चन्द्र गुरूङपहिरो
हिजो राति
पहिरो गएछ मेरो गाउँमा ।
डाँडामाथिको गुम्बा बगाएछ
खोला–किनारको मन्दिर बगाएछ
बगाएछ गाउँमाझको मस्जिद ।
बिहान सबेरै
लामा गुरुले स्वार्थको ‘माने’ घुमाइरहेको देखेँ
पण्डित बाजेले छल–कपटको प्रसाद बाँडिरहेको भेटेँ
सुनेँ मौलवीले जातीयताको पर्खाल उभ्याएको ।
सायद
थुप्रै थुप्रै बेथितिलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।
हिजो राति
पहिरो गएछ मेरो गाउँमा ।
साना–ठूला घरगोठ बगाएछ
गरिबका मन धान्ने हरिया खेतबारी बगाएछ
बगाएछ असङख्य चौपाया–दोपाया जीवन ।
बिहान सबेरै
रामेको आँगनमा
घर बनाउँदा लागेको ऋण उठाउन
आइपुगेको साहूलाई भेटेँ,
खेतबारीमा सपना रोपेका
किसानका आँखामा आँसु र व्यथा देखेँ ।
घर–आँगनमा
मात्र मृत्यु पल्टेको सुनेँ ।
सायद
थुप्रै थुप्रै बेथितिलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।
हिजो राति
पहिरो गएछ मेरो गाउँमा ।
गोदाममा सुतिरहेका अन्नका बोराहरू बगाएछ
खेतमा उभिएको लहलहाउँदो बाली बगाएछ
बगाएछ थुप्रै लत्ता–कपडा ।
तर अझै पनि
अशान्त भोकलाई गाउँलेको पेटमा अल्झेको देख्छु
निर्वस्त्र नाङ्गोपनलाई
टाँस्सिएको भेट्छु पीडितका अङ्गमा ।
साँच्चै
थुप्रै थुप्रै बेथितिलाई
कहाँ बगाउन सक्दो रहेछ पहिरोले !?
Subscribe
Login
0 Comments
Oldest








































