएकाले ।
प्रश्न– मेरो देशको विशेषता के हो ?
उत्तर– खण्डीकरणप्रेमी भएको देश, जनतालाई सिटामोल छैन, नेताजति रुघा लाग्दा पनि अमेरिका, बेलायतको चैन । अर्काको रिमोटबाट चल्नेहरूको पावन भूमि, उपनिवेश बन्न नपाएको पीडाले छटपटिएको, प्रदेशजस्तो देश, परिचय फाल्ने, मठमन्दिर बाल्ने, नयाँ भन्ने सधैं टाल्ने, टायर बाल्ने बिजुली नबाल्ने आदि ।
प्रश्न– अन्तमा केही भन्न बाँकी छ कि ?
उत्तर– मजाले । बरु भोकै बसौं, आवाज नउठाऔं । मनमन्दिरमा नेतामात्र सजाऔं । पार्टीका झण्डा ओढौं, झण्डा ओछ्याऔं । भोक, प्यासमा झण्डा हेरौं, कहिलै नकोरलिने संविधानसभाको अण्डा हेरौं । भटाभट छोराछोरी पढाऔं र विदेशलाई चढाऔं । मुलकभित्र गनवाला, डनवाला र बोल्न नसक्ने बूढाबूढीमात्र बसौं, अरु सबै विदेश पसौं । कान नछामौं, कागको पछि दुगुरौं । घाँटी नहेरौं, हाड निलौं । हुनेले खाऔं नहुनेले हेरौं । आफैंले आफैंलाई लप्पु खुवाऔं, कसैलाई अनुरोध गरेर झप्पु खाऔं । गान अर्कैको गाऔं, शान अर्कैको लाऔं । आफ्नो भय गाऔं, अरुको जय गाऔं । हस् त मेरो अन्तर्वार्ता लिनुभएकोमा म आफैंलाई धन्यवाद ।
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































