इन्द्रकुमार श्रेष्ठसभासदलाई आग्रह
त्यत्रा ठूलाठूला तिघ्रा भएका एक हूल केटाहरू लिएर आएका थियौ । झमक्क साँझको समय । मास्टरको घर भनेर आएपछि, मैले ‘ऐया’ भन्ने कुरा पनि आएन । आखिर स्कुलमा पनि मै सोझोलाई पेलिन्छ, आज्ञाकारी भनेर । उता पनि हुरुक्क हुन्जेल खटेकै छु । यता आफ्ना घरमा आएका साँझका पाहुना । मैले स्वागतका खातिर नखट्ने कुरा पनि आएन । तर मेरो समस्या चाहिं कसले बुझ्ने ?
त्यसै दिन मास्टर्नीले छुनु हुँदैनथ्यो । बुआ रोगी । आमा बिरामी । च्याँख्ला त्यही दिन सकिएको । गाउँमा भएको एउटा मिल बिग्रिएर, मकै पिंधाउँन सकिएकै थिएन । त्यस दिन फर्सी सुठुनी उसिनेर र नुनपानी तताएर छाक टार्ने विचार थियो हाम्रो । त्यही भएर सानीलाई बिहानैदेखि सुठुनी खन्न लाएको थिएँ । बिचरीले सकीनसकी एकपाथीजति खनेकी पनि थिई । तर, तिमीहरूको डफ्फा आएपछि मेरो सातै उड्यो ।
हातका बाहुला र खुट्टाको सुरुवाल माथिमाथि सार्दै, मै फूर्तिलो भएर निस्किनुप¥यो । अन्छाइपन्छाइ, बढारकुँढार । कामहरू कति हो कति ! खुइखुइका तालमा, तलमाथि–बाहिरभित्र सयबाजी गर्दै बल्लतल्ल भान्छा तयार पारें । (चकको धुलोले होला, आफूलाई त बेलैमाथि धम्कीको व्यथाले गाँजिरहेछ ।) तिमीहरूको बथान निस्फिक्रीका साथ गफ मार्नमा व्यस्त थियो । मैले खाना तयार भएको सूचना दिनासाथ, एक्कासि सबैको अनुहार हँसिलो भएर आयो । दाल, तरकारी, अचार, गोरस सबै थोक बाना मिलाएर दिंदा त, थोरैथोरै खानेले पनि धेरैधैरै खाँदा रहेछन् । त्यसमाथि उमेरदार केटाहरू । माथ्लाघरे रामनाथ पण्डितकहाँबाट ल्याएको १२ माना चामलको भातले पनि पो पुग्न गाह्रो भइरहेको ! अन्त्यमा मलाई नै रहेन । चुठाउने क्रममा, सबैले डुम्मडुम्म डकारेको सुन्दा, मलाई पनि ढुक्क लाग्यो ।
बाह्र झन्झट गरेर त्यति हसुराएपछि, अब त फार्से भइयो भनेको त केको हुनु नि ! अब फेरि, गलेको जीउलाई औषधि चाहियो रे ! त्यो पनि सितनसहित । अब परेन फसाद ! धर्मकर्मको कुरो त छँदै छ । अलिकति भए पनि खर्च जोगिन्छ भनेर, आफूले माछामासु खान छोडेकै आठ वर्ष भैसक्यो । तर, धर नपाएपछि के गर्नु ! तिमी सभासद भयौ भने, केही न केही भनसुन लाग्ला भन्ने आशा हो । आफ्ना पनि छोराछोरी हुर्कंदै छन् । बल्ल सुस्ताएको जीउलाई उठाएर, फेरि रातीहुँदो तल मुखबाङ्गे दाजुकहाँ पुगेर, निदाइसकेको नौसिङेलाई उठाई काखी च्यापेर ल्याएँ । त्यतिखेरै त्यसलाई शौच गर्ने विचार भएछ र मेरो स्कुलड्रेसको शर्ट बिगारिदिएर सर्वनाश ! घर ल्याइपु¥याउनासाथ, त्यसको मुन्टो मर्काएर क्वाँक्वाँ पार्दा बल्ल त्यो रिस म¥यो । मर्मसलाको मीठो बास्ना आउन थालेपछि, ‘खै त त्यो ? खै त त्यो ??’, भन्न थालिहाले तिम्रा जनताहरू । लगत्तै फ्याउरी भाउजूकहाँबाट दुई ग्यालेन सोमरस ल्याउँन पनि मै गएँ । पूरै मतान छोडिदिएर आफू कुच्रुक्के भान्छाघरको मझेरीमै सुत्नुप¥यो । आधा रातसम्म, चर्काचर्की बाझाबाझजस्तो चल्दै थियो । लखतरान भएको जीउलाई पनि निदाउन दिएका होइनौ । कतिखेर निदायौ हो ! भोलिपल्ट बिहानै तिमीहरू त, ‘धन्यवाद !’ भनेर हिंडिहाल्यौ । आफूलाई भने ओछ्यान मिलाउँदाको हत्ते । लुगा अट्याइपट्याइ गर्नमात्रै त के थियो र ! पूरै कोठै उग्रीगन्ध भएर पो मा¥यो त ! खाएको चीज, मुखैबाट दिसा गरिदिएर फालिदिएछन् कतिले ओछ्यानैमा । फेरि, त्यो सोमरस भन्ने वस्तु कस्तो पातलो हुँदो रहेछ भने, केही, ग्यालेनबाटै ओछ्यानमा पोखिएको जस्तो लाग्यो । तर त्योभन्दा बढी, पेटभित्र पुगिकन ओछ्यानमा पोखिएको प्रष्टै थियो । सिरकडसनाका खोल त निकालें । तर तिनीहरू आफैं चुबिचल्ल भएका थिए । खोलमात्र निकालेर के गर्नु !
