साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टपरटुइँया पत्रकारसँगको अन्तर्वार्ता

Nepal Telecom ad

‘आज म पत्रकारको अन्तर्वार्ता लिन जाँदैछ ।’ मेरो साथी खप्परध्वजले हालखवर सोध्न नभ्याइकन मैले सुनाएँ ।
खप्परध्वज छक्क पर्यो– ‘हैन ए, तेरो दिमागको स्क्रू त खुकुलो भएको छैन ?’ उसले ‘आधुनिक मातृभाषा’ मा सोध्यो । ‘स्क्रू ढिला भएको भए त सिधै मानसिक अस्पतालतिर गइहाल्थे नि ! होटलतिर किन लम्किथेँ र ?’ मैले छाती फुलाएर जवाफ फर्काएँ ।

‘अब चाहिँ साँच्चै नै तँलाई मेन्टल मेकानिक्सकहाँ नलगी भएनछ । अन्तर्वार्ता लिन पार्टी कार्यालय, संघ–संस्थातिर पो जानुपर्ने त, होटलका चम्चा र प्लेटसँग कुराकानी गर्ने हो कि क्या हो ?’ यति भनेर खप्परले आफ्नो थाप्लो ठोक्यो ।

‘हो, आज ‘होटल लुतिका’ मा पत्रकार सम्मेलन छ रे । प्लेट र चम्चाहरू त्यहीँ समाचार सङ्कलन गर्न गएका रहेछन् ।’ मैले खप्परध्वजलाई बताएँ । चम्चा र प्लेटहरू समाचार सङ्कलन गर्न गएको कुरा सुनेर खप्परध्वज हेरेको हेर्यै भयो । एक मिनेटपछि मेरो मुखबाट निस्किएको ‘हा’ र नाकबाट उछिडिएको ‘छ्यूँ’ को छर्राले झसङ्ग हुँदै सोध्यो– ‘भट्टराई कुरा’ चाहिँ नगर न यार ! चम्चा र प्लेटहरूले पनि कहीँ समाचार सङ्कलन गर्ने काम गर्छन् र ?’

खप्पर फिस्स हाँस्यो । ‘तँ पनि ‘गिरिजा बुद्धि’कै मान्छे छस् । साँच्चिकै चम्चाहरू त कहाँ जाने हुन् र, उनीहरू त पत्रकारको भेषमा त्यहाँ पुगेका हुन्छन् । जीवनभर समाचार नलेखेकाहरूले पनि त्यस्ता ठाउँमा गएर चम्चा, प्लेट, बोतल र गिलासहरूसँग मित लगाएर आउँछन् । कुरा बुझिस् के ?’ मैले सोधेँ ।

उसको काँधमा राखेको मेरो हात हटाउँदै मलाई हका¥यो– ‘पत्रकारले पो अन्तर्वार्ता लिन्छ । पत्रकारको पनि कहीँ अन्तर्वार्ता लिइन्छ त ?! यस्तो उल्टो काम गर्दा लैजालान् मेन्टल मेकानिक्सकोमा ।’ खप्परले त्रास देखायो ।

‘तंैले चाहिँ सुल्टोको जमाना छ भन्ने ठानेको छस् कि के हो ? जुग त कि घोप्टोको हो, कि उल्टोको हो । नपत्याए आफैं सोच् त– घरमा खानाको साटो बाबु–आमाको गाली खानुपर्छ । गीत–संगीतमा नाच्नुको साटो मान्छेहरू विदेशीको इशारामा नाच्दछन् । मान्छेहरू चिप्लिएर लड्ने जमाना पनि गए– चुनाव लड्छन् र देशका करङ भाँच्छन् ।’ मैले उसको त्रासलाई वास्तै नगरी साहसका साथ बताएँ ।

