देव भट्टराईदिलको घाउ
टुक्र्यायौ पहिले, ल टाल कसरी टाल्छौ टुटेको मन
के त्यस्तो उपहारले दिल खुसी राख्छौ तिमी लौ भन
दानी भैकन सक्दछौ कति कुरा के के मलाई दिन ?
दामी सुन्दर रेशमी मखमली के वश्त्र दिन्छौ भन ।
त्यस्तो के दिन सक्दछौ भन तिमी साँच्चै बनी सद्गुणी ?
हीराका बहुमूल्य हार सुनका मोती मुगाहरू या मणि ?
ठूला जेट बिमान कार अथवा दिन्छौ रकेटै किनी ?
के दिन्छौ भन ता कि टाल्न सकियोस् यी घाउ जो छन् खुनी ।
नोटै नोट नयाँ नयाँ कटकटे त्यै ओढ्न ओछयाउन ?
के दिन्छौ कति सक्दछौ दिन तिमी त्यस्तो अरू के भन !
अग्ला सुन्दर बंगला महल या बारी बगैंचाहरू ?
मेरो चित्त खुसी बनाउन भनी दिन्छौ तिमी के अरु ?
चौरासी थरिका मिठा अति मिठा खाना जुटाईकन
हातैले म खुवाइदिन्छु म भनी तम्स्यौ अरे ख्वाउन
मानौं स्नेह गर्यौ म सानु शिशु नै सम्झेर साह्रैसित
मानौं मान गर्यौ महामहिम नै ठानेर राम्रैसित ।
सारा जून र घाम यी गगनका तारा टिपी हातले
मानौं लौ भरिपूर्ण नै गरिदियौ यी हात सौगातले
के दिन्छौ अब भो भयो समयमा आँखा ममा चिम्लियौ !
क्यै गर्दा भरिँदैन घाउ पहिले जो यो तिमीले दियौ ।
कोलोराडो, अमेरिका
Subscribe
Login
0 Comments
Oldest






































