लिलाराज कार्कीनुनको सोझो
मुक्तिका दाता सम्झेर
शिरको ताज बनाएँ
पानीको साटो तिमीलाई
रगत दिएर पठाएँ
हिउँदको चिसो भनिन
भोकै सुतेको गनिन
तरै पनि मन खुसी थियो
उज्यालो पाउने आशाको
कालो दाग कहीँ थिएन
छाती चिरेर देखाएँ
देशको सेवा गर्नेलाई
विश्वास दिएर पठाएँ
तिमीले बाटो देखायौ
यो ठाउँसम्म पुर्यायौ
जीवनको मूल्य नचिन्दै
औँलामा समाई डोर्यायौ
जे बनायो त्यही बन्ने
गिलो माटोको जीवन थ्यो
फर्केर हेर एक पटक
कहीँ न कहीँ भूल भो
आ–आफ्नो कर्म गर्नु छ
एकदिन सबैले मर्नु छ
रिसाउन पनि त सक्दिन
नुनको सोझो गर्नु छ ।
हाल : जर्मन
Subscribe
Login
0 Comments
Oldest








































