साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेमपत्र मेलम्ची मैयालाई

Nepal Telecom ad

मेरी हृदयकी रानी मेलम्ची मैया,
प्रिय मेलम्ची ! दुई चार वर्ष अघिसम्म तिम्रै वरिपरिका गाउँवासी बाहेक अरु कसैलाई तिम्रो बारेमा फुट्टी पनि जानकारी थिएन । आफ्नो अँगालोमा त्यति धेरै पानी अँगल्याएर इन्द्रावतीमा एकाकार हुँदिरहिछौ । यस कुराको अत्तोपत्तो यो काठमाडौं खाल्डोलाई अथवा काकाकुल काठमाडौंलाई छँदै थिएन । राजधानीवासीहरू पानी नझर्ने तर बिलचाहिँ महिनैपिच्छे झरिरहने रित्तारित्ता धारातर्फ ध्यान केन्द्रित गर्दै सिर्फ आश्वासनका थोपा प्यूँदै छन् । आश्वासनको यो मेहरो केही वर्षअघि किसुनजी मार्फत वीरगन्जसम्म पुगेको थियो । मेलम्ची ! तिमी साह्रै–साह्रै भाग्यमानी रहिछौ । लाखौंँ धर्मभिरू नेपालीहरू मुख धुँदा या स्नानादी कर्म गर्दा ‘हर हर गङ्गे, काँसी काँसी, विष्णुमती वागमती’ भन्ने गर्दथे तर हिजोआज लाखौँ कर्मभिरू काठमाडौँवासीहरू सिर्फ मुख धुने अवसरका निम्ति तिम्रो नाम जपिरेहका छन्– मेलम्ची मेलम्ची !
मेलम्ची ! तिमी जस्ता, तिमी भन्दा अझ ठूलठूला खोला र नदीहरू यहाँ नभएका हैनन् तर अरू कुनै नामले काठमाडौँको मन र मष्तिस्क तान्न सकेको छैन । धन्यधन्य मेलम्ची ! तिम्रो सङ्लो पानी काठमाडौं उपत्यकामा खस्न अझ दश बीस वर्षै किन नलागोस्, तिम्रो नाम हरेकका मनमन र तनतनमा गज्जबको छाँगो बनेर छङछङाइरहेको छ ।
मेलम्ची ! ! तिमी उपत्यकामा ओइरिएपछि पानीको थोपै अभाव हुने छैन, खान नुहाउन मात्रै होइन दिनहुँ सडक धुनसमेत पुग्ने छ । यो ठहर कुनै विशेषज्ञको होइन, यो रहर बडेबडे राजनीतिज्ञको हो । दशौं वर्षदेखि मुख धुन समेत धौ–धौ परेका काठमाडौंँवासीहरू सडक धुन पुग्ने पानीको आश्वासन पाएर असाध्य चौ–चौ भएका छन् । त्यो आश्वासनको पुडियाभित्र साढे चार अक्षरले बनेको स्त्रीलिङ्गी बोधक तिम्रो नाम छ ‘मेलम्ची !’ आश्वासनमै रम्न रमाउन, नाच्न र बाँच्न अभ्यस्त हामी तिम्रो नामसँग जोडिएको आश्वासनले झन् अलमस्त भएका छौं । सत्य, धरोधर्म मेलम्ची ! तिमी आइपुग या नआइपुग, तिमी काठमाडौँ आउने योजना वीचैमा ‘फलप’ होस् या तिम्रो जलप्रवाह कैंयौं किलोमिटर लामो सुरुङभित्रै ‘अलप’ होस् मानौँ तिमी आइसकेकी छौ, राजधानीसँग, राजधानीका काकाकुल जनसमुदायसँग अनमोल प्रीति लगाइसकेकी छौ । मेलम्ची ! तिम्रो यो उदारताप्रति हामी कृतकृत छौँ । उपत्यकाका ढलमती र मलमतीहरूका निम्ति पनि तिम्रो उपस्थिति चुनौतीपूर्ण त छँदै छ । फेरि पनि हामी तिम्रो आगमनको आश्वासन पाएर औधी गद्गद् भएका छौँ ।
सुन्दरीजलको सौन्दर्यमाथि काठमाडौँका कविहरूले धेरै कविता लेखे । उनको छलछलाहटभन्दा चञ्चलताको उपद्रोसँग वर्णन गरे । प्रशंसा गरे । प्रीति पोखे । बौलट्ठीपूर्ण तरीकाले आफूलाई समर्पण गरे । तर सुन्दरीजलको जल–प्रसाद ती विचरा कविहरूले कहिल्यै पेटभरी खान–प्यून पाएनन् । जति ठूलो ट्याङ्की निर्माण गरेर, जति ठूलो–ठूलो पाइपबाट काठमाडौंतिर हेलिदिए पनि आखिर नेपाल खाने पानी संस्थानले सुन्दरीजलको पानी काठमाडौंवासीलाई पुग्ने गरी बितरण गर्न सकेन, अहँ सकेको छैन । किन सकेन ? यो प्रश्नको जवाफ पनि छैन । त्यो पानी जे जति काठमाडौं पुग्छ र जे जति धाराहरूबाट ओर्लन्छ, ओर्लने बेलासम्ममा झोल–चोक्टा, थेग्रा–थेग्री, धमिलो–अमिलो र कस्तो कस्तो गन्धले दुर्गन्धित भइसकेको हुन्छ । सुन्दरीजलदेखि काठमाडौँसम्मको यात्रा त्यति लामो त होइन तर पनि दुई तीन घण्टाको यात्रा अवधिमै यति बिघ्न परिवर्तन कसरी सम्भव भयो ? यो प्रश्नको पनि जवाफ छैन । (भए नेपाल खाने पानी संस्थानले अवश्य देला !) जे जस्तो होस् त्यही अवस्थामै सही, पर्याप्त मात्रामा पाउने हो भने उमालेर, छानेर, तारेर वा कपडछान गरेरै अथवा पियुस हालेरै भए पनि खान त हुन्थ्यो । त्यो पनि नास्ती ।
