सुमी लोहनीख्वाऔँ है !
संसाराँ ठूलो मान्छे बन्न अनि नाम कमाउन कि आफू टन्न खानु कि अर्कालाई कुस्त ख्वाउनु पर्ने र’छ बाबै ! नपत्याए हेर्नुस् त सारङ्गीजस्तो आन्द्रा सुक्या भुँडी पनि हसुर्दा–हसुर्दा दमाहाजस्तो भ’को देखेर अख्तिायारले खुसी भै यसो आँखो लाइद्यो भने त रातारात फ्रिमा पब्लिसिटी भ’र काँको काँ पुगिने रै’छ भन्या !
अनि फेरि अख्तियार र अदालतको जुहारी चलेपछि त ब्ल्याक जति सबै ह्वाइट भ’र बाइज्जत बाहिरिई समाजाँ गन्य, मान्य, धन्य पो भैदोरै’छ त गाँठे ! तर खाएर ठूलो मान्छे बन्ने फेसन आजकल अलि ओल्ड भए जस्तो छ । त्यसैले योे भन्दा फरक काम गरी प्रख्यात हुन होला हिजोआज त अरूलाई हिलिक्क हुने गरी पेटभरि ख्वा’र आफ्नोे नाम चम्काउने चलन चल्या छ । आफू खानुभन्दा अर्कालाई ख्वाउनु ठूलो पुन्यको काम हो । अर्कालाई ख्वाउन विशाल छाती, अदम्य साहस र आँट अनि चट्टानजस्तो चित्त चाहिन्छ । जो पायो त्यो हुतिहाराले काँ बित्थाँ अर्कालाई ख्वाउन सक्छ र भन्या ! खान त सबैले देख्ने गरी हाकाहाकी हुलुक्क हुन्जेल हसुरे पनि हुुन्छ । लुकेर कसैले नदेख्ने गरी टेबुलमुनिबाट सुटुक्क ज्युनार गरे पनि हुन्छ । तर ख्वाउनलाई त खाइदिने अर्को हुनै पर्यो । ख्वा’कै हो भनेर प्रमाणित् गर्ने साक्षी प्राणी पनि हुनै पर्यो । आ हा हा हा ! अर्कालाई ख्वाउँदा र खाएको देख्दाको आनन्द र रमाइलोको त बयानै गरेर सकिन्न । क्या मज्जा हगि ! त्यही भ’र त होला नि संसारलाई हल्लाउने बुसलाई ‘इस’ भन्दै आफ्नै जुत्ता ख्वाउन खोज्ने पत्रकार महोदयको नाम उत्तिनैखेर संसारभरि फैलिएको र उनको वीरगाथा गाइएको ।
समुन्द्रपारिको कुरा छाडौँ, समुन्द्रै नभ’को देशाँ पनि बेलाबेलाँ अरूलाई ख्वाउन खप्पिस् वीरवीराङ्गनाले अरूलाई मज्जाले ख्वा’को उदाहरणीय सुकार्य देख्नसुन्न पाइन्छ र उनीहरूप्रति गर्व गर्न मन लाग्छ ।
अझ हाम्रो देशाँ त अलिकति खुसी भयो कि ‘लौ खा’ भन्दै ख्वाइहाल्यो । कसैले खान्न भन्ने मौकै पाउँदैन । जबरजस्ती कोच्याएर भए पनि बडो उदारतापूर्वक माया गरेर हार्दिकताका साथ ख्वाइन्छ । कहिले संसद भवनमा चिट्ट परेको चप्पल ख्वाइन्छ । कहिले खाने मान्छेकै अफिसमा ग’र चुरमुरे चड्कन चिउरा ख्वाइन्छ । कहिले बाटोघाटोमै तात्तातो गोली ख्वाइन्छ । त्यस्तै घुस्सा, धक्का, मुक्का आदि फोसा त छँदै छ । राम्रो चलेको रेष्टुरेन्टको मेनुमा झैँ भेराइटी छ ख्वाउने कुराको । तीमाथि झन् पुग नपुग भन्दै मधुर मीठो वचनको स्विट डिसको त स्वादै बेग्लै नि गाँठे !
साँच्चै यसरी अरूलाई ख्वाउने मामिलामा चाहिँ आफ्नोे उदार, दयालु स्वभावका कारणले होला पुरुषभन्दा नारी नै पो अगाडि छन् कि जस्तो देखिन्छ । जे होस् नारी पुरुष जस्ले ख्वाए पनि टन्न अघाउन्जेल खानेमा चाहिँ पुरुषै बढी छन् है ! हुन त घराँ पनि ख्वाउने जिम्मा नारीकै कोमल हातलाई भएकाले होला बाहिर पनि ख्वाउन अगाडि बढेका, कि कसो !
लौ है तपैँ पनि छिट्टै लात, बात, हात, घात, मात आदि मीठा–मीठा परिकार पस्केर जस्लाई जे सक्नुहुन्छ त्यही ख्वाइहाल्नोस् र सधैँ यसरी नै परोपकारी पराक्रम गर्दै रातारात आफ्नोे सुकीर्ति चारैतिर फैलाउनुस् ।
‘झिँगापुर’ सङ्ग्रहबाट
Subscribe
Login
0 Comments
Oldest








