खप्पर आफ्नो सिङ बिनाको चिल्लो टाउको समाएर घोरिन थाल्यो । मैले फेरि सोधेँ– ‘तँ नै भन् न, आजकाल मान्छेहरू वर्षामा कमै मात्रामा बाली लगाउँछन् । बाली लगाउनुको साटो भाषण सुन्न जान्छन् र ताली लगाउँछन् । के यो जमाना उल्टिएको हैन त ?’ मेरो प्रश्न सुनेर ऊ एकैछिन पुनः घोरियो र मतिर फर्किएर करायो– ‘तैँले ठीक भनिस् यार ! मान्छेहरू आजकाल अक्सिजन बिना नै बाँच्न थालेका छन् । शहरीया युवतीहरूले कपडा लगाउने जुग पनि गयो, उनीहरूलाई टालो र माकुराको जालोजस्तो कपडा भिरे भयो । गाउँका युवाहरूलाई देश नामको बास चाहिन छोड्यो, विदेश र त्यहाँबाट फल्ने रुपैयाँको आश भए पुग्यो । हो यार, साँच्चै जुग उल्टो भएछ ?’ यति भनेर उसले लामो सुस्केरा हाल्यो ।

‘हो, त्यही भएर मैले पत्रकारको अन्तर्वार्ता लिने सोचाई बनाएको हुँ । बरु कहाँ जाने ? तँ पनि भन् न !’ मैले ढाप मारेँ । दुवैले सल्लाह गरेर, अन्त्यमा अन्तर्वार्ता लिन पुग्यौँ– युवा पत्रकार श्री टपरटुर्इंया टापटिपेकहाँ । हामीले नमस्कार टक्र्यायौँ । तस्कर जस्तो ठानेर होला, श्री टपरटुईंयाज्यूले राम्रै सत्कार गर्नुभो । नठानुन् पनि किन ? मेरो ज्यान पनि कुनै सुन तस्करभन्दा कमको थिएन । साथीको त झन् नाम नै खप्पर, हेर्दैमा कुनै सीमाना चोरको झझल्को दिन्थ्यो ।

‘कुन समाचार नछापेर हजुरहरूको सेवा गर्नु पर्ला ? भन्नोस् हजुर ।’ उहाँले सोध्नुभयो । टपरटुईंयाको टापटिपे जालमा पर्नुभन्दा पहिले नै मैले कुरो शुरु गरिहालेँ– ‘उहाँ, मेरो मित्र खप्परध्वज, म कलाकार मन्ज गजूर । शायद हजुर अरु कोही भन्ठानेर झुक्किनु भयो होला ।’

श्री टपरटुईंयाज्यू अलिकति पनि झस्किनु भएन, उल्टो मस्किँदै बोल्नुभयो– ‘कलाकारलाई पनि त कुनै सहयोग गर्न सकिएला । जस्तो– कसैको चरित्रहत्या गरिदिनु प¥यो कि ? कुनै दुई कौडीको सिनेमालाई हिट बनाइदिनु प¥यो कि ? दुई समकक्षीका बिच झगडा उठाइदिनु प¥यो कि ? भन्नुस्, म हाजिर छु ।’ टपरटुईंयाज्यूले ढाप मार्नुभयो ।

‘हामी तीमध्ये कुनै कामले होइन, हजुरको अन्तर्वार्ता लिन आएका हौं ।’ खप्परले कुरा शुरु ग¥यो ।

‘मेरो अन्तर्वार्ता ?!’ टपरटुईंयाज्यू झसङ्ग हुनुभयो र पुनः सम्हालिँदै थप्नुभयो– ‘हेर्नुस्, मैले आफ्नो अन्तर्वार्ता सित्तैँ दिने गरेको छैन । एउटा प्रश्नको उत्तरवापत रु. एकसय लाग्छ ।’

