साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाहा पुरस्कार ! हिही पुरस्कार !!

Nepal Telecom ad

पुरस्कारको बजार अहिले खुब गरम छ । लिनेहरू भन्दा दिनेहरूको भाउ निकै बढेको छ । पुरस्कार ग्रहण गर्नेहरू भन्दा प्रदान गर्नेहरू बढ्ता गौरावान्वित हुने गरेका छन् आजभोलि । पुरस्कार सम्बन्धी अवधारणा र सोचाइमै आमूल परिवर्तन आएको छ । यसलाई गलत ठान्ने मुख्र्याईं मबाट कदापि हुन सक्दैन । अब सज्जन हुनु, राम्रो काम गर्नु, योग्यता प्रदर्शन गर्नु, कुनै क्षेत्रमा विशिष्ट योगदान दिनु जस्ता कार्य पुरस्कार योग्य र प्रशंसनीय कार्य हुन छोडी सके । अब त पुरस्कृत हुन बेइमानी गर्नु पर्दछ, बद्मासी गर्नु पर्दछ, भ्रष्ट हुनु पर्दछ । जो सवभन्दा बढ्ता भ्रष्ट हुन सक्छ, उसैको पुरपुरो प्रष्टसँग पुरस्कामा ठोकिन्छ ।

आजभोलि हरेक दिन एउटा न एउटा बेवकुफले अर्को एउटा न एउटा बेवकुफलाई सम्मानित गर्ने नाममा एउटा न एउटा बर्को भन्नोस् या खास्टो ओढाइरहेको छ । प्रशंसापत्र, आदरपत्र भन्नोस् या कदरको नाममा एउटा चलनचल्तीको फ्रेम हस्तान्तरण गरी रहेको छ । अनि बढिमा आठ दश हजार भन्नोस् या दश बिस हजार नगद प्रदान गरी रहेको छ । हामी भने एउटा विशिष्ट व्यक्तिले एउटा महान् पुरस्कार प्राप्त गर्यो भन्दै ताली बजाइ रहेका छौँ । ताली कहिल्यै गाली हुन सक्दैन, बरु तालीको गड्गडाहटले गज्जवको बाली फलाई रहेको छ ।

पुरस्कार भनेको एक किसिमको घुस पनि हो । नहुने कामलाई हुने बनाउन जसरी घुसको प्रयोग गरिन्छ, त्यसै गरी हुँदै नभएको व्यक्तित्वलाई हो भनेर घोषणा गर्न पनि पुरस्कृत गर्न थालिएको छ । त्यति मात्र होइन, पुरस्कार प्राप्तिका निम्ति घुस आदान प्रदान हुने गरेको समेत सुनिन्छ । घुसका निम्ति घुस्– यो विचित्रको खुसखुस भएन त ? यस्तो हुने गरेको हो कि होइन, स्वयं लिने र दिने अर्थात प्रदान गर्ने र ग्रहण गर्नेलाई नै थाहा होला । जे होस, अहिले पुरस्कारको वाढी उर्ली रहेको छ । पितृका नाममा पुरस्कार, मातृका नाममा पुरस्कार, पतिका नाममा पुरस्कार, पत्नीका नाममा पुरस्कार, पेस्की पुरस्कार, उधारो पुरस्कार, खोजी खोजी पुरस्कार, रोजी रोजी पुरस्कार, यता फर्कियो पुरस्कार, उता लर्कियो पुरस्कार, राष्ट्रिय पुरस्कार, अन्तर्राष्ट्रिय पुरस्कार, पुरस्कारको साटो पुरस्कार, माथि पुरस्कार, पुरस्कारको साथी पुरस्कार, हजुरबा पुरस्कार, नाति पुरस्कार, कसैलाई चिन्दै नचिन्ने पुरस्कार, कसैलाई चिने पनि ढिम्किनै नदिने पुरस्कार, चिन्ने नचिन्नेको कुरै छोडौँ, मान्छे किन्ने किनुवा पुरस्कार, भएको व्यक्तित्व छिन्ने छिनुवा पुरस्कार, हाहा पुरस्कार हिही पुरस्कार कति हो हो कति ! साँच्चै अहिले हामी त अहिले पुरस्कारको बाढीभित्र पौडी खेलिरहेका छौँ । कोही डुबी रहेका छौँ, कोही उत्री रहेका छौँ, कोही बाढीमा बग्दा बग्दै पाखा लागिरहेका छौँ ।

