साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्धिजीवी बन्ने नशा !

Nepal Telecom ad

बौद्धिक काम गरेर जीविका चलाउनेलाई बुद्धिजीवी भनिन्छ भन्ने कुरोको चुरो त मलाई पनि नफुर्या होइन ! जेहोस् देश अनुसारका भेष भन्या जस्तै ! अरुका देशाँ झैं हाम्रा देशाँ पनि बुद्धिजीवीका ढेर छन् भन्ने सुनेकै भए नि मेरो साइत देरले जुरेकैले ती कति राष्ट्रवादी ? कति विकासवादी ? कति निकाशवादी ? हुन् र के के वादीका आदि हुन् भन्ने कुरोको चुरो हो कि गोरुको जुरो हो ? या हात्तीको मुखाँ जिरो हो ! जे होस् कुरोको भेउ र ढुङ्गाको लेउ खुटयाउन मलाई पनि निकै हम्मे–हम्मे पर्यो वा !

प्रकृतिको छटाले छट्पटाएको जङ्गलाँ मौलाएको बनमारा लहराले बनैको नास, आफ्नो राज, सुकुम्बासीको बास बुद्धिजीवीको ह्रास बनाउँछ कि भन्ने डर भए पनि बुद्धिजीवीको प्रकार र भागबण्डा दरकार त खुट्याउने कुरै भएन ।
हाम्रा मुलुकाँ पनि बुद्धिजीवीका ढेर लाग्दै छन् रे भन्ने सुनेकै भराँ देरै नगरी मेरा दिमागाँ सुटुक्क बुद्धिजीवी कीरा, जीरा रूपाँ प्रवेश गर्यो । त्यो जीरो हरियो घाँसा किरो हो कि सुक्या जङ्गला मङ्गल हो भन्ने कुरा भेउ त सायदै सात सुमुन्द्र वारि र पारिबाट चल्ने बेमौसमी हावाको वहार या रुखैको लहरसम्मलाई जम्मा गर्दा पनि फुर्ला नफुर्ला खै ?
जे होस् त्यो ढेराँ किन बेर लाउने भन्ने चिन्ताले मलाई चितासम्म पुर्याउन नपाउँदै म हाम्रा गाउँका सुप्रसिद्ध गुरु गुरुप्रसाद गुर्धामीका घरैतिर सबेरै धरापिएँ ।

म पनि के कम हुस्स ढाडिएको गोबर फुल्दा झैं हवास्स गोवरको दुर्गन्ध आम्दा भागेको मन पारिसम्म पुर्याएँ जहाँबाट गुरु गुर्धामीले एक टङ्कारले मेरा फुल्या घोक्राँ झोक्राइ– झोक्राइ होक्रराउँदै भनेँ– “ए चीजे कान्छा लालझण्डी तँ त पुरै बुद्धिजीवीका हण्डी झैं घोक्रो फुलाएर ब्राण्डी जस्तो पो भएको छस् नि वा ! हैन के भो हँ तँलाई ?”

मैले पनि भित्र भित्रै खुसी हुँदै सोचेँ– गुरुको पनि घैटाँ घाम लागेछ । मेरा हडडी पनि ताता भए र म प्रफुल्ल हुँदै भनेँ– “तपाईंको सोच तपाईंको खोज सोरै आना मिल्यो गुरुदेव ! म पनि त्यही बुद्धिजीवीको रन्कोले यहाँसम्म फन्को मार्दै आएको । गुरु मलाई पनि मेरा मित चीज कुमार राउतका झैं डाउट बनाइ दिनुहोस् त !”

गुरुले मुसुक्क मुस्काउँदै प्रश्न तेर्स्याए– “तिमी कस्तो बुद्धिजीवी बन्न चाहन्छौ त चीजे कान्छा– लालझन्डी ? भाषावादी ? राजावादी ? खाओवादी ? काङ्ग्रेसवादी ? एमाले वादी ? तराइवादी ? पहाडवादी ? चुरेवादी ? विदेशवादी हँ ? यहाँ त बुद्धिजीवी ढेरका ढेर छन् चीजे ! मैले सिकाएपछि खेर जान दिन्न नि कान्छा ?”

