बौलाही र प्रजातन्त्र
एउटा पसलमा हामी केही मित्रहरु परनिन्दाको विस्कुटका साथमा चौलानीजस्तो चिया पान गर्दै थियौँ । त्यहाँ एउटी बहुलाहीमा हुनुपर्ने सबै गुण उसमा प्रष्टै देखिन्थे । तर उसको सबभन्दा ठूलो विशेषता थियो, ऊ बेला बेलामा ताली बजाइ रहन्थी ।
हाम्रो टेबुलले त्यो पगलीलाई निकै अभिरुचिका साथ हेरेको देखेर अर्को टेबुलको शोभा बढाउने सज्जनले आफ्नो सामान्य ज्ञानको असामान्य परिचय दिए, यो केही वर्ष अघिसम्म सद्दे थिई । अनि के भएर बहुलाई त ? हाम्रो टेबुलले प्रश्न ग¥यो । अर्को टेबुलले भन्यो– यसको जग्गा जमीन सम्बन्धी कुनै ठूलै समस्या थियोे । विचरी त्यो समस्या समाधान गराउन केन्द्रीय स्तरको जुनसुकै पार्टीका नेता आए पनि हामफाल्दै पुग्थी ।
यसरी कलैयामा जुन पार्टीका नेता आए पनि ऊ त्यहाँ अवश्य पुग्थी । उनीहरूको आमसभामा अग्रपङ्क्तिमा बसेर कुरा नबुझे पनि ताली बजाउने गर्थी ।
तर त्यस विचरीले कुनै नेतालाई पनि भेट्न पाइन । सुकिलो लुगा लाउने खादीधारीहरूले आफ्नो चम्चा धर्म पालन गर्दै नेतासम्म उसलाई कहिल्यै पुग्न दिएनन् । उसको समस्या ! यसै कारणले मगज सड्केछ । बहुलाए पनि जहाँ दुई चार जना जम्मा भएको देख्छे ताली बजाउन थाल्छे । कहिले कसैलाई जय नेपाल भन्छे, कहिले लालसलाम । कहिले कसैसँग रिस उठ्यो भने ढुङ्गा लिएर हिर्काउन खोज्छे, गाली गर्छे– तँ साले समाजवादलाई यै ढुङ्गा हानेर मारिदिन्छु ।
यो विवरण सुनेपछि चिया त चौलानी जस्तो थियो नै परनिन्दरुपी विस्कुट पनि खल्लो लागेर आयो । अर्को अर्ध वौलाहा चियापान गर्न आएको रहेछ, उसले भन्यो जबसम्म प्रजा यसरी बहुलाउँदैन, त्यतिञ्जेल प्रजातन्त्र सफल भएको मानिन्न ।
हाल– थानकोट काठमाडौं