तिमीहरूको एकै रातको कान्डले गर्दा, हामी लोग्नेस्वास्नीबीच तीन महिनासम्म बोलचाल भएन ।
जे भए पनि, मेरोमा त्यत्रो जात्रा गरेर गएका तिमीलाई राम्रै छुक लागेछ र भ्याट्टै सभासद भयौ । यसका लागि, दुःखचाहिं तिमीले थोरै गरेका होइनौ है । ती दुनियाँ तिघ्रेमुग्रेलाई छदाउनु–पदाउनु, कतिलाई पैसा दिनु, ठाउँठावैं भोजभतेर गराउनु, नहुने र हुन नसक्ने कुरालाई पनि, ‘हुन्छ, भैहाल्छ नि !’ भन्नु, सकेसम्म झुटो बोल्नका लागि अभ्यास गर्नु– यो सब, कम गाह्रो काम हो र !
हुनलाई, यो पद भनेको पनि चानचुने त होइन नि ! देशको नियमकानुन बनाउने पो त ! ठट्टा हो ? तिमीले कानुन सानुन नपढेको भए पनि, देशविदेशका थुप्रै कुरा बुझेका छौ । कति त तिमीभन्दा कता हो कता, लठेत पनि होलान् । त्यस्ताहरूलाई पनि, तिमीहरू जस्ताले सिकाउनु पर्दो हो । ज्यादै जिम्मेवारीपूर्ण काममा तिमी जाँदैछौ । तर, त्यहाँ पुगेपछि तिमीले आफ्नो जिम्मेवारी सजिलै पूरा गर्छौ जस्तो, मलाईचाहिं लाग्दैन । चुनावमा जित्नका लागि तिमीले गरेको अथाह खर्च उकास्नै तिमीलाई, कति वर्ष लाग्दो हो ! जसरी, घरखेत बन्धकी राखेर विदेशमा भाँडा माझ्न जानेहरूले, त्यो रिन तिर्न, केही वर्षै लाग्छ । अनि, त्यो रिन तिर्ने उपक्रम गर्दागर्दै तिम्रो आयु नै सकिंदो हो । यसअघिको चुनावमा पनि हारेका थियौ । त्यो रिन पनि त बाँकी नै होला । सहरमा भएको यौटा घर पनि श्रीमतीका नाममा थियो रे ! हारेको जुवाडेझैं रौसिएर, त्यही घर बैंकमा राखेर त यसपालिको चुनावखर्च जुटाएका थियौ रे नि तिमीले ! भनेपछि, तिमीले सारा रिन कहिले तिरिसकौला र संविधान बनाउला ? के कसरी हुन्छ, त्यो रिनचाहिं छिटोछिटो तिरिसक र संविधान बनाउनपट्टि लाग । अझै रिनको भार, हामीलाई नबोकाऊ ।
यता, मुखबाङ्गे दाइको र फ्याउरी भाउजूको, अनि मेरै पनि सिरकडसनाको हिसाब त बाँकी नै छ नि !
कमलाकुञ्ज, ओखलढुङ्गा ।
Subscribe
Login
0 Comments
Oldest









