मैले एकहलको मेलो हाँस्दै भनेँ– “हस् गुरु म लाग्छु खुरु–खुरु । पहिला यहाँ बुद्धिजीवी बन्ने तरिका मात्रै त सिकाइ दिनुहोस् न, बाँकिका प्रकार त दरकार अनुसार बन्दै जाउँला हुन्न र ?” मेरो कुरा सुनेर गुरु गुरुप्रसाद गुर्धामी त जुरुक्क ऊठी फुरूक्क भै मै थिम आइ मेरो ढाडै बङ्ग्याउँला झैं डयाम्म–डयाम्म हान्दै भने– “तिम्रो बुद्धिजीवी बन्ने जिवाणुको प्रवेश पारिबाट आयातीत वेशरमको बिषालु फूल जस्तो रुख्खा सुक्खा बन्जड बारीआँ पनि बेमौसमी हावाले फक्रिने फूलको सिङ्गो बिहार हो कि वहार के भन्छन् खै ? हो त्यसैको पहिल्यैदेखि नै पहाड वनी अटल र अमर तथा अडिक जडवत महाभारत पो रहेछ । ल भन, तिम्रो दैनिकी कसरी बित्छ आजकाल ?”

मैले हात जोडेर भनेँ– “गुरु म बिहानै उठेर नित्यकर्म पछि हल्का व्यायाम गर्छु । नुहाई धुवाई गरेर पूजाआजा गर्छु । दैनिक चार घण्टा प्राणायम पछि पढ्ने काम गर्छु । बाबा–आमा, बैनी तथा चेलीका चरणमा शिर स्पर्श गराउँछु । म त ज्ञानी पनि छु, गुरु आफ्नो संस्काराँ निरन्तर लागि रहने । अनि बिहान एक गिलास र बेलुका एक गिलास दुध पिउँछु र फलफूल खान्छु ! तर माछा, मासु र मदिराको त सङ्गतै गर्दिन गुरु ।”

“लौ अब तिमीले केही भन्नै परेन । तिमीले यही मूर्खता गरेको रहेर्छौ । पढ्ने लेख्ने काम त मूर्खले गर्छन् यहाँ, त्यो आजैदेखि बन्द गर ! हैन यहाँं पढ्ने लेख्ने मान्छे को ठूलो भएको छ हँ ? सर्टिफिकेट किन्ने जमाना हो यो ! पढ्ने जमाना होइन ! पढ्ने मान्छे कसले पैसा कमाएका छन् यहाँ हँ ? दुवई कतार र साउदीमा सक्कली सर्टिफिकेट बेचिएका छन् ! मन्त्रालय, पुलिस र प्रशासनमा सर्टिफिकेट छानविन ठ्याक्कै रोकिएका छन् ! आजैका मितिदेखि मसल बनाऊ, त्यो दुध त गोठालोले पिउने हो ! कि त बाच्छा बाच्छीले पिउँछन् ! कि त बुढाखाडाले, कि भने केटाकेटीले तिमी त आजैका मितिदेखि बुद्धिजीवी घोषणा भयौ ! लु जाऊ !….”

मैले बिचैमा कुरा काटेर भनेँ– “हैन गुरु ! यो दुधले त स्वास्थ्यलाई लाभ गराउँदैन र ?” गुरुले जङ्गिदै भने चिया खाऊ । आजैदेखि बिस तीस कप दिन भरिमा खायौ भने प्रत्येक एक कप मा पाँच ग्राम दुधका दरले एकसय पचास ग्राम हुन्न ? झन बढी भएन र दुई गिलास भन्दा ? कुरोको चुरो यसरी पो समात्ने हो त लाटा ।” मैले पनि खुसी हुँदै भनेँ– “हो गुरु, हो । मैले हजुरलाई मानेँ गुरुदेव मानेँ !”

“यहाँ सुन ।” गुरुले थपे– “भरेदेखिनै यस्सो ठर्राबाट शुरु गर ! दारु र पारुको बन्दोबस्त गरिहाल ! अनि नडराईकन टोल हुँदै गाउँ, गाउँ हुँदै क्षेत्र र क्षेत्रबाट जिल्ला, जिल्लाबाट राष्ट्र र अन्तर्राष्ट्रको छवि बनेन ? अँ गाउँ र टोलका मसलदार साथी भाइलाई आफ्नो जत्था र जमातमा तिमी जता जान्छौ त्यतै बटालबटुल पार र संयोजक बनाउँदै जाऊ ! अनि तिमीले तिम्रो हुलिया पनि बदल ! दारी, कपाल आजैदेखि लामो बनाउन थाल ! कुर्ता– सुरुवाल लगाउन थाल ! बिस्तारै कोट टोपी, चस्मा थप्दै जाऊ ! काँधमा एउटा झोला भिर । झोलाभरी गाउँखाने कथा, यौनका सत्य कथा, पुराना तथा नयाँं स्वदेशी तथा विदेशी पत्रपत्रिका र तीन चार वटा अलग अलग रङ्गका कलम भने बाहिरै देखाएर भिर नि ! दश बीस जना ठूला बडा गुण्डाका नाम कन्ठ बनाऊ । जब कुनै कुरा गर्न सुरु गर्छौ तिनिहरूकै नामबाट महान् व्यक्तित्वका महान् वाणी, महान् ग्रन्थ, महान् आत्मा भन्दै कुरो शुरू गर !”

