चट्याङ मास्टरमर्न पनि हतार !
मस्त निद्रामा घुरिरहेकोलाई भन्दा बिउँझिई बसेकोलाई बढी हतारमा देख्छु । बिउँझिई बसेकोलाई भन्दा हिँड्न आँटेकोलाइ हतारमा भेट्छु । हिँड्न आँटेको भन्दा हिँडिरहेको झन हतारमा छ । हिँड्ने भन्दा गुड्ने त झन् छिटो हुन मर्न र मार्न नै तयार छ ।
पैदल हिँड्नेलाई भन्दा साइकललाई हतार छ । साइकललाई भन्दा मोटर साइकललाई हतार छ । मोटर साइकललाई भन्दा मोटरलाइ झन् हतार छ । जो जति चाँडो र छिटो हुन्छ या सक्छ उसैलाई बढी हतार छ ।
जसको जति धरै पाङ्ग्रा, उसैलाई उति बढी हतार छ । गुड्ने भन्दा उड्नेलेलाई विमानस्थलमा हेर्नुपर्छ, उसको स्याँस्याँ र फ्याँफ्याँले त झन् वरपरकालाई समेत हैरान पार्छ । हेर्नेलाई पनि उसको हतार सर्छ ।
के को हतारो हो ? के को चटारो हो ? कसले कहाँ के चैँ लगाउने लछारपाटो हो ? एकबारको जिन्दगी, मरेर जानु छ । “जानु छ” भने पछि मानिसलाई मर्नै पनि किन हतार लाग्छ ? यी सप्पै भन्दा त त्यो मस्त निद्रामामा घुरीरहेको मानिस पो ठिक लाग्छ !
बच्चा जन्माउने हतारमा बिहे गर्न बिर्सने कुमारी आमाहरू भेटिन्छन् । सुत्केरी हुने हतारमा दुइए महिना नपुग्दै गर्भ तुहाउनेहरू भेटिन्छन् । हुँदा हुँदा आजभोलि त मर्न पनि हतार छ यहाँ । आत्महत्याका समाचारको ताँती छ यहाँ । पचासी वर्षको व्यक्तिले समेत आत्महत्या गरेको छ ! मर्नै पनि किन त्यत्रो चटारो छ ? २–४ महिना कुरेको भए त माघ महिना आइहाल्थ्यो । यसै चिसोले त्यसै लगिहाल्थ्यो । नभए बाढी कुरेको भए हुन्थ्यो, उसैले बगाई हाल्थ्यो । त्यो पनि नभए पैह्रो कुरेको भए हुन्थ्यो, त्यसै पुरी हाल्थ्यो । त्यति कुर्दा पनि नभए लामो यात्राको बस चढेको भए हुन्थ्यो, उसैले घोप्ट्याई हाल्थ्यो । त्यो पनि नभए राम्रो खालको एउटा माग राखेर धर्ना बसेको भए हुन्थ्यो, सरकारले नै सुताई सुताई मारी हाल्थ्यो । यत्रा विकल्प हुँदा हुँदै मर्ने पनि त्यत्रो हतार गर्नु पथ्र्यो ?
त्यतिले इच्छा नपुगे, यत्रा महान नेताहरू छन, तिन को काम के ? बाँच्नलाई काम नलागे पनि मर्न त काम लाग्थे । उनीहरूले देशमा परिवर्तन ल्याउन आन्दोलन, क्रान्ति या नेपाल बन्दको आह्वान बेला बेला गरिहाल्थे । क्रान्तिकारी भएर जुलुसमा अगाडि बढेको भए अर्कैले मारी दिन्थ्यो । आफूले गर्ने काम अर्कैले गरिदिन्थ्यो । सहिद पनि हुन् पाउँथ्यो । ज्युँदै घुम्न नपाएको शहर पनि लासले बोकिएर डुल्न पाउँथ्यो । महान् शहिद कहलाएर सायद उसको नाममा कतै माटाको मूर्ति या सिमेन्टीको गेट पनि बनि हाल्थ्यो । बाँकी परिवारलाई पनि केही रकम प्राप्त हुन्थ्यो । यत्रा सम्भावनाहरू हुँँदा हुँदै, ताल न तुइको त्यो आत्महत्या गर्न हुन्थ्यो ?
त्यति हतार नगेरेको भए उसको मृत्यु हाम्रा नेताको लागि कति काम लाग्थ्यो ? नेताले देशलाई स्वर्ग बनाउने क्रममा देशबासीलाई स्वर्गवासी त पक्कै बनाइ हाल्थ्यो । उसले पनि धर्तीमै स्वर्गको सुख भोग गर्न पाउँथ्यो। बाँच्न चाहना राख्नेले त हतार गरे गरे, यत्रा पार्टीका नेताहरू हुँदा हुँदै मर्न पनि हतार गरेर आफैं आत्महत्या किन गर्ने कष्ट गर्नु पर्थ्याे ?
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































