ऐनामा एउटा रुख
अचेल, साँझ बिहान घरिघरि ऐना अगाडि उभिन्छु
ऐनाभित्र निहार्छु
देख्छु, त्यहाँभित्र एउटा रुख ।
पोथ्रो होइन
निक्कै उमेर खाएको जस्तो देख्छु म ।
बढेमानको यस रुखमा
रुखका पातहरूमा मुनाहरूमा
अनेक मानिसहरूका आकृतिहरू देख्छु
झण्डाहरू बोकेका जस्ता, राताराता
हेर्दाहेर्दै एकाएक रुख हराउँछ
र त्यहाँ अनगन्ती मानिसहरूको भेला देख्छु
ठम्याएर हेर्छु, थुप्रै मुठी उठाएका मान्छेहरूको चाङ देख्छु
ती मान्छेहरूको भीडभित्र कतै म आफैंलाई पनि देखेदेखे झैं लाग्छ ।
अहा ! कति मिठा सपना बोकेर
कति सुन्दर कल्पना कुँदेर
सपनै सपनाहरूको रुख
कल्पनै कल्पनाहरूको रुख
कति मिठो खाना फलाउँछ जस्तो लागेको रुख
कति सुन्दर नाना फलाउँछ जस्तो लागेको रुख
यो फल्छ र ऊ फल्छ जस्तो लागेको रुख
ऐनाभित्रको त्यो निकै ठुलो देखिएको रुख !
हेर्दाहेर्दै ऐनाभित्र
म भावुक हुन्छु
कति कल्कलाउँदो लाग्थ्यो
कति सल्सलाउँदो लाग्थ्यो
कुनै छक्का पन्जा नभएको
अन्जान बालक जस्तो लाग्थ्यो ।
फेरि ठम्याएर हेर्छु
त्यतिबेलादेखि यतिबेलासम्म थुप्रै सपनाहरूको मूर्त आकृति
कति त्याग ! कति शहादत !
कति वैंश ! कति मातृत्व ! कति अभिभावकत्व !
ऐनाभित्रको त्यो रुख !
घरि, म च्याप्प समाउन खोज्छु
घरि, अँगालो हाल्न खोज्छु
घरि, म तानेर काखमा बसाउन खोज्छु
मेरो भौतिक पहुँचभन्दा परको त्यो रुख
हेर्दाहेर्दै मेरा आँखा
त्यस रुखका माथि टुप्पाटुप्पामा पुग्छन्
झसङ्ग हुन्छु म
त्यहाँ पनि अनेक मानिसकै आकृति छन्
मुनिका मानिसका काँधकाँधमा .
अहा मानिस–मानिसका काँधकाँधैका चाङ
काँधकाँधै टेकेर टुप्पाटुप्पामा बसेकाहरू
माथि नै हेरिरहेका छन्
उँभै आँखा लाएका छन्
हेर्दाहेर्दै म त्यो रुख
ओइलाएको जस्तो देख्छु
खुइलिएको जस्तो देख्छु
झन् टुप्पो झन् खुइलिएको
झन् टुप्पो झन् ओइलाएको
सबैभन्दा टुप्पो सबैभन्दा खुइलिएको
के टुप्पैबाट खुइलिन शुरु भएको त होइन यो रुख
म बिरक्त हुन्छु ।
झापा