मैले बिचैमा गुरुका कुरा काटेर भनेँ– गुरु यो त सरासर धोका हो नि ! नभएका कुरा गर्दा पाप लाग्दैन र गुरुदेव ?” गुरु फेरि जङ्गिएर भनेँ– “यहाँ जसले जति धेरै पाप गर्छ ! जसले जति धेरै पाप बोल्छ ! जसले जति धेरै धोका– धडी गर्छ ! जसले जति धेरै टुक्राउने, फुटाउने र ध्वंसको कुरा गर्छ ! त्यो त्यति ठूलो मान्छे हुन्छ ! त्यसको हाईट त्यति धेरै बढ्दै जान्छ । त्यो त्यति धेरै ख्याती प्राप्त बिद्वान्, राजनीतिज्ञ, कुतनीतिज्ञ र प्राज्ञ बन्दै जान्छ भन्ने तिमीले बुझेका छैनौ ? बिद्वान्, राजनीतिज्ञ, प्राज्ञ भनेका एउटा सिक्काका दुई पाटा र जति धेरै प्रकार भए त्यति धेरै किनार बन्दै जान्छन् । तिम्रा मृदुभाषी शब्दका बाणले खोलाको पानी धमिलो बनाई माझीले माछा मार्न सजिलो बनाउँदा झैं तिम्रा शब्दका वाणले तोडफोड गराउने, टुक्राउने ध्वंश गर्ने हान्ने–मार्नेलाई प्रश्रय गराउन जति सक्यौ त्यति ठूलो बुद्धिजीवी हुन्छौ ! ल, आजदेखि तिमी पनि चिजे कान्छा लालझण्डी होइनौ । ठुलावडा बुद्धिजीवीले केपी, जिपी, टिपी, बीपी र एनपी राख्या जस्तै तिम्रो नाम पनि छोटकरी बनाउँदा के हुन्छ ? त्यही राख ! फेरि गुरुले एकै छिन घोत्लिँदै भने– “अँ तिम्रो नामको अन्तिम अक्षरको झन्डी पनि काट । नाम भने सक्दो छोटो र मिठो बनाउ नि है ? भने पछी तिमीले कुरा बुझ्यौ हैन ?”

मैले पनि खुसी हुँदै जवाफ दिएँ– “हजुर, हस् गुरुदेब मैले सबैकुरा बुझेँ ।” यसो भन्दै झण्डी काट्ने, आफ्नै नाम, काम, घर, आँगन, दलान र सिरान समेत मास्ने र सबै कुरा नयाँबाट सुरु गर्ने दौरानमा दौरा सुरुवाल सिलाई मेरा मीत चीजकुमार राउताका डाउट कुरा सुन्न बाटो लाग्दो भएँ । आजकल त मेरा मीतले पनि छोटकरीमा नामाकरण गर्दा निकै चर्चिर्त बन्न पुगेछन् भन्ने घोइरो घोइरो सुनेकै थिएँ । मेरै गुरुको सिकोले त उनका नाम बिक्यो नि । म पनि के कम ? हैन र ?
हाल– सनफ्रान्सिस्को, क्यालिफोर्निया, युएसए

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दमदार दमडी

दमदार दमडी

सर्वज्ञ वाग्ले
साँढे

साँढे

सर्वज्ञ वाग्ले
नेता बन छोरा

नेता बन छोरा

सर्वज्ञ वाग्ले
मुर्ख समाज !

मुर्ख समाज !

सर्वज्ञ वाग्ले
जस्तो आफू उस्तै च्यापु

जस्तो आफू उस्तै च्यापु

सर्वज्ञ वाग्ले
0
Would love your thoughts, please comment.x
()
x