काशीनाथ मिश्रितघाइते राष्ट्र
भई बाङ्गो सुस्ता सरि करङ बायाँ करतिर
थियो कालापानी सरि उछिटिँदो कञ्चटनिर ।
नदी झैं देखिन्छन् सबतिर निला डाम तनमा ।
भए होला कस्तो सकस बिचराको हृदयमा !
छ पल्टेको यौटा शरिर न कुनै वस्त्र तनमा
पर्यो चिन्नै गाह्रो मृत–जिवित एकान्त वनमा ।
मुटू चल्दै गथ्र्यो गति अतिव धीमा ढुकढुक
खुल्यो को ह्वौ भन्दा स्वर मधुर — ‘नेपाल मुलुक ।’
म हुँ तिम्रै प्यारो—‘मुलुक यसरी खाडिन पुगेँ
गर्यौ साह्रै हेला नजिक नबनी टाढिन पुगेँ ।
बनायौ खोटो मोहर सरि यसै छाडिन पुगेँ ।
बनी टुक्राटुक्रा किन म यसरी बाँडिन पुगेँ ?
नमर्दै खाल्डोमा किन विवश भै गाडिन पुगेँ ?
डुबाएको पानीविच मृतक झैं ढाडिन पुगेँ ?
कुनै गल्ती छैनन् तर म अति नै ताडिन पुगेँ
हितैषी भन्नेका कुटिल विधिले मारिन पुगेँ ।
म मर्दैछू तिम्रो परिचय कहाँ जान्छ म मरे ?
भनौला नेपाली अनि सगरमाथा पर सरे
म लुम्बीनीवासी कुन दिन भनौला निडर भै ?
बचाओ अस्तित्व स्मरण गर नामेट नहुँदै ।’
“बचाऔं लौ चाँडै अब समयमै भारत लगी
अवस्था यो देख्दा पनि किन भयौ मौन र सँगी ?”
सुनी यस्तो चर्चा व्यथित अति नै विह्वल हुँदै ।
‘नलैजाओ दिल्ली ब्ररु म मरुला’ भन्दछ रुँदै ।
बम्घा ८, गुल्मी
Subscribe
Login
0 Comments
Oldest








