मेलम्ची ! सुन्दरीजलको प्रीति र प्रेम विलकुल अहिलेका अल्लारे ठिटाठिटीको प्रीति र प्रेम जस्तो धोखापूर्ण रहेछ भन्ने ठहर तमाम कविहरूले गर्न पुगे । सबका सबलाई मोहभङ्ग भइसकेको छ । अब त लेखक कविहरू सुन्दरीजल होइन, हूल बाँधेर मेलम्ची धाउन थालेका छन् । राजधानीबासीहरूको एउटा ठूलै हूल एकपटक मेलम्ची उत्रियो र छेउको इन्द्रावतीलाई समेत वास्तै नगरी मेलम्चीको मायामा आफूलाई लुटपुटायो । यस्तो अवसर व्यथित सिन्धु प्रतिभा कोषले प्रदान गरेको थियो । त्यसो त यस किसिमका गुठगुठी, कोष एवम् प्रतिष्ठानहरू टोल गल्लीहरूतिर छ्यास्छ्यास्ती छन् । तर यो प्रतिभा कोषले भने अनौठै ग¥यो । पानी नपाइ फुस्रा अनुहार लाएका सयभन्दा बढी लेखक साहित्यकारलाई बसै रिजाप गरेर मेलम्ची पुरयायो । सुन्दरीजलको सौन्दर्यले वशिभूत बनाउन नसकेका कविहरूलाई मेलम्चीले कति मोहनी लगायो कति । त्यो मोहनी सिर्फ पानीको हो, पानीको । सबका सब लट्ठ परे । मेलम्चीको पानी हेर्दै कतिका भावना सल्बलाए, कतिका कविता खिल्खिलाए । कतिले संस्मरण लेख्लान्, कतिले सङ्लो पानीको बयान गर्लान् । मेलम्ची तिमी सुन्दरीजल जस्तै छाँगाबाट खसेकी छैनौ, सुखा र ढुङ्ग्यान बगरमा सुस्त सुसाउँदै इन्द्रावतीलाई अँगालो माछ्र्यौ, इन्द्रावतीमा खसेपछि भँगाला भँगालामा बाँडिन्छ्यौ । थुप्रै सुखाटारहरू तिम्रो नीलोपनलाई सिर्फ हेरेर चित्त बुझाइरहेका छन्, तिमीले उनीहरूको छाति सिञ्चन गर्न सकेकी छैनौ । हरे ! काठमाडौं त काकाकुल नै पो छ त, उसको घाँटी भिजाउन तिमी सक्छ्यौ र ?
मेलम्ची ! तिम्रो नामलाई सापट लिएर धमाधम आश्वासन बाँडिएको छ, बाँडिदै छ– तिमी छिट्टै उपत्यका ओर्लिन्छौ भनेर । बादल डुल्ने डाँडाको फेदीमा बाँध बाँधेर तिमीलाई एउटा ठूलो सरोवर बनाउने रे ! त्यताबाट फर्काएर डाँडाको भित्रभित्रै कालो सुरुङ बनाएर तिमीलाई सुरुङभित्र हुल्ने रे ! सुरुङै सुरुङ उही सुन्दरीजलको ओर्तिर पर्तिरबाट तिमीलाई खसालेर काठमाडौँ ल्याउने रे ! कल्पनाको कुरा होइन मेलम्ची, वास्तवमै तिमीलाई धेरै ठाउँ भाँचेर उपत्यकामा ओराली छोड्ने रे ! बकवास पनि होइन मेलम्ची ! तिम्रो सुन्दर जलप्रवाहले कवि लेखकको घाँटी भिजाउन मात्रै होइन राजधानीको फोहोर र दुर्गन्धले पुरिएका सडकहरूसमेत पखाल्ने रे ! मेलम्ची ! तिमीलाई सुटुक्क सोधौँ है त, के तिमी साँच्ची आउँछ्यौ ? विचरा मेलम्चीलाई के थाहा, सँधै हवाई योजनामा रमाइरहने नेपाली योजनाविदहरू, सँधै कमिसनको मिसनमा मात्रै रमाइरहने अर्थविदहरू र चुनावका बेला भोट बटुल्ने आश्वासन बन्धकी राख्न रमाइरहने राजनीतिज्ञहरूकै बोलवाला बढिरहेको यो बेला तिमी उपत्यकामा ओर्लिन्छ्यिौ भनेर हामी कति ढुक्क हौँ मेलम्ची ! तिमी नै भन हामी कति मख्ख परौँ मेलम्ची ! तिम्रो मन र हाम्रो मनको मीठो मिलन यसै जुनिमा हुन्छ कि अर्को जुनिमा ? कृपया जवाफ देऊ है मेलम्ची ! जे होस् अर्कै जुनीमा भए पनि काकाकुल काठमाडौँ तिम्रो रूप सौन्दर्य धित मरुञ्जेल पिउने उत्कट अभिलाशासँग प्राण घिसारीरहेको छ । तिमी आऊ या नआऊ काकाकुल काठमाडौँ तिम्रै प्रेममा पागल भएर केवल तिम्रै नाम जपिरहेको छ ।

उही तिम्रो
काकाकुल प्रेमी काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x