सुलसुलेएकल कवितामा शितविन्दु
“पठाएर मसिना चामल तिम्रा भान्छामा
युद्ध लडिरहेछु कुहिएको चामलका लागि…”
साहित्यमा शीतविन्दुका नामले चिनिने नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले एकल कवितावाचन यात्रा ‘म बलात्कृत कर्णली’ बाट थालनी गर्दा सहभागीलाई ज्ञवालीको राजनीतिक व्यक्तित्वले शितविन्दुको साहित्यिक पाटोलाई थिचिरहेको भान भइरहेको थियो । एकपछि अर्काे गर्दै मानवीय संवेदना र चेतनायुक्त कविता सुनाइरहँदा ”अविरल जनसाहित्य यात्रा”को त्यो आठौँ शृङ्खलामा नेता तथा पूर्वसंस्कृतिमन्त्री ज्ञवालीको प्रस्तुतिले केहीबेरका लागि भए पनि उहाँको राजनीतिज्ञको परिचय ओझेल परेको परेको थियो ।
ज्ञवालीले चर्चित कविता ‘आस्था ओ मेरी प्रिया’ वाचनपछि साहित्यकार वासुदेव अधिकारीको समीक्षा प्रस्तुत हुने बेलासम्ममा शीतविन्दुलाई कविता र आख्यानका थप नयाँ कृतिका साथ पढ्न र भेट्न पाउनुपर्छ भन्ने सहभागीको आग्रहलाई उनले स्वीकार गर्दै भने, ‘जीवनमा सबभन्दा जटिल कार्यमध्ये कविता लेखन पनि हो, म यस चुनौतीलाई ग्रहण गर्दछु ।’
सहभागी स्रष्टा र शुभेच्छुकको त्यो अभिलाषालाई पूरा गर्ने अठोट व्यक्त गर्दै राष्ट्रिय जनसांस्कृतिक महासङ्घको आयोजनामा गरिएको सो पलेँटीमा ज्ञवालीले थपे, “कहिलेकाहीँ म आफैंलाई पनि राजनीतिकर्मले सिर्जनालाई थिचेको जस्तो लाग्छ तर म लेखनलाई छाड्ने छैन, तपाईंहरूको आग्रहलाई प्रेरणाका रुपमा लिएको छु ।”
ज्ञवालीलाई साहित्यिक निरन्तरतामा हौस्याउन वरिष्ठ साहित्यकार आनन्ददेव भट्ट, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा जीवेन्द्रदेव गिरी, प्राज्ञ उदय श्रेष्ठ, नर्मदेश्वरी सत्याल, सानु पहाडी, उहाँकी धर्मपत्नीलगायत स्रोताका रुपमा थिए ।
कविताका साथै उपन्यास, कथा र नाटकका पनि कलम चलाउने शितविन्दुले १३ वर्षको उमेरका कविता कोरेको स्मरण गर्दै त्यसबेला आफूले नचिने पनि पहिलो रचनामाथि दिवङ्गत नेता जीवराज आश्रितले दिएको उत्प्रेरणा र मार्गदर्शनपछि आफूले रचनामा माक्र्सवादी दृष्टिकोण पस्कन सकेको बताए ।
उनको उपनाम रहनाको पनि कथा रहेछ । वि.सं. २०३९ तिर नवलपरासीको एक गाउँमा भएको भूमिगत प्रशिक्षण कार्यक्रममा उहाँको साहित्यिक दैनिकी लेखन अरु अरुको कारण नेतासमक्ष पुगेको र आफ्नो कविता र राम्रा अक्षरलाई अरुसमक्ष देखाउन खोजी निम्न पुँजीवादी चरित्र देखाएको आरोप पनि खेप्नुपरेछ ।
यस्तैमा एक बिहान कविता लेख्ने कापीमा शीतको थोपा परेको सन्दर्भमा त्यो शीतजस्तै सुकेर जाने त होलान् आफ्ना रचना भन्ने अर्थमा सो उपनाम रहेको उनले सुनाएका थिए । प्राज्ञ विष्णु प्रभातलाई साक्षी राख्दै उनले भने, “आज साथीहरूले त्यो थोपा सुक्नु हुँदैन भनेकामा म आभारी छु ।” त्यसो त एक दिन देखा परेर सुकिजाने शीत फेरि अर्काे दिनको बिहान पनि त देखापर्छ ।
ज्ञवालीले कर्णालीका दर्ददेखि रोल्पाका गाउँका आवाज हुँदै नेपालगन्जका वादी समुदायको व्यथा मात्र कवितामा व्यक्त गर्नुभएन अमेरिका पुगेको एक नेपालीले गाउँको मालीगाईको निख्खर शुद्ध दूध सम्झेको सन्दर्भ पनि पस्किए । द्वन्द्वका घाउ, नेपाली चेलीका पीडा र जनताको गणतन्त्र तथा परिवर्तप्रतिको मोह र त्यसका लागि गरिएको कठोर बलिदानको सन्दर्भ पनि उनका कविताका आएका थिए ।
ज्ञवालीका ‘आमा र गण्डकी’, ‘एउटा प्रश्न’, ‘मालीगाईः एक नोस्टाल्जिया’, ‘पसल छेउ उभिएकी केटी’, ‘अँध्यारो कुनामा एउटा खाट’, ‘पुरानो तस्बिर’, ‘अश्वमेधको विरोध’, ‘नदी र एक्लो टापु’, ‘एकाबिहानै एउटी चेली’, ‘अनुहारबिनाको रात’ गरी १२ कविता वाचित भएका थिए । एकल कविता वाचनमा ज्ञवालीलाई अन्य कवि हरिमाया भेटवाल, गायत्री विष्ट, आरएम डङ्गोल र टङक उप्रेतीले सघाएका थिए ।
जनसाहित्यिक मञ्च नेपालका काव्यविभाग प्रमुख डा विन्दु शर्मा ज्ञवालीलाई राजनीतिज्ञ र आख्यानकारका रुपमा मात्रै बढी चिनिएकामा एकल कविता वाचनको तयारीका क्रममा सशक्त कविताका रुपमा पनि चिनाउन भुल्नु हुँदैन भन्ने बोध आफूलाई भएको सुनाए । महासङ्घका अध्यक्ष खगेन्द्र राईले प्रगतिशील तथा जनसाहित्य प्रतिको आकर्षण बढाउन हरेक महिना विशेष प्रतिभालाई छानेर यस्ता प्रस्तुति गरिएको जानकारी दिए ।
‘सेतोपाटी’ शनिबार, आश्विन ४
Subscribe
Login
0 Comments
Oldest











































