साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रालाई विशेष, तम्रालाई निषेध

Nepal Telecom ad

मुढोको सट्टा देशकै घुँडो ताक्ने डाक्टर फुर्कोधारीलाई प्रहरीले धरपकड गरेको विरोधमा एकथरी मानवअधिकारकर्मी र बुद्धिजीवीहरू सडकमा निस्केको दृश्यले बिसञ्चो भएको आँखा निको नहुँदै विखण्डनवादीको पक्षमा आवाज उठाउने क्रान्तिकारीहरूको तुजुक हेर्नुपर्यो । छोराको हत्यारामाथि कारबाहीको माग गर्दै अनशन बसेका वृद्धले इहलोक त्यागेको अपत्यारिलो खबर यहीबीच आयो । उपनिवेश कालका विदेशी शासक समेत सत्याग्रहीसामु निहुरमुन्टो लाउँथे । अहिले लोकतन्त्रको प्राधिकार दाबी गर्नेहरूको सरकार र नव–शृङ्गार सहितको लोकतान्त्रिक विपक्षीको समय हो । त्यसमाथि, काठमाडौं खाल्डोका बुद्धिजीवीहरूको नित्यकर्म नै लोकतन्त्र, कानुनी शासन र मानवअधिकारको गायत्री मन्त्रबाट शुरु हुन्छ । यस्तोमा अमानवीय घटना कसरी सम्भव भयो ?

गाँठी कुरा बुझ्न सामाजिक सञ्जाल चहार्दा मण्डले मार्काका अग्रमनकारीहरूले “हाम्रा विरुद्ध न्याय माग्ने दुस्साहसीलाई मरणोपरान्त मुद्दा चलाउनुपर्छ” भन्ने भाका बान्ता गरेर संजालको चौतारीलाई नै गन्धपुरी बनाइसकेका रहेछन् । त्यसपछि एक जना नामी नेताजीको दैलोतिर ज्यान धकेलेको, उनी त अर्का “नव–उदार क्रान्तिकारी” को सामना गरिरहेका रहेछन् ।

‘सत्याग्रही भोकभोकै मर्नु परे’सी हामी जस्ता नौलो लोकतन्त्रवादीहरूले हुट्टिट्याउँ झैं बालुवामा मुन्टो गाड्नुपर्ने अवस्था आयो’, नव–उदार भन्छन् । ‘केको सत्याग्रही भन्छौ ए मिथ्याग्रही ! नामी नेताजी कराए, ‘डलर कुम्ल्याउन अनशन बस्ने चतुर कसरी सत्याग्रही ?’

‘तपाईंका राजमा एकताका उनलाई मगज खुस्केको सावित गर्नुभा’थ्यो । तपाईंको सद्धे दिमागले ‘दूधको दूध, पानीको पानी’ छुट्याइदिनुस् प्रभू, उनी मगज बिग्रिएका थिए या चतुर ?’ म थपिएँ ।

‘तिमी पनि डलरवादी हौ कि भन्ने हाम्लाई लाइरा’छ ?, नेताजीले बिताउँला झैं गरी मलाई घुरे, ‘भौतिक परिस्थिति बदलिएको बेला मनोगत प्रश्नमा नलन्ठिनु बेस् ।’

‘न्याय खोज्दा प्राण उत्सर्ग गर्नेलाई डलरवादी भन्नु संवेदनाहीनता भएन र ?’ ‘कुन भ्याकुम लगाम् भन्दैथिम्, हावाले सिनित्त…!’ नेताजीले मुन्टो बटारे । यत्तिकैमा सभा भवनमा आशा जगाउने खालको स्वर आयो । माननीयले भन्नुभयो, ‘हामी उसको बातसँग सहमत त छैनौं, लेकिन सीके राउत जेलमै अनशन बैठद्यो भने के भइजान्छ ?’

हुँदै नभएको अनशनको पिरलोमा यतिविघ्न फिटफिटिने माननीयले एघार महीनादेखि अनशनरत सत्याग्रहीले दम तोडेको सुइँको पाएमा सदनमा खाँडै जगाउने आशमा गएर सबकुछ जाहेर गरें । मेरो अर्जी सुनिनसक्दै उनी कड्किए, ‘अरे बुडबक सम्झेको छ हामीलाई ? ग्यारह महीना दानापानी नखाई कोही बाँच्छ ? अरे, को नन्दप्रसाद रे ? हामी यशोदा मैयाँके नन्दलाला मात्र चिन्छौं !’

हाम्रा ठामकालाई विशेष र तिम्रा गामकालाई निषेध भन्ने यस्ता अन्तरेहरूले नन्दप्रसादको मतलब नगर्ने बुझेर सिंहदरबारतिर घिच्रो तन्काउँदा मन्त्री महोदयबाट मन थामिनसक्नुको धारणा आयो । उनले भने, ‘उहाँको मृत्यु खाना नखाएबाट भयो ।’

‘अनशन त नखाइकन पो बसिंदोरहेछ ! कस्तो गहन सत्य अन्वेषण !’ मन्त्रीसँग सोधें, ‘राज्यले न्याय दिलाउन नसक्दा अन्न त्यागेका थिए कि अमन भएर ?’ ‘राज्यले न्याय दिलाउन उत्पातै कोशिश गरेको हो ।’

‘के–के उत्पात गर्यो ?’

‘मुद्दा दर्ता गर्ने साहस देखायो, अर्को चरणमा केही कामरेडलाई थानामा स्वागत ग¥यो र पछिल्लो चरणमा सबैलाई छोड्यो ।’ मन्त्री अलि भावुक भए, ‘बडा दुःखका साथ भन्नुपर्छ, सरकारको आग्रह विपरीत ज्यान फाल्ने बाटोबाट न्याय खोज्ने तरीका नै गलत थियो ।’

‘सही तरकिब के हुन्थ्यो ?’
‘चूपचाप बस्द्या’भे असल हुन्थ्यो !’
‘कारबाही प्रक्रिया अघि बढाई न्यायको प्रत्याभूति दिलाउने तरीका गलत हुन्थ्यो ?’ ‘के घामट आइलाग्यो हरे ! पीडितलाई अनशन तोड्न र पीडकलाई एउटा गिरफ्तारी गराइदिन आग्रह गरेकै हुम् । दुवैले अटेर गरे’सी के गर्नु ? लोकतान्त्रिक सरकारले गर्ने भनेकै अनुनय–विनय र आग्रह त हो नि !’
‘अदालतको आदेश मुताविक “फोर्स फिडिङ” पनि गराउनु भएन नि ?’

‘हे नारन्, व्यक्तिगत स्वतन्त्रता रक्षाका लागि त्यसो नगरेको बुझनुस् न ।’
‘अब गंगामायालाई बचाउन के गर्नुहुन्छ ?’

‘अनशनको लफडा छोड्न यो सरकार पुनः आग्रह गर्दछ ! नत्र, लेखाला भावी मेटाला को ? भन्छन्, दैव दशा कसले टार्न सक्छ ?’

‘हिमाल’ २०७१ असोज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x