देव भट्टराईकाठमाडौंको खानेपानी
धारा खोल्छु टुटी निमोठ्दछु बलै मेटूँ भनी प्यास यो
हावा ठ्याँस्स गरेर जोडसितले निस्कन्छ आवाज पो
साना बालक बालिका बलुनमा हावा त्यसैको भरी
खेल्छन् खूब रमाउँछन् दिनदिनै हाँसी खुसी बेसरी ।
धारामा यदि झुक्किएर कहिले पानी झरेमा बरू
सारा टोल छिमेकमा गजबको मच्चिन्छ हल्लाहरू !
रामेको घर रातको समयमा पानी झर्यो रे तर
लेदो फ्यात्त झरेछ रे जल सँगै मक्खी कसैका घर ।
पार्टीको सरकार भन्छ पिउने पानी यही हो भनी
व्यर्थैमा बिल भर्छु रुन्छ मन यो, के लाग्छ रोए पनि !
मेरो देश धनी हिमालहरूले ठूला नदी तालले
पानी छैन नुहाउने र पिउने मर्ने भएँ प्यासले ।
हाल, अमेरिका
Subscribe
Login
0 Comments
Oldest






