‘ज्ञानको पनि किनबेच हुन्छ र हजुर ?’ मैले सोधेँ । ‘जमाना उल्टो छ । नगद बिना नारायण प्राप्त हुँदैन । ‘नारायण’ भनेको भगवान । भगवानका लागि भए पनि रुपैयाँ त चाहिन्छ हेर्नोस् ।’ पैसाविना अन्तर्वार्ता दिँदै नदिने छाँट देखेपछि प्रत्येक उत्तर बराबर रु. पचहत्तरका दरले मोलमोलाई ग¥यौँ । पैसा नै दिने भएपछि के को हतार, चिया मगायौँ र चिया खाँदै कुरा शुरु ग¥यौँ ।

‘तपाईं कसरी पत्रकारितामा लाग्नु भो ?’ मेरो प्रश्न भुईंमा खस्न नपाउँदै उत्तर आयो– ‘मेरो उच्च शिक्षा पढ्ने इच्छा रोकिएपछि ।’
‘अनि यहाँको शिक्षा कति होला ?’ मैले दोस्रो प्रश्न थपेँ । ‘एस. एल. सी. मा चारपटक ब्याक लागेपछि मित्रराष्ट्रबाट डिग्री लिएको ।’ यो पनि छोटो उत्तर थियो ।
मैले पुनः सोधेँ– ‘डिग्री चाहिँ कतिको हो ?’ प्रश्न सुनेर टपरटुईंयाजी निकै जङ्गिनु भयो– ‘एउटै कुरो बारम्बार किन ? डिग्री कति मूल्यको हुनु नि, भारतीय रुपैयाँ पाँच हजारको ।’ यसभन्दा बढी कुरो खोल्नु आफ्नो ज्यानका लागि लाभदायक थिएन, मैले कुरो मिलाउन खोजेँ– ‘त्यो त सञ्चार क्षेत्रमा पढाइभन्दा पनि अनुभव ठूलो हो । त्यस बारेमा…’ मेरो कुरा काट्दै उहाँ बोल्नुभो– ‘लामो अनुभव छ । बच्चा छँदा आमाले चुरोट खाएको कुरो बुबालाई सुनाउँथे । स्कुल पढ्दा साथीहरूले चिट चोरेको खबर सरलाई भन्दथेँ । कलेज पढ्दा पनि विद्यार्थी राजनीतिको गोप्य कुरा पुलिसकहाँ पु¥याउने गर्दथेँ । अहिले पनि माओवादी र सरकार दुबैको सुराकीको भूमिका बडो सहज ढंगले पूरा गरिरहेको छु ।’ उहाँले गर्वका साथ आफ्नो बृत्तान्त सुनाउनु भयो ।

‘यहाँको सबैभन्दा चर्चित रिपोर्टिङ न्यूज कुन हो ?’ मैले सोधेँ ?

‘मेरा सबै समाचारहरू सनसनीपूर्ण र चर्चित हुन्छन् । किनभने म निकै परिश्रम गर्ने गर्दछु । तपाईँं नै भन्नोस्– अरु पत्रिकामा छापिएको खबर आफ्नोमा सार्न कम गाह्रो हुन्छ ? शीर्षक फेर्नु पर्यो । लिडलाइन भत्काउनु पर्यो । कम गाह्रो काम हो ?’ उहाँले लामो सुस्केरा हाल्नुभयो ।

‘हेर्दाखेरि तपाईं त ठूलो भिलेन बन्नुहोला जस्तो हुनुहुन्छ । पत्रकारिता पेशा नै किन छान्नुभयो त ?’ खप्परले खरो प्रश्न पछार्यो– ‘भिलेन नै होइन भन्न पनि मिलेन । तर तपाईँं ढुक्क हुनुहोस्, म बाहिर चाँहि खाँट्टी पत्रकार नै हुँ ।’ श्री टपरटुईंयाज्यूले कुटनैतिक उत्तर दिनुभयो ।

‘भित्र भिलेन, बाहिर हिरो बन्ने अरु पनि क्षेत्र थिए नि । जस्तोः नेता, हाकिम…।’ प्रश्न सकिनै पाएको थिएन, उहाँ बोल्नुभयो– ‘नेता, हाकिम, वकिल, कवि, कलाकार, सांसद, जि.एम. सबैलाई अगाडि पछाडि लगाएर हिँड्न पाइने यस्तो पेशा छोडेर कहाँ जान सकिन्छ हजूर ।’ यति भनेर गर्वका साथ पत्रकारज्यू हाँसिलिनु भयो ।