पुरस्कारकै बाढीमा बग्दै बग्दै आएका एकजना स्वनामधन्य व्यक्तित्वसँग आजै बिहान मेरो जम्काभेट भएको थियो । यति विघ्न पुरस्कारहरूको लहर–लस्कर बिच पनि उनी पुरस्कृतहरूको सूचीमा परेका रहेनछन् । एक दशक लामो साहित्यिक जीवनमा उनले एक दर्जन लघुकविता, आधा दर्जन लघुकथा, गोडा दुएक पत्नी काव्य र गोडा दुएक प्रशंसागान लेखी सकेका छन् । उनका यावत रचनाहरू कनै छापिई सकेका छन्, कुनै छाप्न बाँकी रहेका छन् । यस्तो विराट व्यक्तित्व पुरस्कारको हकवाला भन्नोस् वा दावेदार नहुने त कुरै भएन । तर पनि कुनै पुरस्कारको चिठ्ठा हात नपरेको हुँदा हिजोआज उनी विद्रोही बन्न विवश बनेका रहेछन् । आक्रोशित शैलीमा उनी भन्दै थिए– “यसै वर्षको फलानो पुरस्कार फलानोले जिप्ट्यायो– त्यो फलानोको हैसियत मलाई राम्रोसँग थाहा छ । यस वर्षको चिलानो पुरस्कार चिलानोलाई दिइयो– चिलानो को हो र त्यो पुरस्कार पाउन उसले कहाँ–कहाँ, कसरी र के के गर्यो– त्यो पनि सवै मलाई थाहा छ । फलानो पुरस्कारका निम्ति मेरो नाम सिफारिस भइ सकेपछि पनि को कसले कसरी छिर्के लाए, को को छुस्के निस्किए र के कसरी छुस्क्याइँ गरे– एक एक हिसाव किताव मसँग छ । मैले सवलाई चिनेको छु– पख्लास्, देख्लास्, चिन्लास् !” उनको अनुहार बोल्दाबोल्दै एकदम रातो भएर आयो ।

यस वर्षको राष्ट्रिय सम्मानले केही तस्करहरू पनि सम्मानित र पुरस्कृत भएको समाचार सुन्न पाइयो यो त आफैंमा एउटा प्रशंनीय कुरा हो । पुरस्कृत र सम्मानित हुन लायकका व्यक्तिहरू भनेकै चोर, लफङ्गा, तस्कर, बद्मास र बेइमानहरू हुन् । आजको जमानामा सज्जन, भद्र, इमान्दार र नैतिकवान हुनु कुनै उपयोगी कुरा हो र ! यसो हुनुको कुनै अर्थ छैन । अर्थै नभएको कुरामा व्यर्थैको रडाको गर्नु पनि त भएन नि ! अहिले राष्ट्रको समुन्नति प्रगतिका निम्ति तस्करहरूले राष्ट्रिय योगदान दिइरहेका छन् । त्यो वरद् योगदानका कारण हामी उनीहरूप्रति कृतघ्न हुनै सक्दैनौँ । अनि त उनीहरूको पुनित कार्यलाई प्रशंसा गर्नै पर्दछ, उनीहरूलाई पुरस्कृत गरेर राष्ट्रले ठूलो काम गरेको छ । प्रशंसनीय कुरोको जरो नै यही हो । यसका अतिरिक्त अब, सवैभन्दा बढ्ता घुस्याहा को छ, खोजी गरेर उसलाई पनि पुरस्कृत गर्नुपर्छ, राष्ट्रिय सम्मान दिनुपर्छ । सवैभन्दा बढ्ता भ्रष्ट को को छन्, उनीहरूलाई पनि छानी छानी सम्मानित गर्नुपर्छ, राष्ट्रिय पदक प्रदान गर्नुपर्छ । स्वार्थी र महत्वाकाङ्क्षीहरूको मान भाउ बढाउनुपर्छ । पटमुर्ख, गवाँर, हरिलठ्ठक र लम्पटहरूलाई खोजी–खोजी दोसल्ला ओढाउनुपर्छ । अभिनन्दन गर्न लायकका मानव मूर्तिहरू त यिनीहरू नै हुन्, राष्ट्रिय सम्मानका असली भागिदार त यिनीहरू पो हुन् । यिनीहरूलाई नै राष्ट्रिय रुपमा, त्यो पनि राष्ट्रिय स्तरका मानपदवी, सम्मान र पुरस्कार अर्पण गरेर स्यावासी दिनुपर्छ । तब पो पुरस्कार र सम्मानहरूको पनि गरिमा बढ्छ, पुरस्कृत व्यक्तिकाे पनि व्यक्तित्व उठ्छ ।

ए, यता सुन्नोस् त, तपाईं पनि कुनै पुरस्कार या सम्मान प्राप्त गर्ने मुड या होडमा हुनुहुन्छ ? हुनुहुन्छ भने माथि वर्णित योग्यता निर्माणमा जोड दिनुहोस् त, विस्तुरै जान्न । यद्यपि तपाईं जोड दिनुहोस्, मैले भने पुरस्कारमाथि नै एक कार्यपत्र लेखी एउटा नामी पुरस्कार उछिट्याउने होडमा सामेल भइसकेको घोषणा गरिसकेँ । यो लेखका यी अंशहरू त्यही कार्यपत्रको पहिलो खेस्रा हो भनेर म आफैंले भनिरहनु पर्छ र ?
कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x