‘यस पेशामा लागेर बाँच्न सकिन्छ त हजुर ?’ मैले पुनः सोधें । ‘कस्तो कुरा गर्नभएको यो ? मरेकालाई बचाउने जीवनबुटी हो– पत्रकारिता ।’ हत्तपत मेरो मित्र खप्परले सोध्यो– ‘हैन, कसरी ?’ दुवै खुट्टा सोफामाथि राखेर पलेटी कस्दै उहाँले थप्नुभयो– ‘सुन्नोस्, जब घरमा चामल रित्तिन्छ, तब कुनै तस्करलाई तर्साउने, पोल खोलिदिऊ भनेर ! जब तरकारी सिद्धिन्छ, तब नेतालाई थर्काउने, घूस खाएको छापिदिऊँ भनेर !

जब कोही पत्रकार औषधी नपाएर मर्न आँट्यो भने डाक्टरलाई थर्काउने, किड्नी झिकेको फोटो टाँसिदिउँ भनेर ।’ उहाँले रहस्योद्घाटन गर्नुभयो । ‘अन्तिम प्रश्न, पत्रकारितामा लागेर के पाउनु भयो, के गुमाउनु भयो ?’ मैले अन्तर्वार्ताको बिट मार्दै सोधेँ । ‘पाएको कुरा त सम्झी साध्य छैन, धेरै छन् र गुमाएको केही छैन, तर घुमाउन चाहिँ मैले धेरै घुमाएको छु ।’ उहाँ मुसुक्क हाँस्नुभयो । खप्परले सोध्यो– ‘जस्तो ?’ ‘जस्तो कि बेरोजगारहरूलाई जागिर दिन्छु भनेर घुमाएको छु । नेता–सांसदलाई मन्त्री बनाइदिन्छु भनेर घुमाएको छु । त्यस्तै मकहाँ काम गर्ने थुप्रै युवतीहरूलाई पनि रेस्टुरेन्ट र पार्कतिर मजाले घुमाएको छु र, घुमाउने पनि गरेको छु ।’ यति भनेर टपरटुईंयाज्यूले घडी हेर्नुभयो ।

‘अब सकियो हजुर । हवस्त नमस्कार ।’ खप्परध्वजले हात जोड्यो । मैले हिसाब गरेर रुपैयाँ टक्र्याएँ । किच्च दाँत देखाउँदै पैसा समाएर सोध्नुभयो– ‘हजुरहरूको कुन पत्रिका रे !?’ हामी दुवैले एकै स्वरमा बतायौं– ‘जनदण्ड दैनिक ।’ उहाँले हाँस्दै अनुरोध गर्नुभयो– ‘छापिएपछि एकप्रति मकहाँ पनि पठाइदिनुहोस् है ।’

‘अब यहाँका यति राम्रा, ज्ञानपूर्ण, स्वच्छ पत्रकारिताले ओतप्रोत बिचार, मननयोग्य कर्मले भरिएको अन्तर्वार्ता त दिनै पर्यो नि । अब यी पत्रिकामा छापिने होइनन्, जनताका घर घरमा टाँसिन्छन् र सुनाइन्छन् । त्यसपछि यहाँलाई जनता स्वयम् जुत्ताको माला लिएर सम्मान गर्न आउनेछन् । अहिलेलाई हवस्त ।’

यति भनेर हामी गडुडु कुद्यौँ । पछिपछि उहाँ पनि कराउँदै आउँदै हुनुहुन्थ्यो– ‘ए पख् पख्, त्यसो हो भने मेरो अन्तर्वार्ता नलैजाऊ ।’ हामी त नडराई भागेको भाग्यै गर्यौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x